|

काठमाडौं : आगामी १४ असारका लागि तोकिएको दोस्रो चरणको निर्वाचनमा दलहरूले पहिलो चरणको निर्वाचनजस्तै तालमेललाई पहिलो प्राथमिकता  दिएका छन्। पहिलो चरणको निर्वाचनमा दलहरूले तालमेलका साथ चुनाव लडे पनि नतिजा भने खासै प्रभावकारी बनेन। तर पहिलो चरणको निर्वाचनमा जस्तै सबै दलले दोस्रो चरणको निर्वाचनमा पनि तालमेल नै रोजेका छन्।

यसपटकको तालमेल पनि दलहरूले सिद्धान्त विचारभन्दा पनि आफूअनुकूल हुने गरी गरेका छन्। कुनै स्थानीय तहमा कांग्रेस माओवादीले तालमेल गरेका छन्। तर तालमेलको शृंखला हेर्ने हो भने कहीँ माओवादीविरुद्ध नै कांग्रेस एमाले त कहीँ कांग्रेसकै विरुद्ध एमाले माओवादीसमेत मिलेको पाइएको छ। दलहरूले आफू कमजोर भएकोमा सबैभन्दा बलियो दललाई हराउने गरी र कमजोरकमजोर मिलेर जित हासिल गर्ने उद्देश्यले तालमेल रोजेका छन्।

विराटनगरमा एमाले-लोकतान्त्रिक फोरम

१४ असारमा हुने एक मात्र महानगरपालिका विराटनगरको निर्वाचनमा प्रमुख विपक्षी दल नेकपा एमाले र सत्तारूढ दल नेपाल लोकतान्त्रिक फोरम नेपालबीच तालमेल भएको छ। विराटनगरमा एमालेले प्रमुख र लोकतान्त्रिक फोरमले उपप्रमुख लिएर एकअर्कालाई सहयोग गर्ने सहमति गरेका छन्। एमाले र लोकतान्त्रिक फोरमबीचको तालमेलले कांग्रेसलाई चुनौती थपिएको छ।

विराटनगरमा एमालेले प्रमुखमा विनोद ढकाल र लोकतान्त्रिक फोरमले उपप्रमुखमा सूची चौधरीलाई उम्मेदवार बनाएको हो। लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य वेद गच्छदारले एमाले र फोरम लोकतान्त्रिकबीचको गठबन्धनले विजयी हासिल गर्ने जिकिर गरे।

माओवादी केन्द्र र संघीय समाजवादी

यता विराटनगरमा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच चुनावी तालमेल भएको छ। माओवादी र फोरमबीच विराटनगरका साथै जिल्लाका अन्य ठाउँमा पनि चुनावी तालमेल गरेर अघि बढने सहमति भएको फोरम नेपालका महासचिव रामसहाय यादवले बताए।

 विराटनगरमा फोरमको तर्फबाट उमेश यादव प्रमुख र माओवादी केन्द्रकी नमिता न्यौपाने उपप्रमुखको उम्मेदवार रहेका छन्। माओवादी केन्द्र मोरङका अध्यक्ष गोपी अछामीले जिल्लाभरि नै फो™मसँग चुनावी तालमेल गरेर एकअर्कालाई सहयोग गर्ने सहमति भएको बताए।

फोरम नेपालका महासचिव यादवका अनुसार विराटनगरका साथै कटहरी गाउँपालिका, धनपाल गाउँपालिका, रतुवामाई नगरपालिकामा माओवादीसँग चुनावी तालमेल भएको र अरू ठाउँमा पनि तालमेलको प्रयास भइरहेको बताए।

दमकमा फोरम नेपाल र नयाँ शक्ति

यता झापाको दमकमा फोरम नेपाल र नयाँ शक्ति नेपालले संयुक्त मनोनयन दर्ता गराएका छन्। दुवै पार्टीले आइतबार संयुक्त उम्मेदवारी दर्ता गराएको फोरम नेपालका लिम्बुवान प्रदेश सचिवालय सदस्य कमन देवानले बताए।

