|

विराटनगर : असार १४ को निर्वाचनलाई मध्ये असार भन्दै भोट हाल्न जनता नआउने हुन् कि भन्ने आशंका गरिरहेका छन्। त्यति मात्रै होइन मधेसमा सुरु भएको बन्द हड्तालले पनि भोट हाल्न जनता नआउने त होइनन् भन्ने आशंका बढिरहेको छ। तर, जनता भन्छन् मध्ये असारले भोट हाल्न रोक्दिैन बरु बन्द हड्ताले असर गर्ला कि?

गाउँका चोकचोकमा चुनावी अभियान र प्रचार सामग्री पुगेका छन्। चोक चोकमा आफ्ना चुनाव चिन्ह अंकित झण्डा राख्ने लहरले चोकै रंगिलो बनाएको छ। सर्वसाधारणको चिया पसलदेखि चोकमा पनि चुनावकै चर्चा हुन्छ। अहिले चर्चा छ त केबल चुनाव कै छ। ‘यस पटक हुने निर्वाचनमा भोट त हाल्न जाने हो,’ मोरङ नोचा–१ का कलानन्द साहले भने, ‘बिहान, बेलुका काम गरेर पनि भोट हाल्नुपर्छ, एक दिन काम माया मारेर भएपनि भोट दिन हामी आतुर छौं।’

बिहान बेलुका काम गर्ने, नभ्याए अर्को दिन काम गर्दा पनि हुने उनको भनाइ छ। दलका नेता कार्यकर्ता भोट माग्न आउँदा उत्सव जस्तो लागेको उनी बताउँछन्। ‘बिहान बेलुका भोटकै चर्चा छ, गाउँमा रमाइलो भइरहेको छ, हाम्रा दुःख पीडा सुनाउन पाइएको छ,’ उनले भने, ‘भोलि जितेर पनि हाम्रो दुःखमा साथ दिउन्।’

जहदा गाउँपालिका १ का टिका विसंखेलाई खेती किसानीको भन्दा भोटको चिन्ता छ। ‘खेती त दुई चार दिन पछि गर्दा पनि हुन्छ,’ उनले भने, ‘भोट त फेरि फेरि हुँदैन नि सर, बरु आन्दोलनले चाहिं सहरतिर असर गर्ला कि?’भोट हाल्ने कुरामा गाउँमा कुनै कन्जुस्याइ हुँदैन भन्छन् उनी।

यता जहदा ६ मझारेका भोला मण्डलले जनताको लागि भएको निर्वाचनमा आफू पनि भोट हाल्न जाने बताए। सिटी सफारी चालक रहेका उनले बरु आफूहरुको समस्या समाधानमा नेताहरुले ध्यान दिनुपर्ने बताए। ‘भोट भनेको हाम्रै लागि हो हामीले चुनेर गएका राम्रा भए भने गाउँको विकास हुन्छ,’ उनले भने, ‘सिटी एक दिन नचलाएरै भएपनि भोट हाल्न चाहिँ जान्छु।’गाउँमा निर्वाचन आयोगले मतदाता शिक्षा तालिम भने प्रभावकारी हिसाबले नदिएको मतदाताले गुनासो गरेका छन्। ‘भोट हाल्न जान्छु, तर कसरी हाल्ने भन्ने विषयमा भने राम्ररी थाहा छैन,’ जहदा ४ का पवनलाल मण्डलले भने, ‘अहिलेसम्म कसैले सिकाएको पनि छैन, राजनीतिक पार्टीका मान्छेहरु पनि मत माग्छन्, जान्छन्, राम्ररी सिकाउँदैनन्।’

यता माओवादी केन्द्रका नेता तथा मोरङ क्षेत्र नम्बर ४ का सांसद शिवकुमार मण्डलले अब असार १४ ले भोट हाल्न जनतालाई नरोक्ने बताए। ‘असार १४ यताउता गर्नु हुँदैन, जनता भोट हाल्न आउँदैनन् भनेर कमेन्ट गर्न पनि जरुरी छैन,’ मण्डलले भने, ‘जनता आफैं चुनाव प्रचारमा छन् कसरी भोट हाल्न आउँदैनन्?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.