|
Photo : smedigest.com.ng

काठमाडौं : गत हप्ता केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिने क्रममा संसदमा बोल्दै आउँदो आउँदा प्रधानमन्त्रीलाई केही गम्भीर प्रश्न गरे। उनले काठमाडौं तराई फास्ट ट्रयाक, काठमाडौं केरुङ रेलमार्ग, हुलाकी रेलमार्ग बनाउनुहुन्छ कि हुँदैन भन्ने सीधा प्रश्न गरेका थिए।  त्यसबाहेक आफ्नो सरकारले घोषणा गरेको विकास आयोजना के हुन्छ भन्ने चासो राखेका थिए ओलीले।

बुधवार संसदमा प्रधानमन्त्री निर्वाचित हुनुअघि आफ्नो प्रधानमन्त्रीको उम्मेदवारीबारे बोल्दै पुष्पकमल दाहाल प्रचण्डले ती प्रश्नको समग्रमा जवाफ दिए। उनले फास्ट ट्र्याक, काठमाडौं केरुङ रेलमार्ग, हुलाकी राजमार्ग सबै बनाउने बताए।

त्यसबाहेक प्रचण्डले आर्थिक समृद्धि, विकास आयोजना र देशको आर्थिक अवस्थाबारे पनि लामो भाषण गरे। उनले कृषि, पर्यटन र जलश्रोतको प्रचुर सम्भावना हुँदाहुँदै पनि युवाहरु कामका लागि किन विदेश गइरहेका छन् भन्ने प्रश्न गर्दै, आफै दिने प्रयास गरे।

कृषि, पर्यटन र जलश्रोत मार्फत देशलाई समृद्ध बनाउन सकिने बताउदै प्रचण्डले कृषि, पर्यटन र जलश्रोतको विकासका लागि रणनीतिक योजना तयार पार्ने प्रतिबद्धता व्यक्त गरे।

बुधबार संसदमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आर्थिक विकासका विषय उठाए। देउवाले शान्ति सुरक्षा र आर्थिक विकास अबको प्राथमिकता हुनुपर्ने बताए। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि विकासको प्रचुर सम्भावना भएको भन्दै त्यसको उपयोगको लागि लगानी र प्रविधिको आवश्यकता रहेको औंल्याए ।

यी उदाहरणले हिजोआज राजनीतिक नेतृत्वले समृद्धि र आर्थिक विकासलाई आफ्नो भाषणमा प्राथमिकता दिएको देखाउँछ। हुनत प्रमुख दलका शीर्ष नेताहरुले संविधान जारी भएपछि आर्थिक समृद्धिको बाटोमा लाग्ने बताउँदै आएका थिए। त्यतिबेला निजी क्षेत्रका प्रतिनिधिले दलहरुसँग समृद्धिका एजेण्डा  नै नभएङ्को आरोप लगाउँथे। तर हिजोआज नेताहरुले समृद्धिका विषय भाषणमा छुटाउँदैनन्।

केपी शर्मा ओलीले प्रधामन्त्रीको कार्यभार सम्हालेसँगै केही विकासका कार्यक्रमहरु अघि घोषणा गरे। उनले   घरघरमा ग्यास पाइप विस्तार, नेपालकै पानी जहाज सञ्चालन, पेट्रोल उत्पादन जस्ता कार्यक्रम पनि घोषणा गरे।

काम गरेर देखाउन नसकेपनि दल र तिनका नेताहरुले आर्थिक विकास र समृद्धिको कुरा गर्न थालेको निजी क्षेत्रका प्रतिनिधिहरु बताउँछन्।

नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेश अग्रवालले दलहरु आर्थिक विकासको ऐजेण्डालाई विस्तारै उठाउदै गएको बताउँछन्। “दलहरुले आर्थिक ऐजेण्डालाई प्राथमिकता दिन लागेका छन् तर अझै कार्यन्वयनको चरणमा लैजाने गरी कामहरु भइरहेको छैन, आगामी दिनमा आर्थिक विकासका काम गर्नु नै आफ्नो मुख्य जिम्मेवारी सम्झिनेछन् भन्ने आशा छ' व्यवसायी अग्रवालले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.