|

रौतहट : सवारी दुर्घटनामा रौतहटमा एक महिलाको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयले महिलालाई ठक्कर दिने ट्रकमा आगो लगाएका छन्। यसपछि पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ।

जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं–१ स्थित वाग्मतीको पूर्व–पश्चिम राजमार्गमा बिहीबार ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको हो। घटनापछि मृतकका आफन्त र स्थानीयले ट्रकमा आगो लगाएका हुन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकी पैदलयात्री चन्द्रपुर–१ बस्ने ५५ वर्षीया होममाया मगरलाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएका छन्।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले ट्रकमा आगजनी गरेर विरोध गरेका छन्। अहिले सो क्षेत्र तनावग्रस्त छ।

ट्रकमा लागेको आगो नियन्त्रणमा लिन घटनास्थलमा पुगेको चन्द्रपुर नगरपालिकाको वारुणयन्त्रमा पनि स्थानीयले ढुंगा प्रहार गरेर क्षति पुर्‍याएका छन्।

घटनास्थलमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी एकनारायण कोइरालाको नेतृत्वमा प्रहरी टोली पुगेको छ।

ट्रकमा लागेको आगो नियन्त्रणमा लिन पुगेको ना १ झ ६८८ नम्बरको वारुणयन्त्रमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ। अहिले राजमार्ग यातायात अवरुद्ध भएको छ। डीएसपी कोइरालाका अनुसार आक्रोशित स्थानीयलाई सम्झाएर बाटो खुलाउने पहल भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.