|

काठमाडौं  : उपत्यकासहित बागमती, कोशी र मधेशमा पानी परिरहेको छ। यी प्रदेशमा लगातार वर्षा भइरहँदा नदीहरूमा बाढी आउन सक्ने खतरा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सप्तरीको चौरिया नदीमा पानीको तहले खतराको संकेत पार गरेको छ। लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा पनि हल्का देखि मध्यम वर्षा भइरहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन्। उनका अनुसार दिउँसो मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ। भारी वर्षा, मेघगर्जन, चट्याङ र बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

लगातारको वर्षासँगै आएका बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ। विभागको विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन् । 

यस्तै १३ वटा सडक एकतर्फी सञ्चालनमा रहेको विभागले जनाएको छ। हालसम्म अवरुद्ध भएका ५७ वटा सडक सञ्चालनमा आइसकेको छ भने ७३ वटा अवरुद्ध भएको विभागको तथ्यांक छ। बाढी पहिरोका काारण हालसम्म सडकमा २ लाख ४९ हजार ६२३ रुपैयाँ बराबरको भौतिक क्षति भएको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.