|

काठमाडौं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बजेट अभावका कारण नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो स्पष्टीकरण दिएका हुन्।

उपप्रधानमन्त्री खड्काले हुम्ला सदरमुकाम जोड्ने सडक नेपाली सेनाले आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने प्रतिबद्धतासमेत व्यक्त गरे। सो सडकको केही भाग निर्माणको काम मात्रै नेपाली सेनाले पाएको र सो काम आगामी आर्थिक वर्ष भित्र सम्पन्न गर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो।

उनले सुरक्षाको आवश्यकतालाई ध्यानमा राखेर सरकारले जलविद्युत आयोजना निर्माण कार्यमा पनि नेपाली सेनालाई परिचालन गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई परिचालन गर्दै लैजाने नीतिलाई निरन्तरता दिने बताए।

उपप्रधानमन्त्री खड्काले भने, ‘सेनाले जिम्मा लिएका सडकहरुको सम्पन्न गर्ने कुराको जुन प्रश्न छ। कतिपय सन्दर्भमा हाम्रो अर्थतन्त्रको सिमितताको कारण बजेट अभावको कारणले पनि सेनाले सम्पन्न गर्न चाहँदाचाहँदै पनि कतिपय सडकहरु सम्पन्न हुन नसकेका पनि छन्। अब जहाँसम्म हुम्लाको कुरा उठेको छ । हुम्लाको सन्दर्भमा सेनाले पाएको जिम्मेवारी अनुसारको आम आउने आर्थिक वर्षमा सम्पन्न गर्छ।'

उपप्रधानमन्त्री खड्काले नेपाली सेना आफूले पाएको सडकहरुको निर्माण कार्य समयमै सम्पन्न गर्न प्रतिबद्ध रहेको समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.