|
medicago.com

काठमाडौं : गर्मी र बर्खायामसँगै रोटा भाइरस (अति सूक्ष्म जीवाणु) का कारण लाग्ने जटिल खालको झाडापखालाको उपचार नहुँदा ती शिशु र केटाकेटीको मृत्यु हुने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको छ।

जटिल खालको झाडापखाला लागेका बिरामीलाई चिकित्सकले नबुझिकनै रोग एकथरी, उपचार अर्कोथरी भनेझैं ‘एन्टिबायोटिक’ दिने गरेका कारण बिरामी केटाकेटीको मृत्यु हुने गरेको अनुसन्धानका क्रममा पाइएको हो। बंगलादेश, भारत, जापान र अफ्रिकी मुलुकमा रोटा भाइरसको उपचार हुने गरे पनि नेपालमा भने हालसम्म यसको उपचार सुरु भएको छैन। पुनर्जलीय उपचारपछि पनि निको नभएका झाडापखालाका बिरामीहरू शरीरमा पानीको मात्रा घट्दै गई मृत्युको मुखमा पुग्ने गरेका छन्।

सन् २००९ देखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रोटा भाइरस जीवाणुबारे अनुसन्धान गर्दै आएका वैज्ञानिक प्रा.डा. जीवन शेरचनले एक वर्षमुनिका शिशु तथा पाँच वर्षसम्मका केटाकेटीमा रोटा भाइरसको मात्रा धेरै भेटिएको र यसैका कारण उनीहरूको मृत्यु हुने गरेको बताए।

‘यो संसारमै दुर्लभ र नौलो भाइरस हो, देश र ठाउँअनुसार यो भाइरसको प्रकृति फरक भएकाले औषधि पनि फरक खालको चाहिन्छ,’ डा.शेरचनले भने । अनुसन्धानका क्रममा झाडापखालाबाट ज्यान  गुमाएका पाँच वर्षसम्मका केटाकेटीमा रोटा भाइरस लागेको संख्या करिब २५ देखि ४० प्रतिशत रहेको पाइएको छ । एक वर्षमुनिका नवजात शिशु तथा अन्य शिशुको संंख्या ६० देखि ७० प्रतिशत देखिएको छ।

साधारण सूक्ष्मदर्शक यन्त्रबाट नदेखिने रोटा भाइरस राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई जापानले उपलब्ध गराएको उच्चस्तरको ‘इलेक्ट्रोन सूक्ष्मदर्शक यन्त्र’बाट मात्रै देख्न सकिने पनि वैज्ञानिक शेरचनले बताए। ‘यसैबाट हामीले अनुसन्धान गरेर रोटा भाइरस पत्ता लगाएका हौं,’ उनले भने।

नेपालमा रोटा भाइरसको संक्रमण बढी देखिएपछि विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य मन्त्रालय, बाल स्वास्थ्य महाशाखाले राष्ट्रिय खोप कार्यक्रममार्फत यसै वर्ष (सन् २०१७ मा) मुलुकका पाँच वर्षमुनिका सबै केटाकेटीलाई एन्टी रोटा भाइरस खोप दिने तयारी गरेको थियो। तर खोप उत्पादन भइनसकेको हुनाले निःशुल्क खोपको काम अर्को वर्ष अर्थात् सन् २०१८ देखि मात्रै सुरु हुने बताइएको छ। यसको उत्पादन अमेरिकामा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.