|

काठमाडौँ: प्रमुख चार राजनीतिक दलहरू अहिले जनतामाझ रहेको दाबी गरिरहेका छन्। 

गत निर्वाचनबाट पहिलो दल बनेको पुरानो दल नेपाली कांग्रेसदेखि चौथो ठूलो शक्ति नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी जनतामाझ केन्द्रित भएको दाबी गरिरहेका छन्। 

अघिल्लो पटक बहुमतको नजिक रहेको नेकपा एमाले अहिले दोस्रो पार्टीमा खुम्चिएपछि विभिन्न अभियान लिएर मिशन ८४ सुरु गरेको छ। माओवादी केन्द्र भने सत्ता केन्द्रित देखिएको छ। 

कांग्रेसको सुस्तता

यसअघि बस्ने चर्चा चलेको तर सर्दै आएको कांग्रेस बैठक यही असार मसान्तसम्म केन्द्रीय समितिको बैठक बोलाउने गरी तयारी भइरहेको कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन्। 

‘पार्टी सभापति (शेरबहादुर देउवा) सिंगापुर जानुअघि नै बैठकको मिति तोक्ने तयारी थियो। पदाधिकारीकै सल्लाहले देशबाहिर जानुअघि बैठकको मिति तोक्नु हुन्न आएपछि बसौँला भन्ने भएपछि नतोकिएको हो। अहिले सभापति आइसकेपछि बैठक यही असार मसान्तसम्म बोलाउने गरी छलफल भइरहेको छ'‚ उनले भने। 

हालै अनलाइनबाट सदस्यता प्रदान गर्न सुरु गरेको कांग्रेसले अब बस्ने केन्द्रीय समिति बैठकबाट आगामी योजना तय गर्ने थाहाखबरलाई विकले बताए। 'तपाईंहरूलाई थाहै छ‚ हामीले हालै बसेको बैठकबाट पार्टीको सदस्यता र नवीकरण अनलाइनबाटै गर्ने व्यवस्था गरिसकेका छौँ। यसअघि केन्द्रबाट छापेर पठाउने कार्ड अब जिल्लाबाटै छापेर पठाउने व्यवस्था गरेका छौँ’‚ विकले भने, ‘अब केन्द्रीय समिति बैठक बसेर हामी बृहत् कार्य योजना बनाएर अघि बढ्छौँ।’

उनका अनुसार साउन, भदौ र असोजमा वर्षा हुने भएकाले इनडोर कार्यक्रम गरिनेछ। मौसम सुधार हुने भएपछि फिल्डका कार्यक्रम हुनेछन्। यद्यपि बैठकका एजेन्डा तोक्न पदाधिकारीको बैठक बस्ने उनले औँल्याए। 

बैठकमा तीनै तहको निर्वाचनको समीक्षा गरिनुका साथै पार्टीका संगठनलाई पूर्णता दिने र पार्टीलाई गतिशील बनाउनेलगायतका विषयमा केन्द्रित हुने सम्भावना रहेको उनले सुनाए। 

यसबीचमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व मन्त्री बालकृष्ण खाणलाई निलम्बन गर्ने बारेमा पनि आगामी केन्द्रीय समिति बैठकमा प्रस्ताव आउने र जनआकांक्षाअनुसार नै निर्णय हुने बताए।

'हाम्रो पार्टीको परम्परा कसुर ठहर भइसकेपछि निलम्बन गर्ने रहेछ तर त्यो प्रसंग अहिले मिलाउन मिल्दैन। पहिले त अनुसन्धानको चरणमा थियो र पर्ख र हेरको नीति लियौँ तर अहिले अभियोजन दर्ता गरेर पुर्पक्षका लागि थुनामा गइसकेकाले अब केन्द्रीय समितिमा प्रस्ताव आउँछ। त्यसमा जे निष्कर्ष निस्कन्छ पर्खिनुपर्ने अवस्था छ।’

