|

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले आर्थिक अवस्था सुधारको विषयलाई सबैको साझाको विषय बनाएर अघि बढ्न जरुरी रहेको बताएका हुन्।

उनले आर्थिक प्रणालीलाई लयमा ल्याउनको निम्ति सत्तापक्ष र प्रतिपक्ष बाँडिने अवस्था देशमा नरहेको जिकिर गरे। उनले देशको आर्थिक अवस्था सुधार गर्नको निमित्त सामूहिक रुपमा अघि बढ्ने एउटा साझा संकल्पको आवश्यकता देशमा रहेको बताए।

सांसद पौडेलले बजेटमा भएका असन्तुष्टिलाई सम्बन्धित मन्त्रालयले सुन्न जरुरी रहेको बताए। उनले बजेटमा यो वर्ष आर्थिक वृद्धिदर २.१६ मा सीमित रहने उल्लेख गरिएको भन्दै यो विषय सत्तापक्ष र प्रतिपक्षको मात्रै नभई देशकै विषय रहेको बताए।

उनले राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालयदेखि राज्यका साधारण खर्च नगर्दा पनि हुने प्रकृतिका ठाउँहरुको खर्चलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको बताए।

उनले भने, ‘हाम्रो बजेटको प्रकृति भनेको साधारण खर्च सबैतिर बढेको र हामीले संविधानमा उल्लेख गरेका मौलिक हकसँग सम्बन्धित कतिपय कुरा अघि बढाउनका लागि हामीसँग बजेट अभाव भएको कारणले धेरै कामहरु गर्न सकेनौँ भन्नेकुरा निरन्तर छलफलमा उठेको छ। त्यसकारण म के अनुरोध गर्न चाहन्छु भनेदेखि हामीले यो राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालयदेखि लिएर राज्यका साधारण खर्च जहाँ जहाँ नगर्दा पनि हुने प्रकृतिका छन्, त्यसप्रकृतिका कतिपय खर्चलाई कम गर्नेगरी अघि बढ्ने शुरुवात गरेको खण्डमा हामीले अलिकित बजेटको संरक्षण गरेर विकासतिर अघि बढ्न सक्छौँ।'

सांसद पौडेलले आर्थिक वृद्धिदर कम हुँदै जानु राज्यको साझा चुनौतीको विषय रहेको उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.