काठमाडौं : कविता लेख्न र पढ्न रुचि भएर पनि अनायासै गीत संगीतमा जमेका गीतकार एवं संगीतकार राजेन्द्र शाह ‘बिपी’ले भुइँमान्छेका जीवन गीतमा उतारेका छन्। सेती, काली–कर्णालीको मर्म समेटेर एक हजारभन्दा धेरै देउडा गीत संकलन एवं रचना र संगीत भरेका उनीसँग गरेको कुराकानीको सम्पादित अंश :
जन्म ठाउँ, ठेगाना?
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला, बुढीगंगा नगरपालिका-४ ओलिसीन। विशेष काम परे काठमाडौं आउँछु, जम्मै कामले काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ, संघीयताले केही सजिलो छ।
तपाईं व्यावसायिक कलाकार, कि होइन?
पहिले कविता लेख्ने गरेको थिएँ‘ ऐँठित व्यथा’ भन्ने मैले कविताको पुस्तक पनि छपाएको छु, तर विस्तारै गीतमै रमाऐँ।
मेरा गीतले खान, लाउन, हिँड्न व्यावहारिक र व्यक्तिगत खर्च सबै पुर्याएको छ। मलाई गीत लेखन र संगीतको कामले पैसा कमाउँला भन्ने छैन। तै, मैले थाहै नपाई मेरो काम व्यावसायिक भएछ।
अचेल देउडा गीत सुन्ने श्रोताको संख्या थपिएको हो?
‘१२ वर्षमा खोलो पनि फर्किन्छ’ ! भनेको झैँ देउडा गीत सुन्नेको संख्या बढ्दै गको छ। देउडा, के होला!? भन्नेहरूलाई मोहनी लगाएको छ। अरू भाकाको धेरै प्रयोग भयो तर देउडा गीत पछि मात्रै आएकोले प्रत्येक टोल–टोल, दरा–दरा, गाउँ–गाउँमा मौलिक र फरक भाका छन्।
गीत चाहिँ गाउनुभएन?
मेरो मान्यता राम्रैसँग जानेको काम गर्ने, अलिअलि जानेको काम नगर्ने। आदरणीय भोजराज भट्ट, हर्क कडायत, महेश औजी, प्रकाश थापा, भुवन दाहाल, टेक बोगटीहरुको जस्तो मेरो स्वर मिठो छैन। जति राम्रो गीत लेख्न सक्छ, गाउन सक्दिनँ। धेरैले गाऊ भन्छन् तर गाएको छैन।
तपाईं राजनीतिमा पनि हो?
नेपाली कांग्रेसको बाजुरा जिल्लाको कार्यसमिति सदस्य भएर काम गरेको थिएँ अहिले साधारण सदस्य छु। धेरैवटा सामाजिक र सांस्कृतिक संस्थाको पनि सदस्य छु।
देउडाको लवज धेरै प्रयोग भो, मर्म बिगारे भन्छन् नि?
चलचित्र, टेलिचलचित्र र अन्य गीतमा पनि देउडाको प्रयोग बढेको छ तर सभ्यताको अपमान हुनेगरी भयो। गत वर्ष हामीले आवाज उठायौँ। जानेर गर्नु नजाने नगर्नु। आशा छ विस्तारै सुधार हुँदै जाला। व्यङ्ग्यको रूपमा उताको शब्द राख्दैमा देउडा हुँदैन।
औपचारीक गीतियात्रा कहिलेबाट हो?
पहिलो गीत २०५६ सालमा दोहोरी रेकर्ड गराएको तर मेरो दोस्रो एल्बम देउडा गीतको ‘सिरु’ २०५७ सालमा आएको हो। त्यसपछि मैले देउडाको मात्र एल्बम निकालेँ।
एक हजारभन्दा धेरै देउडा गीत लेखेर विभिन्न कलाकारका स्वरमा रेकर्ड गराएको छु। मेरा ९० प्रतिशत सिर्जना देउडा गीतका छन्।
शब्दमा ‘डेउडा’ कि ‘देउडा’ हो?
डेउडा, देउडा लोकदोहोरीकै पर्यायवाची शब्द भनेर भन्दा फरक नपर्ला, समानार्थी हुन्। पूर्वमा जुहारी, मध्य नेपालमा दोहोरी, हाम्रोतीर डेउडा, देउडा र अझ उता कुमाउतीर झोडा पनि भन्छन्, भाकामा सवाल–जवाफ हो।
डेउडामा आँसुका गीतहरु धेरै सुनिन्छन् किन?
नेपाल एकीकरणको समयभन्दा पहिले तत्कालीन जुम्ला र डोटी राज्य सम्पन्न र बैभवशाली भएको इतिहासमा छ तर गोर्खाली बहादुर शाहहरूले सम्पन्नता खोसेर गोर्खा–नेपाल राज्यमा ल्याएछन्। त्यो कारणले आजसम्म हाम्रो दुःख सकिएन।
सेती, माहाकाली र कर्णालामा धेरैजसो मानिसले पेटभरी खान र एकसरो लाउन पनि पाएका छैनन्। राज्यकै कारणले लामो समय उपेक्षित रह्यो। लोकगीत भनेको स्थानीयको भोगाइ हो, देउडामा त्यही भोगाइ र आँसु आको हो। बल्ल संघीयता कार्यान्वयनपछि समाधानको बाटो खोलिन थालेको छ। राजनीतिक एकिकरणको लामो कालखण्डपछि सांस्कृतिक र भावनात्मक एकता सुरु भएको छ।
मन परेको आफ्नै गीत कुन हो?
सुदूरपश्चिमको सातवटा र कर्णालीको ६ वटा पहाडी जिल्लामा डेउडाको अधिक प्रयोग छ। लोकदोहोरी, आधुनिक, राष्ट्रिय, मागल, फाग, धमारी, चैतली, ठाडी धेरै प्रकारका गीत लेखेँ ‘गैजा डोटी गैजा’ ‘यो अछामी बड्डो’ ‘रानीले नुहाइ गई’ ‘बास बसेछ न्याउला’ ‘सिरु’ ‘काली रात’ लगायत पनि राम्रो लाग्छ।
डेउडा गीतमा पनि विकृति विसंगति आयो भन्छन्?
सबैले राम्रो मात्र गरेका छैनन् र नराम्रो मात्र भको पनि छैन। तर, अहिले सयमा नब्बे नराम्रो भयो भने दश चाहिँ राम्रो भएको छ, नब्बेको भिडमा १० हराएको जस्तै भयो।
नयाँ पुस्ताको चाहना र आधुनिकताको नाममा थुप्रै विकृति र विसंगति ल्याइएको छ। तर खहरेको भेल जस्तो भड्किला गीत लामो समय टिक्दा रहेनछन्। फोहोरलाई सभ्यताको हावाले आफैँ उडाएर लान्छ।
विशिष्ट संस्कृतिलाई गलत प्रयोग नगरून। फेसबुक, टिकटक, युट्युब, गुगल हाम्रो नियन्त्रणमा छैन। राज्यले यो सबैको नियमन र नियन्त्रणको बाटो खोज्नुपर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।