|

काठमाडौं : प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी)को प्रि–डिप्लोमा विदेशमा पढ्ने र नेपाल आएर समकक्षता प्रमाणीकरण गर्ने नेपाली विद्यार्थीको संख्या ह्वात्तै बढेको छ। सीटीईभीटीको तथ्यांकले पछिल्लो समय विद्यार्थीहरू विदेशमै अध्ययन गर्ने  रुचि रहेको देखाएको हो।

सीटीईभीटीको ९ वर्षको तथ्यांक हेर्दा १३ देश (कम्बोडिया, क्यानडा, बेलायत,अष्ट्रेलिया, बहराइन‚ चीन, साइप्रस‚ भारत, जापान, मलेसिया‚ फिलिपिन्स र सिंगापुर) मा अध्ययन गरी ४ हजार ९८४ जनाले समकक्षता लिएका छन्।

कुन देशबाट कति जनाले लिए समकक्षता ?

सीटीईभीटीको तथ्यांकअनुसार आव २०७१।०७२ सालमा फिलिपिन्समा अध्ययन गरी १ जना नेपालीले प्रि-डिप्लोमा अध्ययन गरेर समकक्षता लिएका छन्। आव २०७२।०७३ मा कम्बोडियाबाट १ जना, बेलायतबाट १ जना,अष्ट्रेलियाबाट ३ जना र मलेसियाबाट ३ जनाले अध्ययन गरी समकक्षता लिएका छन्।

आव २०७३।०७४ मा जापानबाट १ जना र सिंगापुरमा अध्ययन गरी १ जनाले समकक्षता लिएका छन्। यसैगरी २०७४।०७५ मा बेलायतबाट एकजनाले अध्ययन गरी समकक्षता लिएका छन्। आव २०७५।०७६ मा कम्बोडियामा १ जना, बेलायतबाट १ जना, जापानबाट १ जना, मलेसियाबाट २ जना र सिंगापुरबाट अध्ययन गरी ४ जनाले समकक्षता लिएका छन्।

२०७६।०७७ मा क्यानडाबाट १ जना, मलेसियाबाट ७ जना, फिलिपिन्सबाट १ जना र सिंगापुरबाट ५ जनाले अध्ययन गरी समकक्षता लिएका छन्। आव २०७७।०७८ मा मलेसियामा ६ जना र सिंगापुरमा ३ जनाले अध्ययन गरी समकक्षता लिए।

आव २०७८।०७९ मा अष्ट्रेलियाबाट १ जना,साइप्रसबाट १ जना, मलेसियाबाट ३ जना र सिंगापुरबाट २२ जनाले अध्ययन गरी समकक्षता लिएका छन्। आव २०७९।०८० मा बहराइनबाट १ जना, चीनबाट ६ जना, साइप्रसबाट २ जना, मलेसियाबाट ३ जना र सिंगापुरबाट १४ जनाले प्रि-डिप्लोमा अध्ययन गरी सीटीईभीटीबाट समकक्षता लिएका छन्।

सबैभन्दा बढी भारतमा अध्ययन गरेकाले लिए समकक्षता 

भारतमा अध्ययन गरी ४ हजार ८८५ जना विद्यार्थीहरूले समकक्षता लिएको तथ्यांकमा उल्लेख छ। जसमध्ये सीटीईभीटीको तथ्यांकअनुसार आव २०७१।०७२ सालमा भारतमा अध्ययन गरी १२ जना, आव २०७२।०७३ मा १७ जना, आव २०७३।०७४ मा ११७ जना, २०७४।०७५ मा ३५९ जना विद्यार्थीले समकक्षता लिएका छन्।​

यसैगरी आव २०७५।०७६ मा भारतमा ६४१ जना, २०७६।०७७ मा ४७६ जना, २०७७।०७८ मा ५२० जनाले अध्ययन गरी समकक्षता लिएका छन्। आव २०७८।०७९ बाट भने समकक्षता लिनेको संख्या ह्वात्तै बढेको छ। उक्त वर्षमा भारतमा १ हजार २८८ जनाले प्रि-डिप्लोमा अध्ययन गरी समकक्षता लिएका छन्।

आव २०७९।०८० मा भने  भारतबाट १ हजार ४५५ जनाले प्रि-डिप्लोमा अध्ययन गरी समकक्षता लिएका छन्। समकक्षता लिएकामध्ये दोस्रोमा सिंगापुर देश रहेको छ। ९ वर्षको अवधिमा उक्त देशमा  ४९ जनाले अध्ययन गरी समकक्षता लिएका छन्।

‘नेपालमा दक्ष प्राविधिक जनशक्ति नहुँदा विदेश पढ्न गए’

नेपालमा दक्ष प्राविधिक जनशक्ति अभाव, भौतिक पूर्वाधार अभाव, राज्यको कम लगानी लगायत कारणले पछिल्लो समय विदेशमा पढ्न जाने विद्यार्थीहरूको संख्या बढ्दै गएको सीटीईभीटीकै कर्मचारी बताउँछन्।

‘नेपालमा राज्यले लगानी गर्न सकेको छैन, प्राविधिक शिक्षालाई ओझेलमा पारेको छ। यहाँ पढे पनि रोजगारीको अवसर छैन। गुणस्तरीय शिक्षा छैन, त्यही भएर विद्यार्थीहरू बढी नेपालमा भन्दा भारतलगायत अन्य देशमा पढ्न रुचाएको पाइन्छ’, सीटीईभीटीका एक कर्मचारीले भने।

ती कर्मचारीका अनुसार विदेशमा प्राविधिक शिक्षासँगै पर्याप्त भौतिक पूर्वाधार भएका कारणले पनि व्यवहारिक रूपमै सिक्न पाउँछन्। विदेशमा अध्ययन गरे जहाँ पनि मान्यता दिन्छन् भन्ने भान पनि विद्यार्थीहरूमा छ। 

सीटीईभीटीका प्रवक्ता भुवनेश्वर ढुंगाना किन पछिल्लो समय विदेशमा प्राविधिक शिक्षा पढ्नेहरूको संख्या बढिरहेको छ भन्नेमा सरकारले सोच्नै पर्ने वेला आएको बताउँछन्।

उनले भने, ‘यहाँ पनि गुणस्तरीय प्राविधिक शिक्षा दिने इन्जिनियरिङ कलेजहरू छन्। भारतमा पनि सबै सबै ठाउँले विश्वसनीय प्राविधिक शिक्षा त प्रदान नगर्ला तर पनि विदेशमै गएर पढ्नेको संख्या बढ्दो छ। यसप्रति राज्यले सोच्नुपर्ने वेला आयो।’

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले  स्वदेश तथा विदेशमा अध्ययन गरी प्राप्त गरेको प्रि-डिप्लोमा तथा डिप्लोमा र प्रमाणपत्र तहको प्राविधिक विषयको समकक्षता अनिवार्य अनलाइन फाराम भर्नुपर्ने व्यवस्था गरेको छ।

सूचना अनुसार भदौ १ गतेदेखि अनलाइन फाराम भरी तोकिए बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र समकक्षता सम्बन्धी अन्य सेवा प्रदान गरिनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.