चर्च ब्वाइजलाई उपाधि

|

ललितपुर : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७९ को उपाधि जित्नेदेखि लिएर रेलिगेसनमा पर्नेसम्म ललितपुरकै क्लब देखिएका छन्।

१४ वटा टोली सहभागी यस प्रतियोगितामा तीन विभागीय टोली र पाँच काठमाडौंका क्लबसँग ललितपुरका ६ क्लबले प्रतिस्पर्धा गरेका छन्।  

जारी संस्करणका अन्तिम चरणका खेल भइरहँदा ललितपुरको चर्च ब्वाइज युनाइटेड क्लबले ४८ अंकसहित उपाधि जितिसकेको छ भने ललितपुरकै खुमलटार युथ क्लब मात्र २७ अंक बटुलेर रेलिगेसनमा परिसकेको छ। अर्को एउटा रेलिगेसनमा पर्ने टोलीको भने टुंगो लाग्न बाँकी छ। चर्च ब्वाइज र खुमलटार यही संस्करणमा बी डिभिजनबाट बढुवा भएर ए डिभिजनमा प्रवेश गरेका थिए। चर्च ब्वाइज बी डिभिजनको च्याम्पियन र खुमलटार उपविजेता बनेर माथिल्लो श्रेणीमा उत्रिएका थिए। 

यो संस्करणको दोस्रो बि डिभिजनमा घटुवा हुने टोलीको टुङ्गो आज शनिबार हुने थ्रिस्टार क्लब र जावलाखेल युथ क्लबबीचको खेलको नतिजाले दिनेछ। यो खेलबाट विभागीय टोली एपीएफ या  ललितपुर मंगलबजारको थ्रिस्टार क्लब मध्ये एउटा क्लब तल्लो श्रेणीमा झर्नेछन्।

ए डिभिजन लिगमा लामो समयदेखि खेल्दै आएका थ्रीस्टार मात्र यस्तो ललितपुरको क्लब हो, जसले ३ पटक लिगको उपाधी जितीसकेको छ। २०५४, २०६१ र २०६९ गरी थ्रीस्टारले तीनपटक ए डिभिजन लिगको उपाधि जितेको छ। पछिल्ला संस्करणमा रेलिगेसनमा संघर्ष गर्ने जावलाखेल यो पल्ट भने चौथो हुन सफल भएको छ। कुपण्डोलको फ्रेण्ड्स क्लबले अन्तिम खेलमा एपिएफलाई ४–० ले हराएर ३० अंक बनाए पनि ‘हेड टु हेड’मा एपिएफलाई पछि पार्दै रेलिगेसनबाट मुक्ति पायो। 

सातदोबाटो अघिल्लो संस्करणमा प्रवेश पाउनेवित्तिकै चौथो भएको टोली, यसपाली पाँचौ देखि सातौँ हुने पक्का भएको छ। लिगमा सहभागी तीन विभागीय टोली बाहेक हरेकले विदेशी खेलाडीलाई अनुबन्ध गरेका छन्। ललितपुरका ६ वटै क्लबले विदेशी खेलाडीलाई आफ्नो टिममा राखेका छन्।

पछिल्ला ३ संस्करणदेखि रेलिगेसनबाट बच्न संघर्षरत फ्रेण्ड्सका लागी यो संस्करण पनि ए डिभिजनमा टिकिरहन धेरै मेहेनत नै गर्नुपर् यो। विशेषगरी पछिल्ला दुई खेल संकटा र एपीएफसँगको खेल उसका लागि महत्त्वपूर्ण रह्यो। संकटासँगको खेलमा १–१ को बराबरी गरेपछि एपीएफविरुद्धको अन्तिम खेल जित्नैपर्ने दबाबमा रहेको फ्रेण्ड्सले एपीएफलाई पाखा मात्र लगाएन बरु  एपीएफलाई नै रेलिगेसनको संघारमा पुर्‍याइदियो। दुवैको  समान ३० अंक भए पनि हेड टु हेडका आधारमा करिब ४५ वर्षदेखि निरन्तर ए डिभिजनमा रहेको फ्रेन्ड्सले त्यो इतिहासलाई जोगायो। २०३० सालमा ए डिभिजनमा प्रवेश पाए पनि २०३५–२०३६ सालमा बि डिभिजनमा झरेर लगत्तै फेरि ए डिभिजनमा उक्लिएको हो। 

जारी संस्करणमा फ्रेण्ड्सको नतिजाले अर्को ललितपुरे टोली थ्रीस्टारसमेत रेलिगेसनको खतरामा परेको छ। २९ अंक बटुलेको मंगलबजारको टिम थ्रिस्टारका लागि शनिबार हुने अर्को ललितपुरे टोली जावलाखेलविरुद्धको खेलले रेलिगेसनमा पर्ने या जोगिने निर्धारण गर्नेछ। यो खेल हारेमा एपीएफको ए डिभिजन यात्रा निरन्तर जोगिने छ र थ्रीस्टार बि डिभिजनमा धकिलिने छ।

थ्रिस्टार लामो समयदेखि फ्रेण्ड्स , मनाङ मस्र्याङ्दीसँगै निरन्तर ए डिभिजन लिग खेलीरहेको छ। लामो इतिहास बोकेको थ्रिस्टार बि डिभिजनमा धकेलिए यो फुटबलकै लागि नराम्रो क्षण हुने विश्लेषकहरु बताउँछन्। जावलाखेलसँगको खेल बराबरी भए पनि एपिएफलाई फाइदा पुग्नेछ भने जितेको खण्डमा ३२ अंक सहित थ्रिस्टारले रेलिगेसनबाट जोगिने मात्रै नभएर एकैपटक तालिकाको आठौँ स्थानमा रहेर लिग यात्रा टुंग्याउनेछ। 

शुक्रबार दशरथ रंगशालामा एपिएफलाई ४–० ले फ्रेण्ड्सले पराजित गर्दा टोरिक जेब्रिन, विकास थापा, रफिक अमिनु, अखरोबेक उक्तामोभले १–१ गोल गरे। फ्रेन्ड्सले पहिलो र दोस्रो हाफमा समान दुई–दुई गोल गरेको थियो।

एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा १० खेलाडीमा सीमित चर्च ब्वाइजले २–० को जित हात पार्‍यो। चर्च ब्वाइजका लागि सुशील शाह र जोस्पे बेम्पाले पहिलो हाफमै १–१ गोल गरे। 

पहिलो हाफमा खुमलटारका बेन्चमा रहेका खेलाडी र अफिसियलले रेफ्रीमाथि आक्रमण गर्दा खेल केही बेर तनावग्रस्त भयो। त्यसपछि  रेफ्रीले खुमलटारको बेञ्चमा रहेका ३ अफिसियल र १ खेलाडीलाई रातो कार्ड दिएका थिए। यस्तै चर्च ब्वाइजका गोलकिपर एभ्स प्रिसोले दोस्रो हाफमा रातो कार्ड आएका थिए। १० खेलाडीमा सिमित चर्च ब्वाइजको चुनौती खुमलटारले थेग्न सकेन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.