|

काठमाडौं : नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी(नेसपा) बीचको एकता प्रक्रिया अलपत्र परेको छ।

०७९ पुसमा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महरा र नेसपाले सहअध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा वार्ता टोली बनाएका थिए। नेसपाका तर्फबाट विभिन्न प्रस्तावसहितको प्रतिवेदन माओवादी केन्द्रलाई बुझाए। तर, माओवादी केन्द्रले स्पष्ट जवाफ दिएको छैन। यता दुवै पार्टीका अध्यक्षबीचको विवाद पनि सतहमा आएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणपछि नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले निरन्तर असन्तुष्टि जनाइरहेका छन्। यसमा माओवादी केन्द्रका नेताहरूले आपत्ति जनाउँदै आइरहेका छन्। माओवादी केन्द्रका उपमहासचिव एवं प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भट्टराईले विषयवस्तु नबुझी हतारमा प्रतिक्रिया दिएको आरोप लगाए। 

‘उहाँले हतारमा प्रतिक्रिया दिनुभयो। महाकालेश्वरमा पूजाअर्चना गर्दा पनि प्रश्न खडा गर्नुभयो। कुन परिवेशमा के भयो भनेर नबुझी प्रतिक्रिया दिँदा त्यसले उहाँलाई नै राम्रो गरिरहेको छैन,’ उनले भने।

अड्कियो एकताको फाइल

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते चार दिने भारत भ्रमणमा निस्किए। समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत गएका प्रधानमन्त्री प्रचण्डले जेठ १९ गते उज्जैनको महाकालेश्वरको दर्शन गरे। जनयुद्धको समयमा मन्दिर र धर्म नमान्ने घोषणा गरेका प्रचण्डको उक्त कार्यको चौतर्फी चर्चा भयो। धेरै त उनले आलोचना नै खेप्नुपर्यो। किनकी १० वर्षे जनयुद्धको समयमा मठ, मन्दिर, पूजा पाठ नगर्ने नीति लिएको माओवादीको नेतृत्वले गेरूवस्त्र पहिरिएपछि कम्युनिष्टको नारा लगाउनेले यो कार्य पचाउन सकेनन्। अध्यक्ष डा. भट्टराईले यसको खुलेर विरोध गरिरहेका छन्। 

प्रधानमन्त्रीलाई गेरूवस्त्रमा देखेपछि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै भनेका थिए– हामी कता जाँदैछौं? देश कता जाँदैछ?

त्यसपछि उनी निरन्तर प्रधानमन्त्री प्रचण्डबिरूद्ध असन्तुष्टि पोखिरहेका छन्। पार्टी एकताको तहमा पुगिसकेका अध्यक्षद्वय प्रचण्ड र भट्टराईबीच पछिल्लो समय सम्बन्धमा दरार आएको हो। 

नेसपा उपाध्यक्ष दुर्गा सोव दुवै अध्यक्षहरूबीच राम्रो सम्बन्ध रहेको दाबी गर्छिन्। उनले बाबुरामले व्यक्तिगत रूपमा प्रचण्डबिरुद्ध स्वतन्त्र अभिव्यक्ति दिएको बताउँदै पार्टी एकतालाई यसले असर नगर्ने बताइन्। तर, उनले माओवादी केन्द्रसँग पार्टी एकता तत्काल हुन नसक्ने स्वीकार गरिन्। 

‘हाम्रो अध्यक्षको टिप्पणी व्यक्तिगत मात्रै हो। दुवै अध्यक्षबीच अहिले पनि राम्रो सम्बन्ध छ। नियमित जसो भेटघाट भइरहेको छ। यसले एकतामा असर गर्दैन तर, हामीले एकताका लागि पठाएको दस्तावेजमा माओवादी केन्द्रले चासो देखाएको छैन। किनकी हामीले त्यसमा उठाएका विषयहरू उहाँले स्वीकार गर्न नसक्नुभएको हुनसक्छ,’ उपाध्यक्ष सोवले भनिन्। 

माओवादी केन्द्रका सचिव गणेश शाहले नेसपासँगको पार्टी एकताको फाइल आएकाले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराउने बताए। 

‘उहाँहरूले सम्मानजनक एकता गर्ने भन्नुभएको छ। यसलाई मूर्त रूप दिन वार्ताहरू भइरहेका छन्। चाँडै टुंगो लाग्छ,’ उनले भने। 

