|

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले बौद्धिक जनशक्तिलाई आफ्नै मुलुकको सेवामा लगाउन लोकसेवा आयोगले समयानुकूल पाठ्यक्रम तथा परीक्षण विधिमा सुधार गर्न आवश्यक रहेको बताएका छन्।

शुक्रवार लोकसेवा आयोगको ७३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन्। उनले पछिल्लो समय नेपालबाट बौद्धिक जनशक्ति विदेश पलायन भइरहेको भन्दै त्यस्तो जनशक्तिलाई नेपालमा नै सेवा गर्न प्रेरित गर्न लोकसेवा आयोगले भूमिका खेल्नुपर्ने बताए।

उनले लोकसेवा आयोगले सधैँ वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशा र भरोसाको केन्द्रका रूपमा आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्न सक्नुपर्ने बताए। उनले कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग रहेको भन्दै आयोगले गलत भर्ना नीति र प्रक्रियालाई निरुत्साहित गर्न आवश्यक रहेको बताए।

उनले कर्मचारी छनोट, भर्ना प्रक्रियाको परीक्षण विधिमा समयसापेक्ष सुधार गर्न जरुरी भएको उल्लेख गरे। उपराष्ट्रपति यादवले उच्च नैतिक र उत्प्रेरित कर्मचारीले मात्रै सुशासन कायम टेवा पुर्‍याउने गरी कर्मचारी छनोट गर्नुपर्ने बताए।

उनले सुशासन समग्र सिद्धान्त, व्यवहार र जनताले अनुभूति गर्ने विषय समेत भएकाले यसलाई नारामा मात्रै सीमित राख्न नहुने बताए।

उनले आयोगले गर्ने भर्ना छनोटको उद्देश्य वर्तमान चुनौतीको सामना गर्नसक्ने जनशक्ति प्रवेश गराउने हुनुपर्ने बताए। उनले समावेशीतर्फ उम्मेदवार छनोट प्रक्रियालाई समयसापेक्ष परिष्कृत गर्दै थप उम्मेदवार छनोट हुनसक्ने गरी कार्यसम्पदान गर्ने आवश्यक रहेको बताए।

उनले भने, ‘लोकसेवा आयोगले सधैँ वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशा र भरोसाको केन्द्रका रूपमा आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्न सक्नुपर्छ। कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग भनेकाले गलत भर्ना नीति र प्रक्रियाले शासन संगठनभित्र स्थायी खराबी प्रवेश गर्नसक्ने भएकाले आयोगले त्यसलाई निरुत्साहित हुनेगरी परीक्षण विधिमा समयसापेक्ष सुधार गर्न जरुरी छ। आयोगको भर्ना छनोटका विधि तथा प्रक्रिया यसैतर्फ लक्षित हुन जरुरी छ। पछिल्लो समय विदेश पलायन भएका बौद्धिक जनशक्तिलाई आफ्नै मुलुकको सेवामा खटिन प्रेरित गर्नुपर्छ। आयोगले समयको मागअनुसार प्रविधिमैत्री बन्दै दायित्व र जिम्मेवारीलाई थप विश्वसनीय बनाउने विश्वास व्यक्त गर्छु।’

उनले आयोगले समयको मागअनुसार प्रविधिमैत्री बन्दै दायित्व र जिम्मेवारीलाई थप विश्वसनीय बनाउने विश्वास व्यक्त गरे। उनले लोकसेवा आयोगले अहिलेसम्म गरेका कामको प्रशंसा गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.