२ रजत र २२ कांस्य नै मूल उपलब्धि

|

ललितपुर  : छिमेकी राष्ट्र भारतबाट विजारोपण भएको एशियाली खेलकुद प्रतियोगिताको इतिहास ७२ वर्ष पुरानो भइसक्यो। सुरुवाती समयमा केही सीमित देशले मात्र भाग लिने एशियाड अहिले विस्तार भएर एशियाका सबैजसो राष्ट्र यो प्रतियोगितामा होमिने गरेका छन्। 

१९औँ संस्करणको एशियाली खेलकुद प्रतियोगिता आउन अब महिना दिन पनि बाँकी छैन। आगामी असोज ६ गतेदेखि २१ गतेसम्म एशियाली खेलकुदको महाकुम्भ मेला चीनको हाङझाउमा हुँदैछ।

करिब दुई सातासम्म चल्ने प्रतियोगितामा एशियाका ४५ देशका १२ हजार ५ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। विभिन्न ४० खेलका ४ सय ८३ इभेन्ट्समा प्रतिस्पर्धा हुँदैछ। 

७२ वर्षे एशियाडको इतिहासमा नेपालले २ पटक रजत पदक जित्नबाहेक अरू महत्वपूर्ण उपलब्धि हासिल गर्न सकेको छैन। छिमेकी मुलुक चीन र भारतले एशियाली खेलकुदमा धेरै पदक जितिसक्दा पनि नेपालले अहिलेसम्म स्वर्ण पदक आफ्नो नाममा लेखाउन सकेको छैन। अहिलेसम्म २ रजत र २२ कांस्यसहित जम्मा २४ वटा पदक नेपालले जितेको छ।  

सन् १९५१ मा भारतको नयाँ दिल्लीबाट सुरु भएको पहिलो एशियाली खेलकुद प्रतियोगिताबाटै नेपालले सहभागिता जनाउन सुरु गर्‍यो। नेपाले त्यत्तिबेला एथ्लेटिक्समा भाग लिएको थियो। ११ देश सहभागी प्रतियोगितामा ३ देशले पदक जित्न सकेनन्। त्यसमा अफगानिस्तान र थाइल्याण्डसँगै नेपाल पनि रह्यो। 

सन् १९५४ मा फिलिपिन्सको मनिलामा भएको दोस्रो एशियाड र सन् १९६२ मा इण्डोनेसियाको जार्कतामा भएको चौथो एशियाडमा नेपालले भाग लिएन। 
सन् १९५८ मा जापानको टोकियोमा भएको तेस्रो एशियाली खेलकुद र १९६६ मा थाईल्याण्डको बैंककमा भएको पाँचौ एशियाली खेलकुद पनि नेपालको सहभागिताभन्दा माथि उठ्न सकेन। 

त्यसको ४ वर्ष फेरि सन् १९७० मा एशियाली खेलकुद उही थाइल्याण्डकै भूमिमा आयोजना भयो। छैटौँ संस्करणको बैंकक एशियाडमा पनि नेपाली खेलाडीले कुनै पदकको जादु देखाउन सकेनन्। 

इरानको तेहरानमा सन् १९७४ मा भएको सातौँ एशियाली खेलकुदमा १६ वटा देश पदकका हकदार बन्दा नेपाली खेलाडी पदकबिना रित्तो हात फर्कनुपर्‍यो। 
आठपटक एशियाली खेलकुद आयोजना हुँदा तेस्रोपटक आयोजक बनेको थाइल्याण्डले आठौं एशियाडमा सहभागी देशको संख्या २५ पुर्‍यायो।  १९७८ को यो बैंकक एशियाडमा १९ देशले पदकमा नाम लेखाउँदा नेपालले भने फेरि पनि पदक ल्याउनबाट विमुख भयो। 

सन् १९८२ मा भारतले ३१ वर्षपछि फेरि एशियाडको आयोजना गर्ने जिम्मा पायो। दिल्लीमा भएको एशियाली खेलकुद पनि नेपालका लागि कुनै उपलब्धिमूलक रहेन। सहभागी ३३ देशमा २३ देशले पदक ल्याउँदा पनि नेपाल खाली पोल्टो घर फर्कियो। यही एशियाली खेलकुददेखि जापानको अधिपत्यलाई पछाडि पार्दै चीन पदक तालिकामा शीर्ष स्थानमा रहन सुरु गर्‍यो। 

सियोलमा बक्सिङ र तेक्वान्दोमा ४–४ कांस्य पदक

दक्षिण कोरियाको सियोलमा  सन् १९८६ मा सम्पन्न दशौँ एशियाड नेपालका लागि निकै उपलब्धिमूलक रह्यो। एशियाली खेलकुदको सुरुदेखि नै भाग लिएको नेपालका लागि पदकको स्वाद चाख्न सियोल एशियाड नै कुर्नुपर्यो‍यो। २७ देश सहभागी यो एशियाडमा नेपालका तर्फबाट १ सय ५ जना खेलाडी सहभागी थिए।

