|

काठमाडौं : किरात वाम्बुले राई समुदायले सातौँपटक बाँसुरी दिवस मनाएका छन्। सोमबार वाम्बुले राई समाज,नेपाल (वाम्रास) को आयोजनामा ‘किराती लोक परम्पराको निरन्तरता’ नारासहित उनीहरुले बाँसुरी दिवस मनाएका हुन्।

ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोलको वाम्रास भवनमा बाँसुरीवादक जीवन राई,संगम राई, भीमराज राई र सरोज राईले राम्दले भाकामा बाँसुरी बजाएका थिए। लोकभाका गायनमा गायिका एलिना राई, रिमी राई, सबिता राई (सामाजिक अभियन्ता), पबिता राई गाएका थिए भने मोतीलाल राई र विष्णुमाइला राईले मादल बजाएका थिए। 

कार्यक्रमका विशेष अतिथि राष्ट्रगानका रचनाकार ब्याकुल माइलाले किराती लोक परम्पराको अध्ययन,अनुसन्धान गर्दै आएको बताए। ‘ऐतिहासिक,कला संस्कृति उजागर गर्न लागिपरेका छौँ,यसमा अझै युवापुस्ता जोडिन आवश्यक छ,’उनले भने।

यस्तै,वाम्रासका केन्द्रीय अध्यक्ष गजुरधन राईले यस्ता परम्पराहरुको संरक्षणमा वाम्बुले राई समाज,नेपाल (वाम्रास) लागि परेको जानकारी दिए। ‘हामीले यी लोक परम्परा युवापुस्तामा पनि हस्तान्तरण गरिरहेका छौँ,ता की हामीले यसरी मनाउँदै आएको बासुरी दिवस लगायत ऐतिहासिक संस्कृतिको सदा संरक्षण होस,’उनले भने।

वाम्रासका केन्द्रीय उपाध्यक्ष गणेश वाम्बुले राईले बासुरी दिवसको ऐतिहासिक महत्व र थालनीबारे प्रस्तुति दिएका थिए।  वाम्रासले किराती लोक परम्परालाई संरक्षण र पुस्तान्तरण गर्नको लागि २०७४ सालबाट प्रत्येक वर्षको साउन १५ गते वासुरी दिवस तथा खिर खाने कार्यक्रम आयोजना गर्दै आएको उनले जानकारी दिए। उनका अनुसार उपत्यकामा मात्र नभई ओखलढुंगाकाे मानेभञ्ज्याङ गाउँपालिकाको मितेरी भञ्ज्याङमा पनि बासुरी दिवस मनाउँदै आएका छन्। 

‘यहाँ मात्र नभई मितेरी भञ्ज्याङमा पनि भव्यताका साथ बासुरी दिवस मनाएका छन,’उनले भने।

उनले  वाम्बुले भूगोलमा बजाइने बासुरी,मुरली,बिनायो,मादल,जस्ता बाजाहरुको संगीत विज्ञान र विधिसम्बत ढंगले प्रवद्र्धन गर्न,लोकभाकाहरुको पुस्तक प्रकाशन गर्न पनि यो कार्यक्रम आयोजना गर्दै आएको बताए। ‘हामी नै हाम्रो लोकपरम्पराको संवाहक हौँ,हामीले नयाँ पुस्तालाई लोकपरम्परालाई आकर्षित तुल्यान पनि निरन्तर बासुरी दिवस मनाउँदै आएका छौँ,यो निरन्तर रहीरहन्छ,’उनले भने।

उनका अनुसार साउन १५ गतेकै दिन यो दिवस मनाउनुको पनि कारण छ। वाम्बुले राईहरूको सामाजिक जीवनमा साउने संक्रान्तिदेखि १५ दिन प्रकृति अर्थात् भगवान गुफा बस्छन् भन्ने लोकमान्यता छ। त्यसैले होहल्ला गर्नु हुँदैन। बाजागाजा बजाउनु हुँदैन।

सुइसुला गर्नु, गीत गाउँनु हुँदैन। नङ, कपाल काट्नु हुँदैन। कपाल कोरेर भुइँमा झानु हुँदैन। किराती बाजाहरू बाँसुरी, मुरली, बिनायो, मुर्चुङ्गा, यलम्बर (टुङबाजा), पिपिरी, पुङ, ढोल, झ्याम्टा बजाउनु हुँदैन।

‘जब साउन १५ लाग्छ तब भगवान उपवास सकेर बाहिर निस्कन्छ, त्यस दिनदेखि विशेष रहरका साथ तन्नेरी युवा, वयस्कहरू नयाँ बनाएका र अघेनुमाथिको बलोमा सिउरेर राखेका पुराना बाँसुरी झिेकर पाखापर्वत, खोला शृंखला नै गुन्जायमान हुने गरी बजाउँछन्, महिलाले बिनायो बजाउँछन्, वनपाखाभरि गाई, बाख्रा चराउँदै बाँसुरी, मुरली, बिनायो खिप्ने र बजाउने चलन छ,’उनले भने। 
(याे पनि)


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.