प्रभु भन्छन्- गौर हत्याकाण्डका अपराधी बचाउन षड्‌यन्त्र

|

रौतहट : तत्कालीन माओवादीका नेता प्रभु साहलाई कारबाही गर्न मंगलवार सर्वपक्षीय संयुक्त संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

गौर घटना प्रभु साहले सुनियोजित रूपमा गराउन पहाडी जिल्लाबाट ससाना हतियार सहित भिडन्त गर्न उतारिएको र आमनागरिकले प्रतिकार गर्दा दुःखद घटना भएको भन्दै घटनाका मुख्य नाइके साहविरुद्ध कारबाहीको माग गर्दै रौतहटको सदरमुकाम गौरमा बृहत् विरोध र्‍याली प्रदर्शन भएको हो।

नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीद्वारा गठन गरिएका सर्वपक्षीय संयुक्त संघर्ष समितिले मंगलवार गौरमा बृहत् विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रमार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको हो।

६ पार्टीद्वारा आज गौरमा निकालिएको बृहत् विरोध र्‍यालीमा अन्तरराष्ट्रिय कुस्ती खेलाडी उपेन्द्रदास वैरागी, शिक्षक सुनिल यादव, स्वास्थ्यकर्मी सुरेश यादव र तत्कालीन माओवादी नेता हाल आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै गौरमा नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रजिअमार्फत ज्ञापनपत्र बुझाएका छन्।

२०६३ साल चैत ७ गते गौर राइस मिल्समा मधेशी जनअधिकार फोरमको आमसभा बिथोल्न तत्कालीन नेकपा (माओवादी) का भातृ संगठन राष्ट्रिय मधेशी मुक्ति मोर्चाका अध्यक्ष प्रभु साहले त्यही मैदानमा कार्यक्रम गर्न मञ्च बनाई विभिन्न ठाउँबाट हतियार सहित राइस मिल्समा उतारेका थिए। स

साना हतियार लिएर आएका कार्यकर्ताहरू मधेशी जनअधिकार फोरमको मञ्चलाई तोडफोड गर्दै गोली फायरिङ गरेपछि सर्वसाधारण जनता जीउधनको रक्षार्थ गरिएको प्रतिकारात्मक कार्यको परिणाम स्वरूप गौर घटना भएको थियो।

गौर घटना आमजनता आतंककारी गतिविधिबाट मर्माहत भएर गौरमा विस्थापित भएका परिणाम थियो। त्यस्तो नहुनुपर्ने घटना भएको ज्ञापनपत्रमा भनिएको छ। सरकारले राजनीतिक प्रकृतिका मुद्दामा निर्णय आदेश दिए कारबाही अघि बढ्नेछ। गौरमा मधेशी जनअधिकार फोरमको कार्यक्रम बिथोल्ने तथा अराजक घटना गराउने मुख्य जिम्मेवार तत्कालीन माओवादी नेता प्रभु साह रहेको ज्ञापनपत्रमा भनिएको छ।

सरकारले गौर राइस मिल्समा भएको घटनाको सन्दर्भमा भएका क्षतिपूर्तिका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा न्यायिक जाँचबुझ आयोग गठन गरी प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। जाँचबुझ आयोग र संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगको प्रतिवेदनका आधारमा नेपाल सरकारले ७ वर्षअघि नै प्रधानमन्त्री प्रचण्ड भएको वेला त्यस्ता व्यक्तिलाई सहिद घोषणा गरी जनही २/२ लाख क्षतिपूर्ति दिई राजनीतिक रूपले घटना समाधान भएको भन्दै राज्यको ध्यानाकर्षण गराएका छन्। १७ वर्षअघि भएको गौर राइस मिल्स लगायत विभिन्न ठाउँमा लगाइएका झूटा मुद्दा खारेज गर्न अनुरोध गरिएको छ।

यता मौलापुर पार्क होटेलको रेष्टुरेण्ट उद्घाटन समाहरोमा आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रौतहटको गौरमा भएको बिभत्स हत्याकाण्डका अपराधीहरूलाई बचाउन फेरि जालझेल एवम् षड्‌यन्त्र सुरु भएको बताएका छन्। साहले पनि गौर हत्याकाण्डका अपराधीलाई कारबाही हुनुपर्ने माग गरेका छन्। घटना २०६३ साल चैत ७ गते रौतहटको गौरमा घटेको थियो। सो घटनामा २८ जानाको ज्यान गएको थियो।

उक्त घटनालाई आम जनता पार्टी नेतृत्वका गौर हत्याकाण्ड पीडित संघर्ष समितिले घटनाका दोषीमाथि कारबाहीको माग गरेको छ। उक्त घटनालाई छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै श्रावण १५ गतेदेखि अनिश्चितकाल रौतहट बन्द गर्ने घोषणा पनि गरेका हुन्। गौर घटनाका पीडितलाई सम्भव सहयोग गरी न्याय दिलाउनुपर्ने र प्रतिक्रियावादीको केही नलाग्ने बताउँदै साहले आउँदो १४ गते गौर घटनाका पीडित परिवारको हौसला बढाउन मोटरसाइकल र्‍यालीमा सहभागी हुन अनुरोध गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.