|

धनगढी : नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभामा खर्च कटौतीको प्रस्ताव दर्ता गराएको छ। एमाले संसदीय दलका तर्फबाट प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेशसभा नियमावली २०७४ को नियम १३४ को १(क) अनुसार प्रदेशसभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएका हुन्।

खर्च शीर्षक समेत उल्लेख गरेर सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत मन्त्रालयहरूका भवन विकास तथा व्यवस्थितका लागि अनुदान रकमको १९ करोड विनियोजन गरिएकाले कटौती गर्न माग गरिएको छ।

यसअघिको प्रदेशसभाले प्रदेशको राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरिसकेकोमा उक्त निर्णयको अवज्ञा गर्दै नीति र विधि मिचिएको प्रस्तावमा उल्लेख छ।

एमालेले उक्त बजेट विनियोजन गरिनुले अख्तियारको समेत दुरुपयोग भएकाले असहमति रहेको जनाएको छ। प्रदेशसभा सदस्य पाठकले खर्च कटौतीको प्रस्ताव अहिलेको सरकारले ल्याएको बजेटप्रतीको नीतिगत असमझदारी भएको बताए।

प्रदेश सरकारले १ असारमा २९ अर्ब २६ करोड बराबरको बजेट ल्याएको थियो। बजेट असन्तुलित रहेको भन्दै सत्तारुढ गठबन्धनकै सांसदहरूले असहमति जनाउँदै विरोध गरेपछि अहिलेसम्म पारित हुन सकेको छैन।

मुख्यमन्त्री कमलबहादुर शाहले निर्वाचन क्षेत्रमा कार्यान्वयन हुने पूर्वाधार विकास कार्यक्रमको ३ करोड बजेट बढाएर ५ करोड पुर्‍याउने सहमति गर्दै अनावश्यक योजना समेत हटाउने सत्तारुढ गठबन्धनमा सहमति गराएका छन्।

उक्त सहमतिबारे सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूले आ-आफ्नो संसदीय दलमा छलफल गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.