|
फाइल तस्वीर

पर्सा : रोपाइँको गीत गुञ्जिने बेलामा पर्साका खेतमा दमकलको पानी लगाएर धान रोप्न थालिएको छ। साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको भर पर्नुपरेको हो। 

किसान चर्को मूल्य तिरेर खेतमा रोपाइँ गर्न पानीका लागि दमकल लगाएका छन्। रोपिएको धान पनि चर्को घामले सुक्ने हो कि फल्ने हो भनेर किसान चिन्तित छन्।

डिजलबाट चल्ने दमकलको भाडा प्रतिघण्टा ४ सय रुपैयाँ र बिजुलीबाट चल्नेको मूल्य प्रति घण्टा ३ सय रुपैयाँ तिर्नु परेको पोखरिया–४ का सन्तोषप्रसाद चौहानले बताए। 

गण्डक नहरमा पानी छैन। स्थानीय तहले कुलो सफा नगर्दाको मार किसानलाई परेको छ। उनीहरु दमकलको भरमा खेतमा पानी हाल्न बाध्य छन्। 

‘अकासे पानी अभावमा रोपाइँ गर्न ढिला हुँदा यस वर्ष धान उत्पादन घट्ने अवस्था छ,’ पर्साको जगतपुरका सुरेशप्रसाद पटेलले भने। 

गत वर्ष पानीको सुविधा भए पनि मल उपलब्ध नगराउँदा समस्या भएको थियो। यस वर्ष सरकारले बेलैमा मल उपलब्ध गराए पनि वर्षा नहुँदा पनि किसानलाई धान रोप्नै कठिन भएको छ। 

पर्सामा साउनको दोस्रो साता बित्दा पनि ५० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए। ग्रामीण भेगमा वर्षा नभएकाले रोपाइँ गर्न ढिला भएको र उत्पादनमा कमी आउने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.