|

रौतहट : गौर हत्याकाण्ड पीडित संघर्ष समिति आफूले न्याय पाउनुपर्ने माग गर्दै रौतहटको चन्द्रनिगाहपुरमा धर्ना बसेको छ।

गौर हत्याकाण्डको फाइल खोल्न र मुख्य आरोपी तत्कालीन मधेशी जनअधिकार फोरम अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गर्नुपर्ने माग राख्दै धर्नामा बसेको हो।

उनीहरूले उपेन्द्र यादवलाई पक्राउ गरी कारबाही गर्नुपर्ने, दोषीलाई उन्मुक्ति दिन नहुने, घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग अघि सारेका छन्। गौर हत्याकाण्डका मुख्य दोषी सहित अन्य दोषीलाई कारबाहीको माग गर्दै धर्नामा बसेको गौर हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक तथा सहिद परिवारकी अगुवा रूपसागर देवीले बताइन्।

तत्कालीन नेकपा माओवादीको मञ्च बनाई सभा गर्न लाग्दा उपेन्द्र यादवको नेतृत्वमा रहेको तत्कालीन मधेशी जनअधिकार फोरमले ठूलो संख्यामा आफ्ना कार्यकर्तालाई मानव ढाल बनाई केही पेशेवर आपराधिक समूहको जत्थाले आक्रमण गरी २८ जनाको हत्या गरेको आजपाका युवा नेता बालकृष्ण सापकोटाले बताए।

रौतहट जिल्ला प्रहरी कार्यालयमा २०६४ चैत २८ मा जाहेरी दर्ता भएको आज १७ वर्ष बितिसक्दा पनि कारबाही प्रारम्भिक चरणको काम पनि नभएको उनले बताए।

संघर्ष समितिले आफ्ना माग पूरा नभए साउन १४ गते मोटरसाइकल र्‍याली गर्ने र साउन १५ गतेदेखि अनिश्चितकालीन रौतहट बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। न्यायका लागि सर्वोच्च अदालतमा प्रक्रिया अघि बढाउन परमादेशको माग सहितको निवेदन दर्ता केही दिनअघि भएको घाइते एवम् जाहेरीकर्ता अमर साहले बताए।

२०६३ चैत ७ गते गौरस्थित राइस मिल्सको चौरमा तत्कालीन नेकपा माओवादी र उपेन्द्र यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरमका कार्यकर्ताबीच झडप हुँदा माओवादीका २८ जना कार्यकर्ता मारिएका थिए भने ५० जनाभन्दा बढी घाइते भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.