|

दाङ : चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले बोर्डले मोफसल केन्द्रित कार्यक्रमहरु ल्याएको बताएका छन्।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले सोमवार घोराहीमा गरेको साक्षात्कार कार्यक्रममा उनले बोर्डले आर्थिक वर्ष ०८०/८१ मा मोफसलमा बनेका चलचित्रहरुलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु ल्याएको बताए।

बोर्डले मोफसलमा निर्माण भएका ३ वटा लघु चलचित्रलाई अनुदान दिने उनको भनाइ छ। मोफसलमा निर्माण भएका मौलिक चलचित्रहरुलाई प्रवर्द्धन गर्न पोस्ट प्रोडक्सनदेखि प्रदर्शनसम्म बोर्डले अनुदान सहयोग गर्ने उनले बताए।

उनले चलचित्रका गतिविधिलाई कुनाकन्दरामा पुर्‍याउने गरी बोर्डले मोफसल केन्द्रित कार्यक्रम ल्याएको बताए। उनले २ वटा चलचित्र महोत्सव गर्ने र सिनेमाको पहुँच विस्तार र साक्षरता बढाउन देशका विभिन्न क्षेत्रमा घुम्ती सिनेमा कार्यक्रम गर्ने जानकारी दिए।

बोर्डले सामाजिक जागरण ल्याउने खालका ३ वटा लघु चलचित्र निर्माण गर्ने समेत उनले बताए। उनले विभिन्न संघसंस्थाको सहयोगमा बोर्डले जातिय छुवाछुत र सामाजिक कुप्रथा विरुद्धका लघु चलचित्र निर्माण गर्ने बताए। 

उनले बोर्डले यस वर्ष लघु चलचित्र प्रतियोगिता गर्ने, स्टोरी बैंकमार्फत देशभरिबाट उत्कृष्ट कथाहरु छानेर चलचित्र निर्माण गर्ने जस्ता कार्यक्रमहरु बोर्डले अघि सारेको समेत बताए। 

उनले पहिलो पटक नेपालमा चलचित्रसम्बन्धी एक्सपो गर्न लागिएको बताए। चलचित्रसम्बन्धी सबैखाले प्रदर्शनी रहने गरी बोर्डले यही वर्ष काठमाडौंमा चलचित्र एक्सपो गर्ने बताए। 

‘फिल्मदेखि चलचित्र क्षेत्रसँग सम्बन्धित सबै खाले कुराहरुको प्रदर्शनी गर्ने गरी चलचित्र एक्सपो गने योजना बनाएका छौं‚’ उनले भने।

उनले बोर्डले राष्ट्रिय चलचित्र नीति-२०८० को प्रारम्भिक मस्यौदा तयार गरेको बताए। उनले नेपाली चलचित्रलाई समयसापेक्ष बनाउन, नेपाली उद्योगको प्रवर्द्धन गर्न र अन्तरराष्ट्रिय बजार विस्तार गर्ने गरी ल्याउन लागिएको नीतिको खाका तयार गरिरहेको बताए।

यसअघि बनेको राष्ट्रिय चलचित्र नीति-०७१ लाई परिमाजर्न गरेर चलचित्र नीति-२०८० ल्याउन लागिएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.