|

काठमाडौँ : चलचित्र र रङ्गमञ्चमा उत्तिकै लोकप्रिय अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रापश्चात् निर्देशक बने। उनको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। 

“मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो। त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो। त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजमा यो कथा पु¥याउनुपर्छ भन्ने लाग्यो”, अभिनेता खनालले भने, “यसलाई कथामार्फत नै दर्शकसामु पु¥याउनुपर्छ भन्ने लागेर निर्देशन गरेँ। मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा नि अप्ठ्यारो हुन्थ्यो। मैले सरोज नै भनेर सम्बोधन गरिदिनुस् भनेर भन्थे।”

आफूलाई कथावाचक भन्न रुचाउने खनालले चलचित्रमा वरिष्ठ कलाकारलाई स्थान दिएका छन्। उनीहरु अभिनयमा पोख्त हुनाका साथै चरित्रअनुसार उपयुक्त हुने भएकाले चलचित्रमा अधिकांश पुराना कलाकारलाई स्थान दिएको खनालले बताए। 

“छायाङ्कनका क्रममा कुनै कलाकारलाई पनि अभिनय गरेर बुझाइनँ, भनिनँ। केबल चरित्र र दृश्यलाई सम्झाएँ”, अभिनेता खनालले भने, “नीर राजा (नीर शाह) लाई मैले अलिकति फरक चाहिएको भनेर भूमिका बुझाएँ। उनले आफैँले विभिन्न चरित्र देखाएपछि मैले चाहेको यो हो भने, यसरी हामीले छायाङ्कन सकेका थियौँ।” 

सयौँ चलचित्रमा अभिनय गरेका अभिनेता खनालले चलचित्रमा ‘स्टार’का रुपमा चिनिएका कलाकारभन्दा पनि विषयवस्तु र कथा महत्वपूर्ण हुनुपर्ने बताए। एकल महिलाको कथा, समवेदना र शिक्षाको महत्वलाई चलचित्रमा प्रस्तुत गरिएको उनको भनाइ छ। आफैँसँग धेरै चलचित्रमा सहकार्य गरेकी अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको भूमिकामा प्रस्तुत गरिएको उनले बताए।

चलचित्र ‘बगान’ मा निर्देशक खनालसँगै करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालगायत कलाकारले अभिनय गरेका छन्। कार्कीले यसै चलचित्रबाट अभिनय सुरू गरेकी हुन्।

“आफ्नो पात्रलाई जीवन्त बनाउनुभएकी कार्कीको उज्वल भविष्य देखेको छु। म आफ्नो कलाकारिताको अनुभवले पनि उहाँलाई मूल्याङ्कन गर्न सक्छु”, निर्देशक खनालले भने, “उहाँले पात्रलाई न्याय गर्नुभएको छ। यो कलाकारको सकारात्मक पक्ष हो।” 

स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ संयोजन गरेका छन्। चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.