|

काठमाडौं : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार सबै सांसदको विश्वासको मत पाए। उनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत दोस्रो पटक मत दियो।

उनले दोस्रो पटक पुरै सदनको विश्वासको मत पाएका हुन्।  एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। तर, ३० दिनभित्र प्रतिपक्षी दल एमालेले पुनः मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको हो। 

१०७ सदस्यीय प्रदेश सभामा यादवको पक्षको पक्षमा १०३ जनाले मत दिएका थिए। दुई जना सभामुख र उपसभामुखले मात्रै मत नदिएका हुन्। यसअघि उनले माघ ४ गते सिंगो सदनको विश्वासको मत पाएका थिए। 

३० दिन अगाडि सरकारबाट बाहिरिएको एमालेले फेरी किन विश्वासको मत दियो? यो प्रश्नको जवाफ रोचक छ– कोशीमा आफ्ना मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिन। मधेस प्रदेशका एमाले प्रमुख सचेतक लखनदास तत्मा शीर्ष नेतृत्वले कोशीमा पनि समर्थन गर्ने गरी मधेसमा सघाउन निर्देशन आएको कुरालाई नकार्न सक्दैनन्। उनले परिस्थिति नै त्यस्तै भएकाले जसरी मूल्याङ्कन गरे पनि हुने बताए। 

‘कोशीलाई जोडेर जसरी हेरे पनि हुन्छ। किनकि अहिले परिस्थिति नै त्यस्तै छ। केन्द्रको निर्देशन पनि केही आएको छ। त्यसले पनि हामीले विश्वासको मत दियौं,’ प्रमुख सचेतक तत्माले भने। 

उनले कोशीमा साट्ने नियतले भन्दा पनि मुख्यमन्त्री यादवले राम्रो काम गरिरहेकाले विश्वासको मत दिएको कारण खुलाए। 

‘उहाँ(मुख्यमन्त्री यादव) हाम्रो समर्थनमा सुरूमा मुख्यमन्त्री बन्नुभएको हो। पछि गठबन्धन बन्यो। त्यसपछि प्रमुख प्रतिपक्षी दल नै नभएपछि हामी बाहिरिएका थियौं। लोकतन्त्रलाई संस्थागत गर्नका लागि विश्वासको मत दिइएको हो,’ प्रमुख सचेतक तत्माले भने। 

एमाले महासचिव शंकर पोखरेलले पनि सोही आशयको ट्वीट गरे। उनले आफूहरूले विकास र स्थिरताका लागि मधेसमा विश्वासको मत दिएकाले कोशीमा पनि सोही अवस्था आउनुपर्ने संकेत गरे। 

उनले मधेस प्रदेशमा जसपाका मुख्यमन्त्रीलाई विश्वासको मत दिएर एमालेले रचनात्मक भूमिका निर्वाह गरेको उल्लेख गर्दै बाँकी प्रदेशमा पनि यस्तै गर्न आग्रह गरे। 

‘जसपा नेतृत्वको मधेस प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा एमालेसमेतको विश्वासको मत प्राप्त गरेको छ। राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा एमालेले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ,’ उनले कोशी प्रदेशलाई लक्षित गर्दै भनेका छन्।

कोशी प्रदेशमा जसपाको एक मात्रै सांसद छन्। प्रदेशसभामा समानुपातिक सांसद निर्मला लिम्बु जसपाबाट प्रतिनिधित्व गर्छिन्। मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा उनी स्वास्थ्य मन्त्री थिइन्। उनले जेठ १७ गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको घोषणा गरिन्। 

एमाले मधेस प्रदेश इञ्चार्ज रघुवीर महासेठ जसपाको एक मतका कारण आफूहरू सरकार ढल्ने अवस्था नआवोस भन्ने पक्षमा रहेको बताए। उनले मंसिर ४ गतेको निर्वाचनमा पनि जसपासँग चुनावी सहकार्य भएकाले अहिले पनि जसपाले कोशीमा समर्थन गर्नेमा आफूहरू विश्वस्त रहेको बताए। महासेठले मधेसमा जसपालाई समर्थन गर्नु कोशीसँग पनि जोडिने बताए। 

‘जसपा र नेकपा एमालेबीच मंसिर ४ को निर्वाचनदेखि नै सहकार्य छ। केही हदसम्म मधेस र कोशीबीच सम्बन्ध रहन्छ। तर, मुख्य कारण कोशीको आशमा हामीले विश्वासको मत दिएका होइनौं,’ उनले थाहाखबरसँग भने, ‘कोशीमा जसपाले फिर्ता लियो उहाँहरूको आन्तरिक कारण होला। तर, कोशीमा एमालेको सरकारलाई समर्थन गर्नु पनि जसपाका लागि फाइदाजनक हो।’

मधेस प्रदेश एमाले संसदीय दलका नेता सरोज यादवले गठबन्धनभित्रैबाट सरकारलाई काम गर्न नदिने प्रयास भइरहेकाले आफूहरूले साथ दिएर उनीहरूलाई दबाब दिएको बताए। उनले केन्द्रको अस्थिरता प्रदेशले पनि व्यहोर्नुपर्ने भएकाले आफूहरूले त्यसलाई रोक्न खोजेको बताए। 

‘अन्य प्रदेशको तुलनामा मधेस प्रदेश सूचकांकहरूमा कमजोर छ। केन्द्रको सत्ता समीकरण फेरबदल हुँदा प्रदेशमा पनि असर गर्ने परम्परा छ। त्यसलाई तोड्दै गठबन्धनका साथीहरूले सरकारलाई घुर्की लगाउने, काम गर्नै नदिने प्रयास गरेपछि हामीले स्थिर सरकारका लागि मत दिएका हौं,’ उनले भने। 

