|

काठमाडौं : कलाकार हरिवंश आचार्यले आफ्नो शब्द, स्वर र सङ्गीतमा तयार गरेको ‘ए केटा मादलु पड्का’ गीत सार्वजनिक गरेका छन्। 

अडियोसँगै भिडियो तयार गरेर सार्वजनिक गरिएको गीत गायनमा हास्य कलाकार आचार्यलाई शान्तीश्री परियारले साथ दिएकी छन्। 

चितवनको एउटा जमघटमा फुरेको लयलाई गीतको रूपमा दिएको कलाकार आचार्यले जानकारी दिए। 

उनले भने, ‘मान्छेहरू गीत गाउँदै नाचिरहेको देखेँ। त्यही बेला अचानक मेरो दिमागमा एउटा लय फुर्‍यो। हत्तपत्त कोठामा गएँ। मोबाइलमा रेकर्ड गरेँ। लयसँगै शब्द पनि आयो– ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का।’ 

यसरी फुरेको लय अरुलाई सुनाएपछि पाएको सल्लाहअनुसार नै गीत तयार गरिएको उनले बताए। 

‘यो विशुद्ध नाच्न मन लाग्ने गीत हो। यसमा नाच्ने गाउने मान्छेले आफ्नो पेशाप्रति गर्व गरेको शब्द छ। सांस्कृतिक कार्यक्रम, बिहे व्रतबन्धलगायत समारोहतिर बढी घन्किन्छ,’ कलाकार आचार्यले भने। 

तयार भएको गीतको भिडियोमा चुनावमा हुने विकृतिमाथि भने व्यङ्ग्य गरिएको छ। भिडियोमा कलाकार आचार्यलाई अभिनयमा अभिनेत्री प्रियङ्का कार्की र सरोज ओलीले साथ दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.