|

गौर : सडक डिभिजन कार्यालयमा चन्द्रनिगाहपुरमा निर्माण व्यवसायीले लगाएको ताला खोलिएको छ। तीन दिनअघि चन्द्रपुर–४ स्थित सडक डिभिजन कार्यालयमा निर्माण व्यवसायीले लगाएको ताला बुधबार खोलिएको हो।

रौतहट र सर्लाहीमा विभिन्न पुल, सडक लगायतका निर्माणको काम गरेबापतको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी संघ रौतहटको अगुवाइमा असार ३१ गते कार्यालयको मूलगेटमा तालाबन्दी गरिएको थियो। सडक डिभिजन कार्यालयले एक महिनाभित्र व्यवसायीहरूको रकम भुक्तानी दिने प्रतिबद्धतापछि ताला खोलिएको निर्माण व्यवसायी संघ रौतहटका अध्यक्ष कृष्णदेव यादवले बताए।

भुक्तानीका लागि पहिलेदेखि नै सडक डिभिजनलाई भन्दै आएको र असार मसान्तसम्म पनि भुक्तानी नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको उनको भनाइ छ। उनका अनुसार निर्माण व्यवसायी तथा फर्मले गरेका विभिन्न विकास निर्माणका कार्यबापत पेस गरिएको बिलको रकम भुक्तानी हुनुपर्ने मुख्य माग छ। यद्यपि एक महिनाभित्र सबै रकम भुक्तानी गर्ने सहमति भएको र नभए फेरि आन्दोलन गर्ने उनले जानकारी दिए।

उनका अनुसार दुई दर्जन निर्माण व्यवसायीको २६ करोडभन्दा बढी रकम सडक कार्यालयले भुक्तानी गरेको छैन। धुक्चु कन्स्ट्रक्सनको १० करोड, सगुनको ७ करोड, राजदेवी भक्तको ३ करोड र साह निर्माण सेवाको ३ करोड र अन्य दुई दर्जनभन्दा बढी व्यवसायीले भुक्तानी नपाएको अध्यक्ष यादवले बताए।

विरोध भए पनि असार मसान्तमा भुक्तानी हुन सकेन। व्यवसायीहरूको तालाबन्दीपछि कार्यालयको कामकाज ठप्प थियो। सडक डिभिजनले रौतहट र सर्लाहीमा संघीय सरकार भौतिक पूर्वाधार मन्त्रालयका विकास निर्माणका कार्यक्रमहरू सञ्चालन गर्छ।

डिभिजन सडक कार्यालयका प्रमुख दरोगाप्रसाद साहले माथिबाट बजेट निकासा नदिएकाले समस्या भएको बताए। बजेट निकासाका लागि पहल गरिरहेको र हुनासाथ भुक्तानी दिने उनले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.