सचिव शाहले अध्यक्ष भट्टराईले प्रधानमन्त्री प्रचण्डविरूद्ध दिएका अभिव्यक्तिलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। उनले अहिले जनयुद्धकालीन विषयले दुवै अध्यक्षलाई तनाव गराएको समेत बताए। 

‘यसलाई आरोप लगाएको भन्दा पनि उहाँले हाम्रो अध्यक्षलाई सचेत गराएको र सच्चिन भन्नुभएको हो,’ शाहले भने, ‘जनयुद्धको विषयले अदालतमा प्रवेश पाएको छ। यसले उहाँहरूमा तनाव सिर्जना गरेको छ। कमजोर हुँदा मन नपर्ने शक्तिले प्रभावमा पारेर दबाब सिर्जना गरेको हो।’

नेसपा नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ माओवादी केन्द्रसँगको पार्टी एकताको विषय तत्कालका लागि रोकिएको बताउँछन्। 

‘समाजवादी मोर्चा बनाएर कार्यगत एकता गर्ने विषयमा दलहरूबीच छलफल भइरहेको छ। तर, नेसपा र माओवादी केन्द्रबीचको पार्टी एकतामा धेरै प्रगति भएको छैन,’ उनले भने। 

प्रचण्ड–बाबुराम यात्रा 

पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई जनयुद्धदेखिका सहयोद्धा हुन्। ०५२ फागुन १ गतेबाट सुरू भएको १० वर्षे जनयुद्धको नेतृत्व प्रचण्ड र बाबुराम मिलेर गरे। ०६२/०६३ सालको जनआन्दोलनदेखि ०६४ को निर्वाचनमा दुई नेताबीच एकमत थियो। पार्टी पनि मजबुत नै थियो।

पहिलो संविधानसभा निर्वाचनपछि दुवै नेता एक–एकपटक प्रधानमन्त्री समेत बने। प्रचण्ड ०६५ मा गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री भए भने बाबुराम ०६८ मा प्रधानमन्त्री भए। तर, समय चक्रसँगै दुई नेता फरक पार्टीको नेतृत्व गरिरहेका छन्। प्रचण्ड माओवादी केन्द्र र बाबुराम नेपाल समाजवादी पार्टीको अध्यक्ष छन्। 

०७२ सालको संविधान निर्माणसम्म यी दुवै नेता एउटै पार्टीमा थिए– एमाओवादी। तर, प्रचण्डमाथि विभिन्न आरोप लगाउँदै बाबुरामले पार्टी छोडे। उनले प्रचण्डमाथि आरोप लगाउँदै ०७२ असोज ९ गते पत्रकार सम्मेलन गर्दै भनेका थिए– ‘चुहिएको घरमा फर्केर जाने होइन, नयाँ घर बनाउने हो।’

त्यसपछि उनले २०७३ साल जेठमा नयाँ शक्ति पार्टी गठन गरे। यद्यपि बाबुरामले बनाएको नयाँ घर टिकाउ भएन। आर्किटेक्ट इन्जिनियर रहेका भट्टराईले राजनीतिको नयाँ घर दिगो र दह्रिलो बनाउन सकेनन्। उनले ०७४ सालको निर्वाचनमा किफायती ‘ब्याटिङ’ गर्न सकेनन्। अर्थात् उनको पार्टी नयाँ शक्ति नेपालले प्रतिनिधिसभामा एक सिट र प्रदेशसभामा तीन सिट जिते पनि राष्ट्रिय दल बन्नबाट चुक्यो। 

भट्टराई आफैंले गोरखा २ बाट एक मात्र सिट जितेका थिए। त्यसपछि उनको पार्टी उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता गरेर जनता समाजवादी पार्टीमा समाहित भयो। राजनीतिमा यादवसँग पनि जोडी जम्न नसकेपछि भट्टराईले अहिले नेपाल समाजवादी पार्टी गठन गरेका छन्। 

उनले पुनः प्रचण्डसँग मित्रता गाँस्न चाहेको भान गत मंसिर ४ गतेको निर्वाचनमा हुन्थ्यो। यसको बलियो प्रमाण हो– गोरखा २ को आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई सुम्पिनु। त्यसबेला उनीहरूबीच बाबुरामलाई राष्ट्रपति दिने अनौपचारिक सहमति समेत बनेको उनी निकट नेताहरू बताउँछन्।