उनका अनुसार पार्टी अहिले भ्रातृ संगठन, पेसागत संगठन र शुभेच्छुक संस्थालाई पनि चुस्त दुरुस्त बनाउने गरी जुटेको छ। तरुण दल, महिला संघको केन्द्रीय तदर्थ कार्यसमिति बनाइसकेको कांग्रेसले अब नेविसंघको समिति तोक्ने तयारी गरेको छ। यसैगरी अरू संस्थालाई पूर्णता दिने र विभागहरूको संयोजक पनि चाँडै तोक्ने दाबी गरेका छन्। 

एमाले गाउँ र माओवादी सत्तामै केन्द्रित

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले २०८४ को चुनावमा पहिलो दल बन्न विभिन्न अभियान लिएर गाउँ पसेको छ। नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पार्टीले चलाइरहेका विभिन्न अभियान लिएर खटिएका नेताहरूले सबै प्रदेशमा काम गरिरहेको सुनाएका छन्। 

‘जुन प्रदेशमा नयाँ इन्चार्जहरू खटिएर गएका कार्यक्रमहरू छन् ती निरन्तर रूपमा चलिरहेका छन्।’ उनले संक्षिप्त प्रतिक्रिया दिए। 

नेकपा माओवादी केन्द्रले भने एमालेले माओवादीको अभियानबाट सिकेर अभियान सुरु गरेको आरोप लगाएको छ। पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले थाहा खबरसँग कुरा गर्दै आफ्नो पार्टी सरकारमा रहेको र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकाले व्यस्तताले पार्टीको कामलाई प्रभावकारी ढङ्गले अघि बढाउन नसकिएको जिकिर गरेका छन्। जसका कारण असार २३ गतेदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक साउन १७ गतेलाई सारिएको उनले जानकारी दिएका छन्। 

‘हामी बजेटलगायतका कारणले बैठक सार्नुपर्ने स्थिति आएको हो। अबको बैठकमा विगतको अभियानको समीक्षा गर्ने, संगठनमा आवश्यकताअनुसार कार्य विभाजन, संगठन सुदृढीकरण र विस्तारको अभियानगत योजना बनाएर जनतामा जान्छौँ।’ उनले भने। 

हाल प्रदेश, जिल्ला र पालिकामा आवश्यकताअनुसार पार्टीको बैठकहरू बसिरहेको उनले बताए। 

महासचिव देव गुरुङले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा भित्र्याउनेबारेमा कुरा मिले एकता नै हुने बताए। 

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्ने भन्ने विषय छलफलकै क्रममा माओवादीले जनाएको छ। 

रास्वपाको चुरीफुरी

पार्टी खोलेको ६ महिनामै प्रतिनिधिसभामा चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी एक वर्षमै ७७ जिल्लामै आफ्नो उपस्थिति रहेको बताउँछ। 

यही असार ७ गते पार्टीको पहिलो स्थापना दिवस मनाएको यो पार्टी अहिले ७७ जिल्लामै पार्टीको संगठन विस्तार गर्ने होडबाजीमा लागेको छ। 

रास्वपाका केन्द्रीय सदस्य गणेश शाह अहिले पार्टीको संगठन विस्तारकै काम भइरहेको बताउँछन्। ‘संगठन विस्तारको काम चाहिँ अहिले राम्ररी चलिरहेको छ। वडा, पालिका र नगरमा अहिले गठन प्रक्रिया अघि बढिरहेको छ। ७७ जिल्लामै समिति बनिसकेको छैन तर उपस्थिति चाहिँ पुगेको छ’‚ शाहले थाहाखबरसँग भने।

यही असार २१ गते राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस सभापति देउवाको गृह जिल्ला डडेलधुराको बसपार्कमा जनसभा आयोजना गर्ने भएको छ। उक्त जनसभामा केन्द्रीय सभापति रवि लामिछानेले सम्बोधन गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.