|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

मंगलवार त्रिविको ६४ औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले त्रिविमा आबद्ध कर्मचारीका प्रतिनिधि, विद्यार्थी सङ्गठनका प्रतिनिधि तथा विश्वविद्यालयका पदाधिकारीहरूसँग भएका भेटघाट एवं छलफलका आधारमा त्रिविको उन्नति र विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाई अघि बढ्नु आवश्यक रहेको बताए।

उनले विद्यार्थीको रुचिअनुसार स्वदेशमै अध्ययन गर्नसक्ने अवस्था सिर्जना गर्न विश्वविद्यालयसँग आग्रह गरे। प्रधानमन्त्री दाहालले विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजा प्रकाशित गर्न निर्देशन दिए।

उनले भने, ‘त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रयत्न गरिरहेको कुरा यो गरिमामय सभामा उल्लेख गर्नु सान्दर्भिक नै ठानेको छु। त्रिविमा आबद्ध शिक्षक, कर्मचारीका प्रतिनिधिहरू, विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधि तथा विश्वविद्यालयका पदाधिकारीहरूसँग भएका भेटघाट एवं छलफलका आधारमा प्राप्त सूचना र जनचाहनाअनुरूप त्रिविको उन्नति र विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाई अगाडि बढ्नु अत्यावश्यक छ। यसका लागि विश्वविद्यालयबाट पेश हुने उपयुक्त योजना र कार्यक्रममा नेपाल सरकारका तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु। हरेक वर्ष उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेशिने क्रम किन बढिरहेको छ?, विद्यार्थीलाई उनीहरूको रुचिअनुसारका विषयमा उच्च शिक्षा अध्ययन गर्न पाउने कार्यक्रम ल्याउन र विदेशिन नपर्ने अवस्था सिर्जना गर्न म विशेष अनुरोध गर्छु।’

प्रधानमन्त्री दाहालले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएको उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.