गोरखामा चुनाव जिताउने बचन पाएका प्रचण्डले बाबुरामलाई पनि राष्ट्रपति बनाउने बचन दिएका हुन्। यद्यपि बाबुरामले पूरा गरे पनि प्रचण्डले आफ्नो बाचा पूरा गर्न सकेनन्। तर, पनि वातावरण सहज ढंगले अगाडि बढिरहेका बेला प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा गरेका गतिबिधिले अध्यक्ष भट्टराई बिच्किएका छन्। उनले प्रधानमन्त्री प्रचण्डको खुलेर विरोध गरिरहेका छन्। 

‘प्रचण्डजीसँग मंसिर अगाडि नै सहमति बनेको थियो– गोरखामा जिताएर पठाए हाम्रो अध्यक्ष (बाुबराम)लाई राष्ट्रपति बनाउने। तर, हामीले बाचा पूरा गरे पनि उहाँले गर्न सक्नुभएन,’ नेसपाका एक नेताले थाहाखबरसँग भने, ‘परिस्थिति सहज ढंगले अगाडि बढिरहेका बेला प्रधानमन्त्रीको भारत भ्रमणले थोरै बिच्किनुभएको हो।’ 

भ्रष्टाचारका ती आरोप

पूर्वप्रधानमन्त्री भट्टराईले आफ्ना पूर्वसकर्मीमाथि गम्भीर भ्रष्टाचारको आरोप लगाए। उनले लडाकु शिविरमा प्रचण्डले अरबौंका भ्रष्टाचार गरेको आरोप लगाएका हुन्। 

‘पूर्वजनमुक्ति सेनाहरूलाई राज्यले अरबौं रूपैयाँ दिइएको थियो। किनकी उनीहरूले योगदान र बलिदान गरेका थिए। तर, भित्रभित्रै सानो छाल आयो र त्यो  केही कमाण्डर र प्रचण्डको नेतृत्वमा सानो मुठ्ठीभर कोटेरीले मलाई समेत केही थाहा नदिइकन अरबौं रूपैयाँको अपचलन गरे। उनलाई मुद्दा लगाउने कुरा आएपछि विदेशीसँग लम्पसार परिसकेका थिए,’ उनले भनेका थिए।

सोही भाषणमा उनले सूचना तथा सञ्चार मन्त्रालयमा पनि अरबौं भ्रष्टाचार हुने गरेको आरोप लगाएका थिए। भट्टराईले भनेका थिए– पटकपटक माओवादीले सञ्चार मन्त्रालय किन लियो? किनकी टेलिकम्युनिकेशनमा अरबौंको कमिसनको खेल हुन्छ। प्रचण्डका विश्वासपात्र मात्रै किन सञ्चारमन्त्री बने? किनकि त्यहाँ २० औं अर्बको भ्रष्टाचार हुन्थ्यो।  

बुरामले प्रचण्डमाथि लगाएको अर्को गम्भीर आरोप हो– बुढीगण्डकी जलविद्युत आयोजनामा ९ अर्ब भ्रष्टाचार। उनले प्रचण्डसहित केपी शर्मा ओली र शेरबहादुर देउवा मिलेर ९ अर्ब भ्रष्टाचार गरेको आरोप लगाउन भ्याए। तर, उनले प्रचण्डमाथि लगाएका आरोप पुष्टि गर्न सकेनन्। 

‘बुढिगण्डकीमा ९ अर्ब रूपैयाँ केपी ओली, प्रचण्ड र शेरबहादुरले बाँडेर खानुभएको छ। मसँग प्रमाण छ देखाउन सक्छु,’ उनले भने।  

तर, उनले ०७९ असोज २९ मा बोली फेरे। उनले त्यसबेला सूचनाहरू अपुष्ट आएकाले अहिले सच्याएको बताए। 

उनले भने, ‘यो गेमचेञ्जर योजना हो। हिजो असमझादरीबस हामीले बाँङ्गोटिङ्गो बाटो लियौं। अब त्यो सच्चिएको छ। हिजो मैले आलोचना गरेकै हो। किनकि नेपाली आफैंले बनाउनुपर्ने बुढिगण्डकी कसको खेलमा बाहिर जान लाग्यो भन्ने अर्थमा मैले अपुष्ट सूचना पाएको थिएँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.