|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साइबर सुरक्षामा गम्भिर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। 

शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरोकारवाला मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रमुखहरुसहितको बैठक बोलाई सो सम्बन्धमा गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन्।

साइबर सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौती निम्तिन सक्ने भएकाले सरोकारवाला निकायले यसलाई सिरियस भएर प्राथमिकतासाथ काम गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डले निर्देशित गर्नु भएको राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री प्रचण्डसमक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीले साइबर सुरक्षाबारे नेपालमा भईरहेको कामकारबाहीबारे ब्रिफिङ गरेका थिए।

राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले भने, ‘यो साइबर सुरक्षाका सम्बन्धमा हामीले अहिले के गरिराखेका छौं, कहाँनिर चुनौती छ? ती चुनौतीलाई सम्बोधन गर्न के गर्नु पर्छ? विषयमा तीनवटा प्रस्तुति थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीको यसबारे प्रस्तुति थियो। त्यसमा अहिलेसम्म भएका काम, कारबाहीहरुको समीक्षा भयो। अहिलेका चुनौतीहरुको बारेमा पनि त्यहाँ छलफल भयो र आगामी दिनमा के गरेर जाने भन्ने विषयमा त्यहाँ सम्माननीय प्रधानमन्त्रीबाट निर्देशन भएको छ। हामी त्यो निर्देशन बमोजिम नेपालको साइबरस्पेस बलियो बनाउन कानुनी, नीतिगत, संस्थागत के प्रबन्ध गर्नुपर्ने हो? त्यसको वर्क आउट गरेर छिट्टै एउटा कार्ययोजना अगाडि बढाउँछौं। प्रधानमन्त्रीजीले यो विषय गम्भीर भएर सबै निकायहरुले काम गर्नुस्। राष्ट्रिय सुरक्षामा यसले कुनै पनि चुनौती निम्त्याउन सक्ने भएको हुनाले यसलाई प्राथमिकताका साथ हेर्नुपर्छ भन्ने छ प्रधानमन्त्रीज्यूको।’

बैठकमा साइबर सुरक्षाको क्षेत्रलाई बलियो बनाउने गरी कानुनी, नीतिगत र संस्थागत प्रबन्ध गर्न एउटा छुट्टै कार्ययोजना बनाएर लागू गर्ने निर्णय पनि गरिएको थियो।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सरोकारवाला मन्त्रालयका मन्त्री र साइबर सुरक्षाको क्षेत्रमा कार्यरत सुरक्षा निकायका प्रमुख तथा विभागका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.