|

काठमाडौं : पुराना पार्टीहरूको विकल्पको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफूलाई पृथक पार्टीको रूपमा उभ्याउने बताउँदै आएको छ। 

गठन भएको छोटो समयमै २१ स्थानमा संघीय निर्वाचन जित्दै संसद्‌मा बलियो उपस्थिति देखाउन सफल रास्वपामा पुरानै पार्टीहरूको जस्तो विकृति देखिन थालेको छ। आफूलाई पम्परागत पार्टीभन्दा फरक बनाउने बताएको र पुराना पार्टीबाट दिक्क भएका जनताबाट आक्रोशको मत पाएको रास्वपा पनि पुरानै पार्टीहरूको लयमा देखिएको हो। 

पुराना ठूला भनिएका दलहरूमा नेतृत्वले पार्टीमा आफूअनुकूल नीति नियम संशोधन गर्ने र मापदण्ड बनाउँदै आएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूअनुकूल बनाउन  पार्टीको विधान नै संशोधन गर्ने तयारी गरेका छन्। 

चितवनमा २०७८ मंसिर ११ देखि १८ सम्म भएको १० औँ राष्ट्रिय महाधिवेशनमा ओली ७० वर्ष लागेकाले मात्रै भएकाले चुनाव लड्न पाएका थिए। उनी अहिले ७२ वर्षका भए। अब पार्टीको विधान नै फेरेर उनी फेरि अर्को पटक पनि अध्यक्ष बन्नेतिर लागेका छन्। 

यो एउटा उदाहरण मात्रै हो, अरू पुराना पार्टी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा पनि पार्टीको नेतृत्वलाई अनुकूल हुने गरी पार्टीको विधान संशोधन गर्नेदेखि मापदण्ड बनाउने गरिएको छ। 

तिनै पार्टीको विकल्पको रूपमा फरक ढंगले उदाएको रास्वपाले पनि नेतृत्वलाई अनुकूल हुने गरी पार्टीको मापदण्ड बनाएको छ। रास्वपाले केन्द्रीय विभागको प्रमुख, पदाधिकारी र सदस्य हुन मापदण्ड तयार पारेको छ।

रास्वपाले केन्द्रीय विभागको पदाधिकारी, सदस्य र प्रदेश विभागका प्रमुख हुन कम्तिमा स्नातकोत्तर गरेको हुनुपर्ने वा दश वर्ष सम्बन्धित विषयको अनुभव भएको अथवा सम्बन्धित विषयमा असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड तय गरेको छ। 

रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार प्रदेश समितिका पदाधिकारी र सदस्यका लागि स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड बनाइएको छ। त्यसैगरी स्नातक उत्तीर्ण नभए सम्बन्धित विभागअनुसारको क्षेत्रमा ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने मापदण्ड रास्वपाको निर्णयमा उल्लेख छ।

पार्टीको पालिका विभाग प्रमुखका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण वा विभागअनुसारको क्षेत्रमा दुई वर्षे अनुभव वा असाधारण क्षमता हुनुपर्ने मापदण्ड बनाइएको कार्कीको भनाइ छ। 

सभापति र उपसभापति अनुकूल मापदण्ड

आफूलाई फरक स्वरूपमा उभ्याउन रास्वपाले मापदण्ड बनाएको देखिए पनि उक्त मापदण्ड पार्टीका सभापति रवि लामिछाने र केही निश्चित व्यक्तिअनुकूल हुने गरी बनाएको देखिन्छ। रास्वपाले पार्टीको केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश विभागको प्रमुख हुन कम्तिमा पनि स्नातकोत्तर गरेको हुनुपर्ने व्यवस्था गरेको छ। 

पार्टी सभापति लामिछानेले नै प्रवीणता प्रमाणपत्र अर्थात् दश जोड दुईसम्म मात्रै अध्ययन गरेका छन्। त्यसैगरी पार्टी उपसभापति डोलप्रसाद अर्यालले पनि दश जोड दुईसम्म मात्रै अध्ययन गरेका छन्। 

प्रवीणता प्रमाणपत्र तहसम्म मात्रै अध्ययन गरेको व्यक्तिले पार्टीको नेतृत्व गरिरहँदा विभागको नेतृत्व गर्न स्नातकोत्तरको मापदण्ड राखेको भन्दै आलोचना समेत भएको थियो। केन्द्रीय विभागका पदाधिकारी वा सदस्य हुनै स्नातकोत्तर पास गर्नुपर्ने नियम राखेको रास्वपाले अध्ययनको मापदण्ड सभापति लामिछाने र उपसभापति अर्याललाई नै नमिल्ने भएपछि अरू दुईवटा विकल्पको रूपमा मापदण्ड बनाएको छ। 

