|

न्यूयोर्क : चीनको अर्थतन्त्र संकटमा छ। कुल गार्हस्थ उत्पादन मन्द छ, निर्यात ओरालो लाग्दो छ, कलकारखानाको उत्पादन घट्दो छ।

चीनमा विदेशी लगानी घट्दो छ। योसँगै विदेशी कम्पनीहरू बाहिरिने हतारमा छन्। बेरोजगारी चरम सीमामा छ, उपभोग घट्दो छ र घरजग्गाको कारोवार ठप्प छ। हुँदाहुँदै यस्तो अवस्था बनेको छ- चीन सरकारले बेरोजगारी तथ्यांक समेत सार्वजनिक गर्न बन्द गरेको छ।

व्यापार नीतिदेखि प्रविधिका क्षेत्रसम्म अमेरिका र चीनबीचको तनाव दैनिक बढ्दो छ। यस्तो द्वन्द्व बढे पनि चीनको खस्कँदो हालतसँगै अमेरिकामा चिन्ता बढेको छ। चीनमा देखिएको यो अप्ठेरो अवस्थाले अमेरिकामा त्रास फैलिएको छ।

गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडनले चीनको उन्नत प्रविधि सम्बन्धी उद्योगहरूमा अमेरिकी लगानी सीमित गरे। यसले व्यवस्थापकहरूलाई चीनमा कसरी लगानी गर्ने भन्ने चिन्ता बढेको छ। साथै अमेरिकाको एक संसदीय समितिले ब्ल्याकरक र एमएससीआईले चीनमा प्रतिबन्धित कम्पनीहरूमा लगानी गरिरहेका छन् कि छैनन् भनेर छानबिन गरिरहेको छ।

ब्ल्याकरक संसारको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन कम्पनी हो। एमएससीआई सूचकांक कोष प्रदान गर्ने सबैभन्दा ठूलो मध्ये एक कम्पनी हो। अमेरिकाका लागि चीनको महत्त्व के हो भन्ने प्रश्न उठ्छ।

विश्वको कारखाना ठप्प

दुई दशकभन्दा बढी समयसम्म चीन विश्वको कारखाना बनेको थियो। अमेरिकालगायत विश्वभरका कम्पनीहरूले चीनमा सस्तोमा सामान उत्पादन गरेर विश्वभर बेचेर टन्नै पैसा कमाए।

चीनको अर्थतन्त्रमा मन्दी आयो भने त्यसले सम्पूर्ण विश्वलाई असर गर्नेछ। यदि यस्तो भयो भने यसले अमेरिकी कम्पनीहरूको शेयरलाई पनि असर गर्नेछ। धेरै अमेरिकी कम्पनीहरूले चीनमा ठूलो लगानी गरेका छन्। साथै कैयौँ कम्पनीहरूका लागि चीन सबैभन्दा ठूलो बजार हो।

चीनमा सानो परिमाणमा व्यापार गर्ने अमेरिकी कम्पनीहरू पनि चीनको अवस्थालाई लिएर चिन्तित छन्। उदाहरणका लागि एक्सोन मोबिलको चीनमा धेरै व्यापार छैन तर चीनको आर्थिक वृद्धि सुस्त भयो भने तेलको माग घट्नेछ। त्यसको प्रभाव विस्तारै देखिन थालेको छ।

चीनको खस्कँदो अवस्था आएको खबरका कारण तेलको मूल्य घट्न थालेको छ। यापल, इन्टेल, फोर्ड र टेस्ला जस्ता कम्पनीहरूले चीनमा ठूला एकाइ स्थापना गरेका छन्। त्यस्तै, स्टारबक्स र नाइकी जस्ता कम्पनीहरू चिनियाँ ग्राहकमा निर्भर छन्।

चीनमा घट्दो लगानी

यो वर्षको हिउँदमा बैंक अफ अमेरिकाले चीनमा सबैभन्दा बढी जोखिम भएका शीर्ष कम्पनीहरूको सूची बनाएको थियो। यो सूचीमा लस भेगास स्यान्ड्स पहिलो क्रममा छ। यस क्यासिनो कम्पनीको ६८ प्रतिशत राजस्व चीनबाट आउँछ। पछिल्लो एक महिनामा कम्पनीको शेयर करिब १० प्रतिशतले घटेको छ।

त्यसैगरी सेमीकन्डक्टर निर्माता क्वालकमको ६७ प्रतिशत चीनमा जोखिममा छ। पछिल्लो एक महिनामा कम्पनीको शेयर करिब ११ प्रतिशतले घटेको छ। त्यसैगरी एनभिडिया, विन रिसोर्ट्स र एमजीएम रिसोर्ट्सको लगानी पनि चीनमा निकै जोखिममा छ।

चीनमा अमेरिकी निजी इक्विटी र उद्यम पुँजी लगानी आठ वर्षको न्यून स्तरमा पुगेको छ र निरन्तर घट्दो छ। त्यसैगरी अमेरिका र पश्चिमी देशका धेरै कम्पनीले चीनमा आफ्नो व्यापार घटाउँदै लगेका छन्। यो हुनुका पछाडि कोरोनाकालमा चीनबाट आपूर्ति अवरुद्ध भएर पनि हो। यसैबीच पश्चिमी देशहरूले चीनमाथिको आफ्नो निर्भरता घटाउँदै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.