|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनलगत्तै नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका ७७ वटै जिल्ला तथा मातहतका प्रहरी युनिटलाई विपद् व्यवस्थापन, खोज तथा उद्धारलगायत कार्यमा चुस्तरुपमा लाग्न सर्कुलर पठाएको छ। 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बिहान प्रधानमन्त्रीबाट निर्देशन आए लगत्तै मातहतका सबै युनिटहरुमा सर्कुलर जारी गरेको जानकारी दिए। उनका अनुसार विभिन्न जिल्लामा बाढीपहिरोले धनजनको क्षति भएको र केही मानिस बेपत्ता भएको जानकारी आएको बताउँदै प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा प्रहरी टोली सक्रियताका साथ लागिरहेको छ।

“खोज तथा उद्धारलगायतका विपद् व्यवस्थापनमा कुनै कमी हुन नदिन र नागरिकको जीउज्यान जोगाउने कार्यलाई पहिलो प्राथमिकतामा राख्न भनेर मातहतका प्रहरी कार्यालयमा सर्कुलर पठाइसकेका छौँ, घटनास्थलमा खोजी तथा उद्धार जारी छ, सावधानी, सचेतनाका विषयमा पनि सचेत गराइएको छ”, महानिरीक्षक कुँवरले भने।

आज बिहान प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक कुँवरलाई वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति सचेत हुँदै विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका थिए। उनले खोज, उद्धार, राहत र पुनःस्थापनाका काममा सक्रिय हुन पनि निर्देशन दिएका थिए।

गृह मन्त्रालयका अनुसार मकवानपुरलगायत केही जिल्लामा मानवीय क्षति भएको छ। मकवानपुरमा एक जनाको मृत्यु र छ बेपत्ता भएका छन्। पहिलो प्राथमिकता मानवीय सुरक्षा रहेको जनाउँदै गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले क्षतिको विवरण आइनसकेको बताए। अहिले उद्धारमै सबैको ध्यान रहेको उनको भनाइ छ।

अन्य धेरै जिल्लाका नागरिकलाई वर्षाले प्रभावित बनाएको छ। बिहान काठमाडौँ उपत्यका सहितका क्षेत्रमा डुवानको समस्या पनि देखिएको थियो। पहिरोका कारण नारायणगढ–मुग्लिन सडक, कालीगण्डकी कोरिडोर, मध्यपहाडी राजमार्ग, कान्ति लोकथप, मदनभण्डारी मार्गलगायत धेरै राजमार्गमा सवारीसाधन आवागमन प्रभावित भएको छ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.