|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करीको विषयमा छानबिन समिति गठन गर्न माग गर्दा बोल्न नदिएको आरोप लगाएका छन्। 

शनिबार गुरू लुइँटेल स्मृति प्रतिष्ठानको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले  संसदमा सुन तस्करीको विषयमा समिति गठन गर्न माग गर्दा सत्ता पक्षले अवरोध गरेको बताएका हुन्। 

‘सरकारले छानबिन गर्न मात्रै नदिएको होइन। प्रतिपक्षले उठेर सुन तस्करीको छानबिन भन्ने वित्तिकै सत्ता पक्ष जुरूक्क उठेर हाहु...हाहु गर्छ। केही सुन्न पाइँदैन। भन्न, बोल्न पाइँदैन। सत्तापक्षले मात्रै बोल्न पाउँछ। विपक्षीले सुनकाण्डको कुरा गर्ने? भन्छ।

आफ्ना पत्रपत्रिकामार्फत सत्ता पक्षले संसद चल्न दिएन भन्नुहुन्छ। चलाउनुन संसद। संसदको समय खेर फाल्नु हुन्न। तर, चोर, सुन तस्कर उम्काउन पनि भएन। सत्तापक्षले संसद अवरूद्ध गरिरहेको छ,’ उनले भने। 

अध्यक्ष ओलीले निष्पक्ष छानिबनको माग गर्दा सरकारले अस्वीकार गरेको बताएका छन्।  उनले २२ क्विन्टल सुन विमानस्थलबाट भित्रिएको विषयमा सरकारले छानबिन गर्न बेवास्था गरेकोसमेत आरोप लगाए। 

‘उहाँहरू निष्पक्ष छानबिन समिति बनाउन मान्नुहुन्न। हामी छानबिन गरिहाल्छौँ नि भनेर...। ए बाबा तपाईहरूले छानबिन किन गर्नुपर्‍याे? एयरपोर्टमा किन छानबिन गर्नुभएन। सियो छिर्दैन। २२ क्विन्टल सुन कसरी छिरो? त्यहाँ छानबिन गर्ने ठाउँमा गर्नुहुन्न अहिले छानबिन गर्ने भन्नुहुन्छ। निष्पक्ष छानबिन गरौँ, आयोग बनाऔँ। त्यसलाई दिउँ न। त्यसले नभएको कुरा ल्याउँदैन होला! किन आफैं गर्छों भन्नुहुन्छ? यसको रहस्य गम्भीर छ,’ उनले भने। 

अध्यक्ष ओलीले तस्करीको विषयमा आवाज उठाउने सांसदहरूलाई सरकारले पक्राउ गरेर दुःख दिएको उनको भनाइ छ। अध्यक्ष अ‍ोलीले नेपाली कांग्रेसका सांसद सुनील शर्माको नक्कली सर्टिफिकेटको विषयमा पक्राउ गरेर गृहमन्त्रीले ज्यादती गरेको समेत बताए। 

‘त्यहाँ तस्करीको विरूद्धमा कोही बोल्छ भने कसरी पाएको सर्टिफिकेट? चिट चोरेर पाएको सर्टिफिकेट भन्छ। सुनील शर्माको सर्टिफिकेट यदि नक्कली हो भने अविलम्ब यो प्रक्रिया टुंग्याएर कारबाही गर्नुस्। यस्तो ज्यादती गरेर कुनै गृहमन्त्री अफ्ठ्यारो, लाज-शरम नमानी सांसदहरूलाई डाँट्छन्। सांसदहरूलाई हतकडी लगाएर नक्कली सर्टिफिकट भनेको के हो? भन्छ,’ उनले भने।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.