जेलर र प्रहरीको संरक्षण

|

धनगढी : क्षमताभन्दा तेब्बर कैदी, जीर्ण भवन, खानेपानी र शौचालयको समस्या लगायतका विषयमा कैलाली कारागार विगतदेखि नै चर्चामा आउने गरेको थियो। तर कैलाली कारागारभित्र यी समस्या मात्रै छैनन्। विभिन्न बेथितिहरू पनि मौलाउँदै गएका छन्। कैलाली कारागारका जेलर पदमराज तिमिल्सिना, प्रहरी प्रमुखहरूको सेटिङ र संरक्षणमा ती बेथितिहरू मौलाउँदै गएको खुलेको छ।

कारागारभित्र रहेका कैदीबन्दीबाट मासिक असुलीसँगै भित्रै लागुऔषध उपलब्ध गराउने, मदिरा बिक्री गर्ने, तास खेलाउने र कुटपिट गर्ने, गराउनेसम्म हुने गरेको कारागारको विशेष स्रोतले थाहाखबरलाई बतायो। स्रोतले भन्यो, ‘जेलर पुलिस, नाइके र आउट डोरवालासहितको मिलेमतो हुन्छ।

कारागारभित्र बेथिति मौलाउँदै गएको छ। अहिलेको जेलर लास्टै क्रप्ट छ। भित्रै कैदीहरूलाई फोन भित्र्याउने, ड्र्ग्स, गाँजा, चरेश भित्र्याउने, भित्रै कोठा बनाएर बिक्री गर्ने, मासिक रूपमा कैदीहरूबाट आर्थिक असुली गर्ने, कही कतै गुनासो गरे कुटपिट गर्नेसम्म हुन्छ।’

 कारागारमा रहेका आउटडोर चौकीदार (सजाय भोगिरहे पनि बाहिर घुम्न पाउनेहरू) नै यी कार्य गर्नमा सक्रिय छन्। जेलर तिमिल्सिनाको संरक्षणमा उनीहरूले बाहिरबाट गाँजा तस्करी र मदिरा बिक्री र तास खेलाउने गरेका छन्।

उनीहरू जेलर र कैदीसँग मिलेर धन्दा गरिरहेका हुन्छन्। स्रोतका अनुसार कारागारभित्र ५० रुपैयाँमा एक खिली चुरोट, १ बोतल रक्सी ५ देखि ८ हजारसम्म र एक खिली गाँजा १०० रुपैयाँ तिरेर पाइने गरेको छ। कैलाली कारागारको विभिन्न भवनमा १५ भन्दा बढी फोन सेट पनि राखिएका छन्।

 नाइके र आउटडोर कैदीबन्दीको संरक्षणमा ती फोनभित्र छिराइएको पनि बताइन्छ। कुनै कैदीलाई केही समयको लागि फोन आवश्यक परे चर्को रुपैयाँ लिएर उनीहरू फोनसमेत गर्न दिने गर्छन्।

  नाइकेहरूले कैदीहरूबाट नै पैसा उठाएर भित्रै जुवा खेलाउने पनि गरेका छन्। यति मात्रै होइन केही नाइकेहरूले कारागारभित्रै अलग्गै कोठा पनि बनाएका छन्।

जुन कोठाहरू दुई लाख बढीमा भाडामा दिने गरेको आरोप लागेको छ।  यी सबै बेथितिमा जेलरको प्रमुख हात रहेको हुन्छ। यी गतिविधि गर्न दिएबापत जेलरले मासिक रूपमा एक लाखभन्दा बढी कमिसनसमेत पाउने गरेको कैदीबन्दीहरूको आरोप छ।

 तर कारागारका जेलर पदमराज तिमिल्सिना भने ती सबै आरोपहरू स्वीकार गर्न तयार छैनन्। उनले कारागारमा चौकीदार नभएर कैदीहरू नियन्त्रणमा समस्या रहेको तर अवैध क्रियाकलाप नभएको दाबी गरे।

उनले भने, 'हामी त्यस्तो क्रियाकलापको निगरानी गरिरहेका छौँ। अहिले हामी पहिचान गर्ने क्रममै छौँ। यसमा केही प्रहरीको पनि मिलोमतो रहेको हुनसक्छ। तर, पहिलाभन्दा म आएपछि अहिले प्रशासन टाइट गरेका छौँ।'

डेढ सयजना कैदीबन्दी अटाउने क्षमता रहेको जिल्ला कारागार कैलालीमा अहिले ६ सय ५५ कैदीबन्दी छन्। तीमध्ये ४२ महिला र ४४ भारतीय नागरिक छन्।

किलर ग्याङको धन्दा

कारागार स्रोतका अनुसार कैद भुक्तान गरिरहेका भूपेन्द्र बडुवाल हत्या प्रकरणका अभियुक्तहरूसहितको समूहले कारागारभित्रै यस्तो अवैध कारोबार र गुन्डागर्दी गर्ने गरेको खुलेको छ। उक्त अवैध कारोबार नियन्त्रणमा जेलर तिमल्सिना असफल भएका छन्।

थाहाखबरलाई प्राप्त एक भिडियोअनुसार कारागारभित्रै लागुऔषध खैरो हिरोइनको कारोबार हुने गरेको देखिन्छ। भिडिओमा देखिएका एक अर्धनग्न युवाले लागुऔषध बिक्रीपछि नगद कारोबार गरेको देखिन्छ। कारागारभित्र हरेकजसो कैदीसँग मोबाइल फोन पनि देखिन्छ।

कानुनत:  कारागारभित्रका  कैदीलाई मोबाइल राख्न प्रतिबन्ध हुन्छ। तर, कैलाली कारागारका कैदीहरूले भने कारागारभित्रबाट अवैध कारोबार गर्न मोबाइल फोन प्रयोग गर्ने गरेका छन्। 

कारगारका निमित्त जेलर लालबहादुर बोगटीले समेत कारागारभित्र अवैध काम हुने गरेको तथ्यलाई स्वीकार गरे। तर उनले अवैध क्रियाकलाप हुन्छ भन्ने सुनेको भएपनि भित्र खोजतलास गर्दा केही नभेटिने गरेको बताए।

भूपेन्द्र बडुवाल हत्याकाण्डमा १० जना पुर्पक्षका लागि थुनामा छन्। लम्कीका युवक बडुवालको केही वर्षअघि टीकापुरमा लखेटी–लखेटी धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। कारागार स्रोतका अनुसार, बडुवाल हत्या अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका नवीन रावल, अशोक रावल, महेश रावल, विकास शेरचन, विकास खड्कासहितको समूहले जेलर तिमल्सिनालाई प्रभावमा पारेर अवैध धन्दा चलाइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.