|

काठमाडौं : अहिले पनि चिठीबाटै सूचना आदानप्रदान गरिन्छ भन्दा अचम्म लाग्न सक्छ। अझ सुरक्षामा खटिने प्रहरी नै चिठी ओसारपसार गर्छन्, भन्दा झनै अपत्यारिलो लाग्न सक्छ। तर, यो बाजुराको वास्तविकता हो। स्थानीय तहको निर्वाचनका क्रममा सञ्चार सेवा नभएका मतदान केन्द्र र स्थलमा सम्पर्क गर्न प्रहरीलाई नै ओहोरदोहोर गराइएको छ। पाँच गाउँपालिका र चार नगरपालिका रहेको बाजुरामा ७० मतदानस्थल र ९२ मदतान केन्द्र तोकिएको छ। भौगोलिक कठिनाइका कारण सञ्चार सेवा नभएका मतदान केन्द्र र स्थलमा सम्पर्क गर्न कठिन हुने भएपछि सूचना सम्पर्कका लागि चिठी बोकेर प्रहरीलाई कुदाउने गरेको छ।  जिल्लाका पूर्वी उत्तर क्षेत्रका मतदान केन्द्रमा नेपाल टेलिकम र अन्य कुनै पनि दूरसञ्चार कम्पनीको सेवा सञ्चालनमा छैन।

‘सञ्चार सेवा नभएका ठाउँमा जानकारी दिन प्रहरी परिचालन गरेर दुवै केन्द्र बीचसम्म जाने र त्यसपछि चिठी दिएर खबर आदानप्रदान गर्ने प्रबन्ध गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने। अन्य विकल्प नभएपछि प्रहरीलाई नै परिचालन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। भौगोलिक रूपमा विकट हिमाली गाउँपालिकामा तीनवटा मतदान केन्द्र, गैमुलका दुई केन्द्रमा सञ्चार सेवा उपलब्ध नभएका कारण समस्या हुने देखिएको छ। जिल्ला सदरमुकाम मार्तडीबाट ५/६ दिनको पैदल दूरीमा रहेका मतदान केन्द्रहरूमा सुरक्षा निकायका प्रतिनिधि र अन्य कर्मचारी खटाई सकिएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए। निर्वाचन बिथोल्ने दलहरूको गतिविधि शून्य भए पनि निर्वाचन प्रचारका क्रममा समस्या आउन सक्ने भएकाले त्यही अनुसारको तयारी गरिएको प्रजिअ लामिछानेले बताए। सुरक्षा संवेदनशील भएका ठाउँमा जिल्ला बाहिरबाट समेत थप सुरक्षाकर्मी खटाइएको उनको भनाइ छ।

९२ मतदान केन्द्रमध्ये ३३ वटा मतदान केन्द्र अति संवेदनशील, ३० ओटा संवेदनशील र ९ वटा सामान्य रहेको विश्लेषणसहित सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ। सञ्चारको कठिन हुने ठाउँका लागि अहिले देखि नै तयारी गरिएको प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताए
१४ असारमा हुने निर्वाचनका लागि आज (आइतबार) उम्मेदवार मनोनयन हुँदै छ। निर्वाचनका लागि ५ सय ४४ जना कर्मचारी खटाइएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार ३२ हजार ५ सय २१ पुरुष, ३२ हजार ४ सय २७ महिला र दुईजना तेस्रो लिंगी गरी ६४ हजार ९ सय ५० जना मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.