|

पाल्पा : अबदेखि पाल्पाबाट पनि सवारी चालक अनुमतिपत्र पाइने भएको छ। मोटरसाइकल र स्कुटरको नयाँ सवारी चालक अनुमतिपत्र पाइने भएको हो। यातायात व्यवस्था सेवा कार्यालय पाल्पाबाट नयाँ सवारी चालक अनुमतिपत्रका लागि आवेदन खुला भएको कार्यालय प्रमुख केशव सुनारले बताए। उनका अनुसार गत जेठ ३० गतेदेखि पहिलोपटक आवेदन खुला भएको छ।

मोटरसाइकलतर्फ वर्ग स्कुटरतर्फ वर्ग प को नयाँ सवारी चालक अनुमतिपत्र जारी गर्नका लागि अनलाइन आवेदन खुलाइएको उनले बताए। आवेदक आफैँले अनलाइनमार्फत आवेदन फारम भर्न सक्नेछन्। मोबाइबाट नै आवेदन फारम भर्ने व्यवस्था रहेको सुनारले बताए। 

फारम भरेको कम्तीमा १५ दिनपछि आवेदन दिएका व्यक्तिलाई परीक्षा दिलाउने प्रक्रिया अगाडि बढेको छ। यही असार १३ गतेदेखि आवेदकको स्वास्थ्य परीक्षण, फोटो खिचाउने र औँलाको छाप लिने काम हुनेछ।

आगामी साउन महिनाको पहिलो सातादेखि लिखित र प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा लिने गरी प्रक्रिया अगाडि बढिरहेको उनले बताए।

तानसेन नगरपालिका–७ मा सवारी चालक परीक्षण केन्द्र (ट्रायल सेन्टर) निर्माण भएको छ। 

परीक्षणकालीन अवस्थामा रहेको यस कार्यालयले अहिले निश्चित कोटा पाएको छ। तत्काल प्रतिदिन ७५ वटा कोटा प्राप्त भएको छ। ५० वटा मोटरसाइकल र २५ वटा स्कुटर तथा मोपेडका लागि नयाँ सवारी चालक अनुमतिपत्र वितरण गर्न पाइने कार्यालय प्रमुख सुनारले बताए।

यहाँको अवस्था हेरेर आगामी दिनमा पाल्पालाई दिइने कोटामा वृद्धि हुने आशा छ। जनशक्ति थपसँगै सवारी चालक अनुमतिपत्रको संख्यामा पनि वृद्धि हुने उनले बताए। 

यसअघि यहाँबाट सबै प्रकारका सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने काम पनि भइरहेको छ। गत जेठ ४ गतेबाट नवीकरण गर्ने कार्य भइरहेको कार्यालय प्रमुख सुनारले बताए। स्मार्ट लाइसेन्स प्राप्त गरेका जुनसुकै सवारी चालक अनुमतिपत्र यहाँबाट नवीकरण हुने उनले बताए।

नवीकरणका लागि सक्कल नागरिकताको प्रमाणपत्र, सक्कल सवारी चालक अनुमतिपत्र र निरोगिताको प्रमाणपत्र ल्याउनुपर्ने छ।

यस कार्यालयबाट पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा,  गुल्मी, पर्वत, अर्घाखाँचीका सेवाग्राही बढी लाभान्वित हुनेछन्। यहाँबाट सवारी ब्लुबुक भने यसअघि नै नवीकरण हुँदै आएको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.