कतै ड्रममा पानी ओसारेर बिउ राखिँदै, कतै तर्नै नसकिने खोलामा कमिला हिँड्दै

|

 

पर्वत : हिउँद भन्दा साथ खेतका गरामा धान भएको वा धान काटेर खेतका गरा खाली भएको, चाडपर्वहरूको रमाइलो, न त वर्षा हुने न त गर्मी हुने दृश्यको परिकल्पना सबैको मस्तिष्कमा आउँछ। अनि बर्खा भन्दा साथ आकाशबाट एक तमासले झरिरहेको वर्षा, प्लास्टिक वा स्याखू ओढ्दै बिहानमा मकै थन्क्याउँदै दिउसोमा खेतका गरामा हल गोरु नारिरहेका हली र बाउसे तिनैका पछिपछि हिँडिरहेका रोपारको याद आउँछ।

खोलाहरू बढेर तर्नै नसकिने भएका, खेतबारीका कान्लामा बर्खामा मात्रै रसाउने बर्खे मूलबाट निस्किरहेको पानीको भेल, रोपेर सकिएका खेतका आलीबाट समेत बाहिरिँदै गरेको भेल, हिँड्ने बाटा हुन वा खेतका कान्ला सानादेखि ठुला पहिराले हिलाम्मे वातावरण पनि बर्खा यामको दृश्य हो।

पर्वतको कुश्मा नगरपालिका–११ पकुवा र कुश्मा नगरपालिका–१४ आर्थरलाई जोड्ने गरेर बग्छ पञ्चासेबाट सुरु हुने जहरे खोला। विगतका वर्षहरूमा यो बेलामा तर्नै नसकेर पुलबाट मात्रै यात्रा गर्नुपर्ने यो खोलामा अहिले कमिला हिँडिरहेका छन् भन्दा फरक पर्दैन। आर्थरको खेत हुँदै, पकुवाको गँगटेसम्मको खेतमा रोपाइँ गर्न पानी ल्याउने जहरे खोला आफै पानी विहीन छ। जहरे खोलामा पानी नहुँदा रोपाइँ त के अहिलेसम्म कतिपय कृषकहरूले बिउ समेत राख्न पाएका छैनन्।

‘स्याङ्जा, कास्की र पर्वतको सिमानामा रहेको पञ्चासेको लेकबाट आउने खोला हो यो। पोहोर यो बेलामा तर्नै नसकेर हैरान हुन्थ्यो अहिले खोलामा पानी नभएर बिउ समेत राख्न पाइएको छैन’, गँगटेका कृषक गणेश पौडेल भन्छन्, ‘आर्थर, पकुवाको गँगटे, गिजानको वारीपट्टीको डिलसम्मको पूरै भाग यही खोलामा निर्भर हो। पोहोर त यो बेलामा मकै बाहिरको खेतमा रोपाइँ सकेर अब मकै लगाएको खेतमा रोपाइँ सुरु गर्ने बेला हुन लागेको थियो।’

असारको १५÷१८ गतेपछि रोपाइँ हुने गरेको खेतका लागि अझै पनि समय रहेको भए पनि मकै नलाएको तथा खोल्साको आसपासमा रोपिने धानको लागि भने समय घर्किन लागेको कृषकहरूको भनाइ छ। पकुवाको क्षेत्रमा अहिलेसम्म बिउ समेत राख्न नपाइएको भन्दै उनले  अब वर्षा भएपछि बिउ राखेर त्यो बिउ उम्रेर तयार भएर रोप्नेबेलासम्म समय घर्किने उनको भनाइ छ।

 वर्षा नहुँदा ड्रममा पानी ओसारेर धानको बीउ राख्दै कटुवाचौपारीका कृषक

कतिपय स्थानमा बिउ समेत राख्न नपाएका कारण वर्षा हुँदा बित्तिकै रोपाइँ सुरु गर्ने अवस्था समेत छैन। अब वर्षा भएपछि बिउ राखेर साउन अन्तिमसम्ममा भए पनि रोपाइँको मेसो सक्नुपर्ने बाध्यतामा कृषकहरू छन्। कुश्मा नगरपालिका–९ कटुवाचौपारी पनि स्थानीय मल्याङ्दी खोलाको पानीमा निर्भर रहेको ठूलो फाँट हो।

धान, मकै र तरकारी उत्पादनका लागि जिल्लामै उर्वर भूमिका रूपमा हेरिने कटुवाचौपारीको फाँटमा रोपाइँ गर्नको लागि कुश्मा नगरपालिका र फलेवास नगरपालिकालाई छुट्टाउने गरी बगिरहेको मल्याङ्दी खोलाको पानी नहरमा पस्नुपर्छ। तर वर्षा नहुँदा न त मल्याङ्दीमा भेल आउन सकेको छ न त मल्याङ्दीको पानीको सतहले नहरको मुख नै छुन सकेको छ।

त्यही कटुवाचौपारीको अवस्था देखाउन पत्रकार सुवास लामिछानेले सामाजिक सञ्जाल फेसबुकमामा राखेको तस्वीरले कृषकहरूको अवस्थाका बारेमा प्रस्ट्याउँछ। नहरमा पानी नै नभएपछि एक जना कृषकले घरमा पानी भर्नको लागि प्रयोग हुने ड्रमलाई ट्र्याक्टरमा राखेर भरे। अनि त्यही पानी खेतमा लगेर खन्याएर बिउ राखे। रोपाइँ त होला नहोला बिउसम्म भए पनि राख्न पाए रोपाइँ गर्ने आसामा कृषकले ड्रममै भए पनि पानी ओसारेर बिउ राख्नुपरेको बाध्यताले खडेरीले पारेको समस्या देखाएको छ।

‘धारामा आउने पानी ड्रममा ओसारेर भए पनि बिउ त राख्नपर्छ भनेर हो। जसोतसो बिउसम्म जोगाउन सकियो भने रोपेर खाउँला भन्ने हो। अब पनि बिउ नराख्ने हो भने त के रोपेर के खाने हो? खडेरीले यो फाँट यस्तो भयो। बर्ष दिन खाने धान फलाउने खेतको हालत यस्तो भएको छ’, कृषक तुलसीनाथ पौडेल भन्छन्, ‘बरु गाउँतिर बग्ने खोल्सामा अलि अलि पानी भएर बिउ सम्म राखेका होलान्। यहाँ त ठप्पै भयो, केही उपाय नलागेपछि ड्रममा पानी बोक्नुको विकल्प नै भएन।’

यस्तै उदाहरणहरू जिल्लाका धेरै ठाउँमा रहेका छन्। मनसुन सुरु हुन नसक्दा धेरै ठाउँका कृषकहरू समस्यामा परेका छन्। असारको पहिलो सातामा समेत वर्षा नहुँदा रोपाइँ त क खेतमा लगाएको मकै उत्पादन पनि राम्रो नहुने देखिएको छ। गत वर्ष पनि ढिला गरी मनसुन सक्रिय हुँदा पर्वतका कृषकहरू रोपाइँको समस्यामा परेका थिए। यस वर्ष उही नियति भोग्नुपरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.