|

सल्यान : जिल्लाका तीन सहकारीले एक वर्षमा दुई करोड बढी मूल्‍यका खसीबोका बिक्री गरेका छन्। सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका एकमुष्ट संकलन गरेर सहकारीमार्फत नै व्यापारीलाई बिक्री गर्दै आइरहेका छन्।

जिल्लाको त्रिवेणी गाउँपालिकामा रहेका तीन सहकारी र दुई फर्मले एक वर्षमा १ हजार १ सय १९ खसी बिक्री गरेका हुन्।

दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारीले सबैभन्दा धेरै ६१०, उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३००, नमुना सामाजिक उद्यमी महिला सहकारी संस्थाले १६९ र युवा जागरण बाख्रापालन फर्मले ४० खसी बिक्री गरेको त्रिवेणी गाउँपालिकाले जनाएको छ। जसबाट सहकारीमा आबद्ध महिलाहरुले २ करोड १३ लाख, १७ हजार ९ सय ८ रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।

सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका सहकारीको मासिक बैठ्कमा डाटा संकलन गरेर निश्चित मितिमा व्यापारीलाई सहकारीमा नै बोलाएर तौलिएर बेच्ने गरेको दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष भोजकुमारी बुढाथोकीले बताइन्। 

बजारीकरणमा समस्या नहोस् भन्नका लागि आफूहरूले सहकारीमार्फत यो काम सुरु गरेको बुढाथोकीको भनाइ छ। गत वर्ष सहकारीमार्फत ५०० सय खसीबोका बेचेको बताउँदै उनले यो वर्ष ६ सय बिक्री गरेको बताइन्।

किसानले हचुवाको भरमा खसीबोका बेच्दै आएकोमा सहकारीमार्फत किसानले तौलेर बेच्ने गरेको नमुना सामाजिक उद्यमी महिला सहकारी संस्थाकी सीता कुमारी रोकाले बताइन्।

सहकारीको नियमित बैठकमा सहकारी सदस्यले आफूसँग बिक्री गर्न योग्य भएका खसीबोकाको संख्या टिपाउने तर सोही आधारमा व्यापारीसँग समन्वय गरी सहकारीको भवनमा नै तौल गरेर बिक्री हुने गरेको उनको भनाइ छ।

सहजताका लागि सहकारी र व्यापारीको समन्वयमा एउटा निश्चित भाउ कायम गरी जिउँदो खसीबोका तौलेर बजार पठाउने कार्यले बजारीकरणको समस्याबाट मुक्ति मिलेको त्रिवेणी गाउँपालिकाले जनाएको छ।

पछिल्लो समय कृषकहरूले व्यावसायिक बाख्रापालनमा जोड दिन थालेपछि आर्थिक क्षेत्रमा उनीहरू अब्बल बन्दै गएको त्रिवेणी गाउँपालिकाका पशुसेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिए।

कृषकहरूलाई कृषि र सहकारीतर्फ आकर्षित गर्न गाउँपालिकाको सहकारीमार्फत खसीबोका बेच्ने किसानलाई प्रतिकिलो २० रुपैयाँ अनुदान दिँदै आइरहेको उनको भनाइ छ। किसानले वार्षिक न्यूनतम जिउँदो १०० किलो बराबरको खसी बिक्री गर्नुपर्ने नीति बनाइएको रावतले बताए।

उनले भने, 'त्रिवेणी गाउँपालिका खसीबोका उत्पादनका हिसाबले निकै सम्भावना भएको क्षेत्र हो। पालिका भित्रबाट मासिक धेरै खसी बोका निर्यात हुन्छन्। तर सहकारीबाट मात्र वार्षिक २ करोड बढीको खसीबोका निर्यात भएको तथ्यांक हामीसँग छ।'

गाउँपालिकाले किसानलाई प्रतिकिलो २० रुपैयाँ दिन थालेपछि बाख्रापालनमा किसानको आकर्षणसमेत बढेको रावतको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.