त्यसो भए यसअघि सरकार किन छोडेको त भन्ने प्रश्नमा उनले भने, ‘सदनमा दुईवटा बेञ्चको व्यवस्था हुन्छ–एउटा सत्ता र अर्को प्रतिपक्ष दल। हामी पनि सरकारमा बसेपछि प्रतिपक्षी बेञ्च खाली हुने भएकाले सरकार छोड्ने निर्णय भएको थियो।’ 

यस्तै उनले जसपाले कोशी प्रदेशमा पनि समर्थन गर्नेमा आफुहरू विश्वस्त रहेको समेत बताए। उनले भने, ‘प्रदेश सरकारमा देखिएको संकट समाधानका लागि जसपाले पनि कोशीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा हामी विश्वस्त छौं। किनकि हामीले मधेसमा पनि संकट निवारणका लागि भूमिका निर्वाह गरेका हौं।’ 

यता कोशी प्रदेशसभा सदस्य तथा नेकपा एमाले संसदीय दलका उपनेता रामबहादुर मगरले जसपासँग पुनः छलफल गर्ने बताए। 

‘उहाँहरूले समर्थन फिर्ता लिनुभएको छ। तर, मधेस प्रदेशमा पनि एक खालको समझदारी बनेकाले पुनः छलफल गरेर अगाडि बढ्छौं,’ उनले भने। 

जनता समाजवादी पार्टीले पनि एमाले नेतृत्वको सरकारलाई कोशी प्रदेशमा सहयोग गर्ने तयारी गरेको छ। अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर कोशी प्रदेशमा देखा परेको संकट निरूपण गर्ने भएका छन्।

उनले मधेसमा एमालेको समेत विश्वासको मत पाउने भएपछि कोशीमा पनि सहयोग गर्ने बचन दिएका हुन्। केही दिन अगाडि एमालेका एक नेतासँगको भेटमा अध्यक्ष यादवले यस्तो बचन दिएका हुन्। 

‘मैले केही दिन अगाडि जसपा अध्यक्ष उपेन्द्रजीसँग छलफल गरेको थिएँ। उहाँले मधेसमा विश्वासको मत दिनुस्। कोशीमा सहयोग गर्छु भन्नुभएको छ,’ एमालेका ती नेताले थाहाखबरसँग भने, ‘उहाँले हाम्रो अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेर कोशीमा देखिएको संकट निरूपण गर्ने बचन दिनुभएको छ।’ 

विश्वासको मत लिने तयारीमा

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने तयारी गरेका छन्। सत्ता सहयात्री दल जसपा र माआवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन्। जसपाले जेठ १७ गते र माओवादी केन्द्रले २३ गते समर्थन फिर्ता लिएका थिए। त्यसअगावै एक महिनाभित्र उनले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको छ। 

कोशी प्रदेश एमाले संसदीय दलका उपनेता मगरले संविधानले तोकेको अवधिभित्र विश्वासको मत लिने जानकारी दिए। उनले भने, ‘अहिले बजेटको चटारो छ। यसपछि हामी विश्वासको मत लिने प्रक्रियालाई अगाडि बढाउँछौं। हामी प्रदेशसभामा रहेका सबै दलहरूबाट सरकारलाई विश्वासको मत पाउने गरी छलफल र संवाद गर्छौं।’ 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७  मत चाहिन्छ । एमाले–राप्रपा र कांग्रेस–माओवादी गठबन्धनसँग  समान ४६–४६ मत छ । एमालेका ४० र राप्रपाका ६ जना छन् । कांग्रेसका २९, माओवादी केन्द्रका (सभामुख बाहेक) १२, एकीकृत समाजवादीका ४ र जसपाका एक जना प्रदेशसभा सदस्य छन्।

चुनावी सहकार्य

नेकपा एमाले र जनता समाजवादी पार्टीले मंसिर ४ गतेको निर्वाचन मिलेर लडे। एमाले अध्यक्ष केपी शर्मा अ‍ोली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच १४ जिल्लामा तालमेल गरेर चुनाव लड्ने सहमति भएको थियो। 

जसमा एमालेले ३५ सिट र जसपाले १७ सिट पायो। यस्तै प्रदेशसभातर्फ एमालेले ७० र जसपाले ४२ सिट पायो। प्रतिनिधिसभा र प्रदेशसभामा एमालेले क्रमशः ७८ र १६१ सिट ल्यायो। जसपाले प्रतिनिधिसभामा १२ र प्रदेशसभामा २० सिट ल्यायो। 

गत पुस १० गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन हुँदा जसपा पनि सरकारमा सहभागी भएको थियो। तर, फागुन १२ गते पुरानै गठबन्धन ब्यूँतिएपछि एमालेले सरकार छोड्यो। अहिले एमाले प्रतिपक्षमा छ भने जसपा सरकारमा। प्रदेशमा पनि जसपा र एमाले एकअर्काका परिपुरक बने।

मधेस प्रदेशमा एमालेले जसपाका मुख्यमन्त्रीलाई समर्थन गर्यो भने जसपाले कोशीमा एमालेका मुख्यमन्त्रीलाई समर्थन गरेको थियो। पछिल्ला सत्ता समीकरणहरूले पुनः एमाले–जसपा एक ठाउँमा उभिने आँकलन हुने गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.