|

काठमाडौ : राज्यले शिक्षा क्षेत्रमा ल्याउनुपर्ने विभिन्न ऐनको माग गर्दै ८ वटा विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्।

बुधबार माइतीघर मण्डलामा शिक्षामा भइरहेको निजीकरण र व्यापारीकरण, नेपाली विद्यार्थी आन्दोलनको मर्म र भावनाविपरीत भएको, नागरिकको नैसर्गिक अधिकारविपरीत भएको र शिक्षाको पूर्ण दायित्व राज्यले वहन गर्ने गरी शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गर्ने समग्र शिक्षा ऐन ल्याउन माग गर्दै प्रदर्शन गरेका हुन्।

विश्वविद्यालयमा राजनीतिक भागबण्डाको अन्त्य गर्दै कुलपतिदेखि क्याम्पस प्रमुख, क्याम्पसका पदाधिकारीसम्म खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्ति गर्ने प्रावधानसहित शिक्षित जनशक्ति बेरोजगार हुने समस्याको समाधान दिने गरी विश्वविद्यालय ऐन ल्याउन साथै विश्वविद्यालयको शैक्षिक क्यालेन्डरको एकरुपता अनिवार्य कार्यान्वयनको मागसमेत गरेका छन्।

भदौ १ गतेदेखि ४ गतेसम्म देशैभरका स्थानीय तह, प्रदेश र संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने, भदौ ६ गते शैक्षिक पत्रकारहरुसँग भेटघाट अन्तरक्रिया गरि ८ गते विज्ञ र सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको विद्यार्थी संगठनले बताएका छन्।

उनीहरुले प्रदर्शनका क्रममा शिक्षामा निजीकरण अन्त्यसहितको शिक्षा ऐन जारी गर, विश्वविद्यालयमा दलीय भागबन्डाको अन्त्य गर, खुल्ला प्रतिस्पर्धाको आधारमा कुलपतिदेखि क्याम्पस प्रमुखसम्म नियुक्ति गर, शैक्षिक क्यालेन्डर लागू गर जस्ता नारा लगाएका थिए।

प्रदर्शनमा ८ विद्यार्थी संगठनका (अखिल क्रान्तिकारी, नेपाल समाजवादी विद्यार्थी युनियन, अखिल पाँचौं, अनेरास्ववियु क्रान्तिकारी, विद्यार्थी जनमत संघ, अखिल नेपाल विद्यार्थी युनियन, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन) का विद्यार्थीहरु सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.