|

काठमाडौं : सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताएका छन्। बिहीबार कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले संसद् चालु रहेकाले सरकारले छिटो ढंगबाट संघीय शिक्षा ऐन ल्याउने आशा गरेको बताए। सभामुख घिमिरेले नेपाललाई शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयात्मक भूमिका निर्वाह हुनुपर्ने बताए।

उनले देशमै विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्नका लागि यस किसिमका मेलाहरु महत्वपूर्ण हुने बताए। उनले नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरु आए पनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेको उल्लेख गरे।

उनले भने, ‘देशको राजनीति जस्तो हुन्छ, मूलतः शिक्षाको अवस्था पनि त्यस्तै हुँदै जान्छ। शिक्षाले देश विकास गर्न सक्छ। विदेशबाट पनि ज्ञान आर्जन गर्नका लागि नेपाललाई शिक्षाको हब बनाउन सकिन्छ। नेपालको शिक्षाले विदेशी विद्यार्थीहरुलाई तान्न सक्छ। परिवर्तित समयसँगै नयाँ शिक्षा ऐन ल्याउने बारेमा प्रत्येक सरकारले कोशिष गरेका छन्। तर सफल हुन सकेका छैनन्। यी ऐन ल्याउन चुनौती जस्तो देखिएको छ। ऐन ल्याउन अहिले संसद चलिरहेको छ, छिटो ढंगबाट आउन सकोस्।’

बिहीबारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा मेला सुरु भएको हो। एसइई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको हो । असार ३ गते आइतबारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू रहनेछन् ।

मेलामा निःशुल्क प्रवेश गरेर नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.