झण्डै ५७ लाख नक्कली नोट बरामद, ९ जना पक्राउ

|

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका २ नागढुंगा चेक प्वाइन्टमा बिहीबार प्रहरी सवारी साधन चेकजाँच गर्दै थियो। बिहान १० बजेको समयमा लुम्बिनीबाट काठमाडौं हिँडेको लु १ प ५ नम्बरको पर्यटक बस आइपुग्यो। 

चेक गर्ने क्रममा प्रहरीले बसभित्र एउटा कार्टुन फेला पार्यो। बसको सामान राख्ने डिक्कीमा र्‍याप गरी राखिएको चाउचाउको कार्टुन देखेपछि प्रहरीलाई शंका लाग्यो।

प्रहरीले बस चालकलाई सोध्यो, ‘यो कार्टुनमा के छ?’ चालकले जवाफ दिए, ‘लुम्बिनी बसपार्कबाट एक जना मान्छेले अचार हो, काठमाडौं बसपार्कमा मेरो मान्छे लिन आउँछ भनि पठाएको सामान हो।’

त्यसपछि प्रहरीले बाक्सा खोलेर हेर्‍यो तर त्यहाँ अचार नभएर हजार हजारका नोटको गड्डी फेला पर्‍यो । ३५ गड्डीमा नक्कलीजस्तो देखिने ३ हजार ५ सय ७३ थान हजारका नोट अर्थात् ३५ लाख ७३ हजार रूपैयाँ भएको पाइयो। 

त्यसपछि प्रहरीले चालक र सहचालकलाई साथमा लिएर गोंगवु बसपार्क पुग्यो र सामान लिन आउने व्यक्तिलाई पक्राउ गरी भक्तपुरको चाँगुनारायण पुग्यो।

चाँगुनारायाण नगरपालिका ४ बुढाथोकी गाउँमा नक्कली नोटको कारखाना नै फेला पर्‍यो। त्यहाँ पनि १९ गड्डीमा १७ लाख २ हजार नक्कली नोट बरामद भयो। 

त्यहाँबाट पेपर काट्ने मेशिन, कलर प्रिन्टर, प्रिन्ट पेपर रिम, कलर केमिकललगायत पैसा जस्तो देखाउन आवश्यक पर्ने विभिन्न रङहरू पनि बरामद गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए। 

यो प्रकरणमा ९ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। जसमध्ये सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ का ४० वर्षीय अर्जुन सुवेदी छन्।

उनीविरुद्ध २०६२ सालदेखि हालसम्म विभिन्न समयमा चोरी, ठगी, बैंकिङ कसुरलगायतमा मुद्दा चलिरहेको प्रहरीको भनाइ छ। पक्राउ परेका अन्यमा सिन्धुपाल्चोककै २५ वर्षीय सुशील कार्की, २३ वर्षीय शिव भण्डारी, २३ वर्षकै मिलन भण्डारी, २४ वर्षका श्रीकृष्ण भण्डारी, झापाका २९ वर्षीय युवराज राई, अछामका २१ वर्षीय अर्जुन बुढा, गुल्मीका ३४ वर्षीय सागर आचार्य र नवलपरासीकी ५३ वर्षीया पार्वती नेपाली रहेका छन्। 

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ को मुद्रासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको  प्रहरी उपरीक्षक ढुंगेलले बताए। उनीहरुलाई ५ देखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रूपैयाँसम्म जरिवाना हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.