|

गौर : रौतहट तथा बारा प्रहरीले अनुचित लेनदेन (मिटरब्याज)मा संलग्नलाई पक्राउ गरी अनुसन्धान थालेको छ। जिल्ला प्रशासन कार्यालयको आदेशमा रौतहट तथा बारा प्रहरीले हालसम्म २८ भन्दा बढी आरोपित व्यक्तिलाई पक्राउ गरेको छ।

रौतहट प्रहरीले १२ भन्दा बढी र बारा प्रहरीले १५ जनालाई पक्राउ गरी अनुसन्धान गरेको प्रशासनले जानकारी दिएको छ। अनुचित लेनदेनको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितहरू पक्राउ पर्न थालेको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए। यहाँ २ हजार ७८ मिटरब्याजीको उजुरी परेकोमा छलफलको माध्यमले हालसम्म १३५ वटा उजुरी फर्स्योट भइसकेको उनले जानकारी दिए।

उजुरबारे बयान लिन बोलाउँदा आउन नचाहने आरोपीलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा झिकाउने गरिएको र मिटरब्याज पीडितलाई न्याय दिलाउने काम भइरहेको उनले बताए। बाराको जितपुर सिमरा नगरपालिका बस्ने सिर्जना गिरी मिटरब्याज र बैंकिङ कसुर मुद्दाअन्तर्गत पक्राउ परेकी छन्।

निजगढ नगरपालिका निवासी सुजित घिसिङले २० लाख रुपैयाँ बराबरको चेक अनादर मुद्दा दायर गरेपछि गिरीलाई पक्राउ गरिएको हो। गिरीले स्थानीय व्यापारीहरूको करिब १० करोडभन्दा बढीको अनुचित लेनदेन (मिटरब्याज) को कारोबार गरेको देखिएपछि गिरीलाई पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।

उनका अनुसार पक्राउ परेकामध्ये कतिपय रकम मिलान र सहमति भएपछि छुटेका छन्। बारामा तीन हजार ३२२ उजुरीमध्ये हालसम्म २३० वटा उजुरीको छलफल भएकोमा १४९ वटा फर्स्योट भइसकेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।

धेरै उजुरी परेका कारण कार्यालयको काम प्रभावित हुन नदिन तीनवटा टोली बनाएर दैनिक ३० वटा उजुरीको छलफल गराउने र सहमतिमा किनारा लगाउने काम भइरहेको उनको भनाइ छ। न्याय निरूपणका क्रममा आरोपित व्यक्ति र उजुरीकर्तालाई कार्यालयमा बोलाएर बयान लिने काम भइरहेको उनले जानकारी दिए।

नेपालको कानुनमा ठ्याक्कै मिटर ब्याज भन्ने शब्द उल्लेख भएको पाइँदैन। मुलुकी देवानीसंहिता ऐन ०७४ को लेनदेन महलले भने १० प्रतिशत ब्याजभन्दा बढी ब्याज लिएर कुनै पनि ऋणदाताले ऋण दिनु कसुर हो भनेर उल्लेख गरेको छ।

देवानीसंहिता २०७४ को दफा ४७८ को उपदफा १ मा साहुले वार्षिक १० प्रतिशतभन्दा माथिको ब्याज लिन नपाउने उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.