|

विराटनगर : विराटनगर महानगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमसँग तालमेल गर्ने तयारी गरिरहेको नेकपा एमालेमा आन्तरिक खटपट सुरु भएको छ। एमालेले विराटनगरमा चुनावी तालमेल गर्ने विषयमा नेपाल लोकतान्त्रिक फोरमसँग छलफल गरिरहेको छ।

यद्यपी अझै तालमेलको टुंगो भने लागेको छैन। पहिलो चरणको स्थानीय तहको निर्वाचनमै तालमेलको औचित्य पुष्टि नभएका कारण विराटनगरमा तालमेल गर्नुको औचित्य नहुने असन्तुष्ट पक्षको तर्क छ। ‘के का आधारमा तालमेल गर्ने, किन गर्ने, औचित्य पुष्टि हुनुपर्‍यो,’ नाम नबताउने शर्तमा एक एमाले कार्यकर्ताले भने।

स्रोतका अनुसार तालमेलका लागि बिहीबार दिनभरजसो लोकतान्त्रिक फोरमसँग बैठक भयो। तर बैठकबारे आफूलाई नै जानकारी नभएको वार्ता समितिका एक सदस्यले बताए। ‘म पनि वार्ता समितिमा छु,’ उनले भने, ‘तालमेलबारे कुनै छलफल र सल्लाह मसँग भएको छैन।’

तालमेलको विषयमा अहिलेसम्म यहाँका कुनै केन्द्रीय नेतासँग छलफल पनि नभएको उनको दाबी छ। ‘विराटनगरमा रहेका सिनियर नेताहरुसँग छलफल पनि भएको छैन, उहाँहरुलाई जानकारी पनि दिइएको छैन,’ उनले भने, ‘कसरी तालमेल गर्ने हो पार्टीभित्र छलफल नगरी?’

अहिलेसम्म वडाका उम्मेदवार तोकेर फिल्डमा पठाएका कार्यकर्ता पनि तालमेलका कारण अन्यौलमा परेको एमाले स्रोतको भनाइ छ। ‘उम्मेद्वारको टुंगो लागेका मानिसलाई पनि फेरबदलको प्रयास भएको छ,’ स्रोतले भन्यो, ‘त्यसले चुनावी परिणाम ठिक उल्टो आउन सक्छ।’

विराटनगरको १५ नम्बर वडाका एमाले कार्यकर्ता पदमबहादुर कार्कीले वडा अध्यक्षमा टिकट नपाउने भएपछि स्वतन्त्र ढंगले प्रमुखमा उम्मेदवारी दिने छलफल नै गरेका छन्। कार्की यसअघिको स्थानीय निकायको निर्वाचनमा विराटनगर १ बाट स्वतन्त्र उम्मेदवार बन्दै वडा अध्यक्षमा विजयी भएका थिए। पछि राप्रपामा प्रवेश गरेका कार्कीलाई एमालेले १५ नम्बर वडाको वडा अध्यक्षको टिकट दिने प्रतिबद्धता जनाएर पार्टी प्रवेश गराएको थियो। तर, अहिले एमालेले १५ नम्बर वडाबाट धर्मानन्द सञ्जेललाई वडा अध्यक्षको उमेदवार बनाएको छ।

कार्कीले आफूलाई धोका दिएको र एमालेको जिल्ला नेतृत्व र प्रदेश समितिले मनपरी गरेको भन्दै स्वतन्त्र हिसावले मेयरमा उम्मेदवारी दिने तयारी गरेको उनी निकट स्रोत बताउँछ। लोकतान्त्रिक फोरमसँग तालमेल हुँदा थुप्रै एमालेका आकांक्षीले बलिदानी दिनुपर्ने भएको कारण त्यसको विरोधमा आफूहरु लागेको एक एमाले कार्यकर्ताले बताए।

‘म उम्मेद्वार हुँ भन्दै भोट माग्न हिंडेको मान्छे तालमेलको नाममा पछाडि फर्कन सक्दैन,’ उनले भने, ‘जनआधार नभएका र बाहिरबाट टिपेर ल्याइएका मानिलाई टिकट दिइए विद्रोह गर्छौं।’

विराटनगर महानगरपालिकाका एमाले संयोजक सागर थापाले परिणाम ल्याउनका लागि तालमेल आवश्यक भएको बताए। ‘रिजल्ट देखिने भएपछि असन्तुष्ट साथीहरु लाइनमा आउनु होला,’ थापाले भने, ‘परिणाम ठूलो कुरा हो हामीले मेयरमा जित्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • सत्य सुचना संप्रेषण गर्ने भन्दा पनि लाभको भुमिका रहेको समाचार नबनेको भए सुन्दर हुने थियो। पितपत्रकारिताको दिन सकिएको भनेर विश्वास गर्नेहरुको बिजोग हुने भयो ।