स्नातकोत्तरको विकल्पका रूपमा दश वर्ष सम्बन्धित विषयको अनुभव भएको अथवा सम्बन्धित विषयमा असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड राखिएको हो। दश वर्ष सम्बन्धित विषयको अनुभव भएको मापदण्ड पनि सभापति लामिछानेलाई उपयुक्त नभएपछि रास्वपाले लामिछानेलाई असाधारण उपलब्धि हासिल गरेको व्यक्तिको रूपमा व्याख्या गरेको छ। 

केन्द्रीय सदस्य कार्की जनताबाट निर्वाचित भएर प्रतिनिधिसभा सदस्य बन्नु नै लामिछाने र अर्यालको असाधारण उपलब्धि रहेको बताउँछन्। ‘प्रतिनिधिसभामा निर्वाचित हुनु भनेको नै असाधारण उपलब्धि हासिल गर्नु हो। त्यसैले पार्टी सभापति लामिछानेले पार्टीको केन्द्रीय विभागको पनि नेतृत्व गर्न सक्नुहुन्छ’, उनले भने।

कार्कीका अनुसार हालसम्म पार्टी सभापति लामिछानेले कुनै पनि विभागको जिम्मेवारी नसम्हाले पनि उपसभापति अर्याल भने प्रवास नेपाली सम्पर्क विभाग प्रमुख छन्। म्यानपावर व्यवसायी समेत रहेका अर्याललाई रास्वपाले सोही अनुभवको आधारमा विभागको जिम्मेवारी दिएको बताएको छ।

रास्वपाको समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका उनले पार्टी सरकारमा जाँदा श्रममन्त्रीको जिम्मेवारी समेत पाएका थिए। म्यानपावर व्यवसायीलाई स्वार्थ बाझिने मन्त्रालयको मन्त्री बनाएको भन्दै सार्वजनिक रूपमा चर्को आलोचना समेत भएको थियो। 

कुन विभागको जिम्मेवारी कसलाई ?

रास्वपाले ३६ वटा पार्टी विभाग गठन गरेको छ। रास्वपाले २१ सांसदमध्ये १२ जनालाई १७ विभागको जिम्मेवारी दिएको छ। दुईवटा विभागीय जिम्मेवारी पाउनेमा पार्टी प्रवक्ता मुकुल ढकाल,सुमना श्रेष्ठ, शिशिर खनाल, डा.तोसिमा कार्की र अशोककुमार चौधरी छन्।  

यस्तै रास्वपामा ३९ जना केन्द्रीय सदस्यमध्ये १८ जनाले विभागीय जिम्मेवारी सम्हाल्छन्। विभागीय नेतृत्व सम्हालेका डोलप्रसाद‚ सुमना, गणेश र सोविता गौतम सांसद तथा पार्टी केन्द्रीय सदस्य पनि छन्। 

रास्वपाले मानवीय विकास प्रवर्द्धन विभाग प्रमुख कुसुम महर्जन, आइटी संयोजन विभाग प्रमुख विष्णुकुमार श्रेष्ठ, उत्पादन प्रवर्द्धन विभाग प्रमुख रामकृष्ण भट्टराई, नेतृत्व क्षमता तथा मानव संसाधन विकास विभाग प्रमुख इन्जिनिर खुस्बु सरकार श्रेष्ठ, जनसम्पर्क विभाग प्रमुख दीपक बोहरा, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग प्रमुख हरि ढकाल, आर्थिक व्यवस्थापन विभाग प्रमुख मास्टर लिमा अधिकारी, विधेयक मन्थन विभाग प्रमुख मास्टर गणेश कार्की, गैर-आवासीय नेपाली सम्पर्क विभाग प्रमुख अर्जुन अधिकारी, कृषि र सहकारी विभाग प्रमुख अशोककुमार चौधरी र मुद्रा तथा पुँजी बजार विभाग प्रमुख मास्टर विराजभक्त श्रेष्ठलाई तोकेको छ। 

यसैगरी उद्योग तथा वाणिज्य विभाग प्रमुख गणेश पराजुली, श्रम तथा उपभोक्ता हित विभाग प्रमुख असीम साह, यातायात विभाग प्रमुख शिव नेपाली, पूर्वाधार  विकास अनुगमन विभाग प्रमुख निशा डाँगी, वन वातावरण तथा प्रकृति स्रोत विभाग प्रमुख विनिता कठायत र महिला तथा सामाजिक विकास प्रमुख लक्ष्मी तिवारीलाई तोकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.