उम्मेदवार घरदैलोमा व्यस्त

|

चितवन : गत बैशाख ३१ मा सम्पन्न स्थानीय तह चुनावको मतगणनाको क्रममा मतपत्र च्यातिएपछि रोकिएको भरतपुर– १९ को मतगणना कार्य अनिश्चित बनेसँगै यहाँका मतदातामा छटपटी बढेको छ।

‘भरतपुर घटना’का नाममा चर्चामा रहेको यो घटना अहिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका रूपमा रहेको छ। यता भरतपुरका मतदाता भने दुई खेमामा विभक्त भएका छन्। एक पक्ष १९ नम्बर वडामा पुनः निर्वाचन गराइनुपर्ने अडानमा छ भने अर्को पक्ष च्यातिएका मतपत्रलाई छाडेर पुनः मतगणना गरिनुपर्नेमा अडिग छ।

यही क्रममा निर्वाचन आयोगले पुनः निर्वाचन गराउने निर्णय गरेपछि घटनाले ‘मुद्दा’को रूप लियो र सर्वोच्च अदालतमा विचाराधीन छ।

यहाँका मतदातालाई भने छटपटी सुरु हुनु अस्वाभाविक पनि होइन, कारण, ‘बर्खा लाग्ने बेला भो। अब धमाधम किसानलाई चटारो हुन्छ। चुनाव के हुने हो थाहा छैन’, भरतपुर वडा नम्बर १९ शारदानगर टाउनका मतदाता बुद्धिमान तामाङले भने, ‘मतदान या मतगणना जे होस्, तर छिट्टै होस्।’ उनी अब १९ नम्बर वडाका मतदातालाई बन्धक नबनाउन आग्रह गर्छन्।

आइतबार बिहान भरतपुर– १९ मा पुग्दा तामाङ तरकारीका लागि फर्सिका मुन्टा केलाउँदै थिए। सँगै ३/४ जना मतदाता पनि थिए। जुन पार्टीका प्रमुख आए पनि आफूहरूलाई केही फरक नपर्ने उनीहरूको भनाइ छ। 

शारदानगर टाउनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका झण्डाहरू फुंग उडेका छन्। धेरै झण्डा च्यातिएका छन्। कतिपय च्यातिने अवस्थाका छन्। नयाँ झण्डा कसैले राखेका छैनन्। 

झण्डा च्यातिने बेला भइसक्दा पनि मतगणना या मतदान भन्ने विषयमा निर्णय हुन नसक्दा मतदाताहरूमा निराशा बढ्दो छ। मतदाताको प्रतिक्रिया मिश्रित भए पनि अहिले पुनः मतदान हुनुपर्नेमा धेरैको मत देखिन्छ। दलका कार्यकर्ताहरू भने आआफ्नै पार्टीको निर्णयअनुसारका प्रतिक्रिया दिइरहेका छन्। स्वतन्त्र मतदातालाई प्रभावित पार्ने उनीहरूको कसरत देखिन्छ।

एकाएक मतगणना रोकिएकोमा अर्का मतदाता राजुभक्त लम्साल आक्रोशित छन्। ‘केही न केही निकास दिइयोस्, हामीलाई बन्धक नबनाइयोस्’, लम्सालले भने। उनी पुनः मतगणना गरे राम्रो हुने प्रतिक्रिया दिन्छन्।

जेठ १४ गते राती मतपत्र च्यातिएपछि भरतपुर महानगरपालिकाको मतगणना कार्य रोकिएको हो। रोकिएको झण्डै एक महिना हुन लाग्यो। निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरे पनि सर्वाेच्चमा रिट दायर भएपछि अहिले तत्कालका लागि त्यहाँ कुनै कार्य अघि नबढाउन सर्वाेच्चले अन्तरिम आदेश दिइसकेको छ।
जेठ २८ र  जेठ ३० गते हुने भनिएको सुनुवाइ रोकिएर असार ६ गतेका लागि तोकिएको छ। 

भरतपुर– १९ को शारदानगरमा फेन्सी व्यवसाय चलाउँदै आएका कृष्ण खरेल भरतपुर– १९ मा स्वतन्त्र रूपमा मूल्यांकन गर्ने अवस्थै नभएको बताउँछन्।गणतन्त्र भन्ने महसुस नै नभएको उल्लेख गर्दै उनले भने, ‘अहिले वडामा विभिन्न बहानामा मतदातालाई दवाब सिर्जना गरिएको छ, यसले खुसी लागेको छैन।’

६५ वर्षका स्थानीय श्यामलाल महतो पटक पटक चुनावमा जाँदा आफू जस्ता वृद्धवृद्धालाई सकस हुने बताउँछन्। ‘बिरामी, अशक्त, बुढाबुढीलाई झनै गाह्रो हुन्छ’, महतो भन्छन्, ‘अब खेतीपातीको समय पनि हो, यस्तो बेला झनै गाह्रो हुन्छ।’ 

अर्का मतदाता उदयराज पराजुली जनताको मताधिकार च्यातिएपछि मतगणना हुँदा अधिकार हनन् हुने भन्दै पुनः मतदान नै उपयुक्त हुने दाबी गर्छन्। उनी पनि जे निर्णय भए पनि छिटै गर्नुपर्नेमा जोड दिन्छन्।

सर्वाेच्चमा रिट दायर गर्ने एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक आफ्नो इलेक्ट्रिकल्स पसलमा काम गर्दै गर्दा भेटिए। मतदानकै निर्णय भए पनि छिटो गरे हुने उनी बताउँछन्।

भरतपुर– १९ मा तीनवटा बुथ छन्। किरणगञ्ज, गुञ्जानगर, शारदानगरलगायत क्षेत्र त्यसमा समेटिन्छन्। अहिले एमालेले छुट्टै चुनावी प्रचार अभियान चलाइरहेको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्त चुनावी अभियान जारी राखेका छन्। 

कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताहरू समेत जे हुने हो, तत्कालै निर्णय आइदिए सजिलो हुने बताउँछन्। भरतपुर– १० रानीपोखरीकी ईन्द्रकुमारी गुरुङ जे निर्णय भए पनि छिट्टै भइदिए राम्रो हुने बताउँछिन्। उनले आफ्नो व्यक्तिगत धारणामा भने पुनः मतदान भए राम्रो हुने प्रतिक्रिया दिइन्।

यता, भोट पुनः गणना गरिदिए राम्रो हुने प्रतिक्रिया दिने स्थानीय भीमबहादुर क्षेत्री अनिर्णयमा भने रहन नहुने तर्क गर्छन्। एमाले भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार देवी ज्ञवाली जेठ १४ को घटनाक्रम बुझाउँदै अहिले मतदाताको घरदैलोमा लागेको बताउँछन्। 

कांग्रेस–माओवादी केन्द्रको गठबन्धनकी उम्मेदवार रेणु दाहाल एक चरणको घरदैलो सकेर अर्काे चरणको अभियान सुरु गरेको र मतदातामा उत्साह थपिएको बताउँछिन्। दुवै पक्ष अहिले मतदाता प्रभावित पार्न र मत माग्नमै व्यस्त देखिन्छन्।

भरतपुर– १९ मा तीन हजार ७९७ मतदाता छन्। भरतपुरमा वडा नम्बर १९ को मतगणनाका क्रममा ९० मत च्यातिएपछि मतगणना रोकिएको थियो। अब गन्न बाँकी वडा नम्बर– २० को मत मात्रै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.