|

सल्यान : दूध उत्पादनमा आत्मनिर्भर बनाउन सल्यानको त्रिवेणी गाउँपालिकाले किसानलाई उन्नत जातका भैँसी वितरण गरेको छ। एक पालिका एक पशु वस्तु उत्पादन कार्यक्रमअन्तर्गत त्रिवेणी गापा–३ काराबासका किसानलाई भैँसी वितरण गरिएको हो। 

दूधमा आत्मनिर्भर बनाउन र पशुपालनमा किसानहरूको आकर्षण बढाउन उन्नत जातका भैँसी वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले जानकारी दिए। किसानको आर्थिक सामाजिक जीवन स्तर उकास्न र दूधमा जिल्लालाई आत्मनिर्भर बनाउन विगतका वर्षहरू झैँ यो वर्ष पनि व्यावसायिक किसानलाई भैँसी वितरण गरिएको उनको भनाइ छ।

कर्णाली प्रदेश सरकारले प्रतिलिटर ५ रुपैयाँ अनुदान दिन थालेपछि व्यावसायिक भैँसी पालन गर्ने किसानको संख्या बढेको महतको भनाइ छ। यो वर्ष दूध उत्पादन बढाउन त्रिवेणीमा १५, दार्मा गापामा १५ र बागचौर नगरपालिकामा १५ उन्नत जातका भैँसी वितरण गरिने बताए।

पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानको ७० प्रतिशत, गाउँपालिकाको १० प्रतिशत र किसानको २० प्रतिशत लागतमा भैँसी ल्याइएको त्रिवेणी गापा अध्यक्ष खिम्बहादुर रावतले बताए। आफूले लगानी नगरेसम्म नहुने भएकाले थोरै भए पनि किसानलाई लगानी गर्ने अभियान पालिकाले शुरु गरेको उनको कथन छ। त्रिपक्षीय साझेदारीमा काम गरिएकाले भैँसीपालन प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको रावतको भनाइ छ। 

सडक करिडोरलाई लक्षित गरी दूध उत्पादन कार्यक्रमलाई अघि बढाइरहेको त्रिवेणी गापाका पशुसेवा कार्यालय प्रमुख वसन्त रावतले बताए। सडक करिडोरअन्तर्गत पालिकाको वडा नं. १, ३ र ६ लाई भैँसी पकेट क्षेत्र निर्धारण गरी कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ।

पशु अस्पताल तथा पशुसेवा कार्यालयको १५ लाख, त्रिवेणी गापाको ३ लाख र समूहको ३ लाख ५० हजार गरी २१ लाख ५० हजारको लागतमा १५ भैँसी, मिल्क क्यान, वर्षे घाँसका बेर्ना, तालिम र मिनरल वितरण गरिएको रावतको भनाइ छ।

विगतदेखि भैँसीपालन गर्दै आइरहेको र कार्यालयबाट थप भैँसी पाउँदा आर्जन गर्न मद्दत पुग्ने किसान खिमबहादुर शाहले बताए। उत्पादित दूध संंकलनका लागि गापाले दुग्ध संकलन केन्द्र तथा चिस्यान केन्द्र स्थापना गरी दिएकाले पनि दूध उत्पादनमा समस्या नभएको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.