एक-अर्कालाई दोष देखाएर जिम्मेवारीबाट पन्छिँदै महानगर र प्रशासन

|

काठमाडौं : माइतीघर मण्डला नाम नसुन्ने सायदै कोही छैनन् होला। प्रायः हरेक दिन केही न केही माग राखेर यहाँ प्रदर्शन, आन्दोलन तथा धर्ना दिनेको भिड देखिन्छ।

पहिले पहिले दिनमा मात्र प्रदर्शन गर्न दिइन्थ्यो। केही महिनाअघि महावीर पुनले रात नै माइतीघरमै बिताएर प्रदर्शन गरेसँगै अहिले माइतीघरमा अड्डा नै जमाएर प्रदर्शनमा उत्रिनेको संख्या बढ्दो छ। अहिले यहाँ विभिन्न माग राखी पाल नै टाँगेर बसेको समूह पाँचभन्दा बढी छ।

प्रदर्शनकारीहरू विहान बेलुकीको खाना खाजा त्यहीँ खान्छन् अनि त्यहीँ सुत्छन्। 

यसले काठमाडौंको मुटु मानिने माइतीघरको सवारी आवागमनमा असहज पैदा भइरहेको छ। अहिले झट्ट हेर्दा माइतीघर माछा बजारजस्तो देखिन्छ। दिउँसो मात्र नभएर राति पनि धर्नामा बस्नेहरूको संख्या बढ्दै गएपछि सार्वजनिक शौचालय र फोहोरको व्यवस्थापनमा पनि जटिलता थपिएको छ।

त्यस्तै, सडकमा फोहोर बढ्दै गएको र सवारी जामले दैनिकीमा असहजता थपिएको यहाँका व्यापारीहरूको गुनासो छ।


 

यसबारे न महानगरलाई चासो छ न केन्द्रीय सरकारलाई नै । काठमाडौं महानगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्न खोजेको तर जिल्ला प्रशासन कार्यालयले चासो नदेखाएको जनाएको छ।

महानगरका मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव साहले आफूहरूले पहिले नै जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्न खोजे पनि प्रशासनले अग्रसरता नदेखाएको बताए।

‘प्रशासनको अग्रसरता नदेखिएपछि यो कुरा अगाडि बढ्न सकेको छैन। यसको प्रमुख दायित्व सिडिओको हो। नेपाल प्रहरीले हामीसँग सहयोग मागेपछि मात्र हामी अगाडि बढ्ने हो’, उनले भने, ‘ हाम्रो धारण प्रस्ट छ, प्रदर्शनका नाममा भइरहेको जाम हट्नुपर्छ। जिल्ला प्रशासन कार्यालयसँग कुरा अगाडि बढाइएको भए पनि गम्भीर रूपमा उहाँहरू अगाडि बढ्नु भएन।’

तर जिल्ला प्रशासन कार्यालय भने यसलाई स्वीकार गर्दैन । माइतीघरको अव्यवस्थित जाम हटाउन महानगरले कुनै पत्र नलेखेको कार्यालयको दाबी छ। सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर श्रेष्ठले सडक खुलाउनका लागि महानगरले जिल्ला प्रशासन कार्यालयलाई लिखित आग्रह नगरेको बताए।

‘महानगरले हामीलाई यहाँबाट अव्यवस्थित सडक जाम हटाइदिनु भन्यो भने त एक सेकेन्डमा हटाउन सकिन्छ नि!’, श्रेष्ठले भने, ‘तर उहाँहरूले लिखित आग्रह गर्नुभएको छैन।’

उनका अनुसार खुला मञ्‍चमा बस्नुपर्ने भए पनि त्यहाँ महानगरले ताला लगाएका कारण आन्दोलनकारी माइतीघरमा बसेको पाइएको बताए।

केही तस्वीर झलकहरू :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.