|

कास्की :  पोखरामा नेपाल-चीन फेन्डसिप ड्रागनबोट रेस फेस्टिभल (डुंगा कुदाउने प्रतियोगिता) सुरु भएको छ। शुक्रबार  पोखरास्थित फेवातालमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले फेस्टिभलको उद्घाटन गरेका हुन्।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकको आयोजनामा फेस्टिभल सुरु भएको हो। दुई देशबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध थप विस्तार गर्न र नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको बोर्डले जानकारी दिएको छ।

डुंगा कुदाउनका लागि चीनबाटै आठ वटा विशेष किसिमका डुंगा ल्याइएको छ। केरुङ नाका हुँदै ल्याइएका डुंगा, आवश्यक सामग्रीसँगै बोट रेस प्रशिक्षणका लागि चीनबाट टोली आएको छ। चीनको लिङ्जी नगरबाट ६० जनाको टोली जहाज चार्टर गरेर बुधबार पोखरा अवतरण गरेका थिए।

पोखरामा अन्तर्राष्ट्रिय उडान भर्ने उक्त जहाज पहिलो बनेको थियो। चीनले यस्तै फेस्टिभल ५० भन्दा बढी देश तथा क्षेत्रहरूमा आयोजना गर्दै आएको छ। बोट रेसलाई एसियन गेममा समेत समावेश गर्न थालिएको छ।

शुक्रबार सुरु भएको यो फेस्टिभल दक्षिण एसियामै पहिलो पटक आयोजना भएको बोर्डको दाबी छ। फेस्टिभलमा नेपालका सातवटै प्रदेश र चीनका गरी १६० जना प्रतियोगीहरू सहभागी हुँदैछन्। नेपालबाट सहभागीमा एक जना मात्र महिला प्रतियोगी सहभागी छन्। बोट रेस प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने गरी यस पालि कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रमको औपचारिक उद्घाटन भएसँगै दुई विधामा डुंगा कुदाउने प्रतियोगिता गरिनेछ। पहिले २ सय मिटर र पछि ५ सय मिटर गरी दुई विधामा डुंगा कुदाउने प्रतियोगिता हुनेछ। प्रतियोगितामा विजेतालाई २० लाख नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

यस्तै कार्यक्रमकै अवसरमा दुवै देशका सांस्कृतिक प्रस्तुति र खाद्य प्रदर्शनी पनि हुनेछन्। कार्यक्रमले विदेशीलाई पोखरामा आमन्त्रण गर्न र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ।

नेपालको पर्यटनमा चीन मुख्य पर्यटकीय स्रोत बजार हो। कोभिड-१९ अघि नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी चिनियाँ हुने गरेका थिए। कोभिडपछि यो संख्या घटेता पनि चीनले नेपाललाई पनि खुला गरेकोले पछिल्लो दिनमा नेपालमा आउने पर्यटकको संख्या पनि बढ्दै गइरहेको छ। सन् २०२३ को मेमा नेपाल आउने पर्यटकमा भारत अमेरिकापछि चीनको तेस्रो स्थानमा छ। मेमा ४ हजार ६६७ जना चिनीयाँ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डको तथ्यांक छ।

प्रतियोगिता आयोजना गर्न पोखरा पर्यटन परिषद र चाइना ओभरसिज एसोसिएसनले सहयोग गरेका छन्। होटल एसोसिएसन नेपाल (हान) र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)सँगको सहकार्यमा २ दिने प्रतियोगिता आयोजना गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.