दमक नगरपालिकाको प्रमुखमा सतीश साह र उपमेयरमा गंगा सागर शेर्माको उम्मेदवारी परेको छ। साह नयाँ शक्ति र शेर्मा फोरम नेपालका उम्मेदवार हुन्। दमकको चुनावी माहोलमा फोरम र नयाँ शक्तिबीचको तालमेलले प्रतिस्पर्धी दलमा निकै चर्चाको विषय बनेको संयोजक देवानले बताए।

झापाकै सबै १५ वटै गाउँ तथा नगरपालिकामा चुनावी तालमेल गरे अघि बढने गरी छलफल चलिरहेको फोरम नेपाल, झापाका सचिव सुशील राईले बताए। फोरमले नयाँ शक्तिसहित अन्य दलहरूसँग पनि तालमेल गरेर उम्मेदवारी दिएको बताए। पहिचान विरोधी एमाले र गणतन्त्रविरोधी राप्रपासँग भने जिल्लाको कुनै पनि स्थानीय तहमा तालमेल नगरिएको राईले बताए।

बुटवल उपमहानगरपालिकामा कांग्रेस-माओवादी केन्द्र

यता बुटवल उपमहानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको बीचमा तालमेल भएको छ। कांग्रेसबाट प्रमुखमा खेलराज पाण्डेय र माओवादीबाट जगा पोखरेल उपप्रमुख लिएर बुटवलमा चुनावी तालमेल गरिएको हो। बुटवलमै नयाँ शक्ति, फोरम नेपाल, जनमोर्चा, माले, अखण्ड पार्टीका बीचमा तालमेल भएको छ।

यी दलबाट प्रमुखमा होमबहादुर गलामीलाई प्रमुखमा उम्मेदवारी दिइएको छ। पाल्पाको रामपुर नगरपालिकामा एमाले र माओवादीबीच तालमेल भएको छ। रोल्पाको थबाङ गाउँपालिकामा निर्वाचनको विरोध गर्दै आएको चन्द माओवादी र कांग्रेसबीच तालमेल भएको छ। अमित घर्ती माओवादीबाट प्रमुख र श्रीकुमारी रोका कांग्रेसबाट उपप्रमुखको उम्मेदवार भएका छन्।

अर्घाखाँचीमा कांग्रेस-एमाले

अर्घाखाँचीको माडी गाउँपालिकामा प्रमुख दुई दल कांग्रेस र एमालेबीच नै चुनावी तालमेल भएको छ। कांग्रेसको तर्फबाट गोपाल घर्ती प्रमुख र एमालेबाट प्रेम घर्ती उपप्रमुख भएका छन्। अर्घाखाँचीको चार स्थानीय तहमा कांग्रेस र माओवादीका बीचमा चुनावी तालमेल भएको छ। शिवगंगा नपामा सूर्यप्रसाद अधिकारी कांग्रेसबाट प्रमुख र टीका रेशमी माओवादीबाट उपप्रमुखको उम्मेदवार भएका छन्।

सन्धिखर्क गाउँपालिकामा कांग्रेसबाट कमलप्रसाद भुसाल प्रमुख र माओवादीबाट ठाकुरकुमार विक उपप्रमुखको उम्मेदवार भएका छन्। भूमिका स्थानमा माओवादीबाट रेशम थापा प्रमुख र कांग्रेसबाट खडानन्द बेलबासे उपप्रमुखको उम्मेदवार भएका छन्।

यस्तै मालारानी गाउँपालिकामा माओवादीबाट पदम क्षत्री प्रमुख र कांग्रेसबाट शान्ता खनाल उपप्रमुखको उम्मेदवार भएका छन्। प्रमुख दल कांग्रेस, एमाले, माओवादीका साथै फोरम नेपाल, नयाँ शक्तिले स्थानीय कमिटीलाई नै चुनावी तालमेल गर्ने अधिकार दिएअनुसार गठबन्धन निर्माण भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.