२५ खेलको २ सय ९६ इभेन्ट्सबाट नेपालले ८ वटा कांस्य पदक जित्न सफल भयो। नेपालले बक्सिङ र तेक्वान्दोबाट समान ४–४ कांस्य पदक जितेको हो। लाइट वेट ६० केजीमा दलबहादुर रानामगर, लाइट वेल्टर वेट ६३ दशमलव ५ केजी तौल समूहमा मनोजबहादुर श्रेष्ठ, मिडल वेट ७५ केजीमा सुशील पोखरेल र सुपर हेभिवेट ९१ भन्दा माथिको तौल समूहमा तुलबहादुर थापाले कांस्य पदक जित्न सफल भए। बक्सिङका १२ स्वर्ण पदकको भिडन्तमा दक्षिण कोरियाले सबै स्वर्ण आफैँले जित्यो। 

१९८६ को सियोल एशियाडमा पहिलो पटक समावेश तेक्वान्दो खेलमा नेपालले थप ४ कांस्य पदक जित्यो। ५० केजी मुनिको फिन वेटमा विधान लामाले कांस्य जित्दा ५८ केजी मुनिको बटमवेटमा राम बहादुर गाँछे र मिडिल वेट ८३ केजी मुनिको तौल समूहमा राज कुमार बुँछेले कांस्य पदक जिते।

यस्तै, अर्को एउटा कांस्य पदक राजकुमार राईले वेल्टर वेट ७६ केजी मुनिको तौल समूहमा जितेका थिए। तेक्वान्दोमा पनि स्वर्ण पदकको दबदबा आयोजक कोरियाकै रह्यो। ८ मध्ये ७ स्वर्ण उसैले जित्यो। २७ राष्ट्र सहभागी यो एशियाडमा २२ देशले पदक जित्दा नेपाल २० औँ स्थानमा रह्यो। 

११ औँ एशियाडमा बक्सिङमा कांस्य

सन् १९९० मा चीनको बेइजिङ को ११ औँ एशियाडमा नेपालले एउटा मात्र कांस्य जित्यो। बक्सिङ खेलाडी चित्रबहादुर गुरुङले वेल्टरवेट ६७ केजी तौल समूहमा पदक जितेका हुन्। ३६ देश सहभागी यो एशियाडमा नेपाल १ कांस्यसहित २२ औँ स्थानमा रह्यो। २५ दशले पदक जित्दा लाओस्, मकाउ र साउदी अरबले पनि समान एक –एक कांस्य पदक जितेका थिए। 

हिरोसिमा एशियाडमा तेक्वान्दो र कराँतेमा एक–एक कांस्य

सन् १९९४ को १२ औँ एशियाली खेलकुद जापानको हिरोसिमामा आयोजना भयो। यो एशियाडमा नेपालले तेक्वान्दो र करातेमा गरी एक–एक कांस्य पदक गरी जम्मा २ वटा कांस्य पदक जित्यो। कराँतेअन्तर्गत कुमुतेको ६० केजी तौल समूहमाथि सीता कुमारी राईले कांस्य पदक जितिन् भने तेक्वान्दो फ्लाईवेटको ५४ केजी तौल समूह मुनिको प्रतिस्पर्धामा मन बहादुर साहीले कांस्य पदक जितेका हुन्। ४२ राष्ट्र सहभागी यो एशियाली खेलकुदमा ३२ वटा देशले पदक जिते। 

१३औँ एशियाडमा १ रजत र ३ कांस्य, सवितालाई तेक्वान्दोमा रजत 

सन् १९९८ मा थाइल्याण्डको बैंककमा भएको १३औँ एशियाली खेलकुद प्रतियोगिता नेपाली खेलकुद इतिहासकै सबैभन्दा उपलब्धिमूलक एशियाड हो। कांस्यपदक कुर्न ३५ वर्ष लागेको नेपालका लागि रजत पदक भेट्टाउन ४७ वर्ष प्रतीक्षा गर्नुपर्‍यो। एशियाडकै इतिहासमा सबैभन्दा धेरैपटक बैंककमा एशियाड चलिरहँदा नेपालका लागि यो सम्झनलायक रह्यो।

नेपालले बैंककमा १ रजत र ३ कांस्य पदक जित्दा पदक जित्ने ३३ राष्ट्रको भिडन्तमा नेपाल २७ औँ स्थानमा रह्यो। ४१ देश सहभागी एशियाडमा नेपालले तेक्वान्दोमा १ रजत र २ कांस्य तथा  कराँतेमा १ कांस्य पदक जितेको हो। तेक्वान्दोको महिलातर्फ फेदरवेट ५५ केजी तौल समूहमुनि सविता राजभण्डारीले कीर्तीमानी रजत पदक जितेकी थिइन्। स्वर्णको भिडन्तमा उनी चाइनिज ताइपेईकी खेलाडीसँग हारेकी थिइन्।

तेक्वान्दोमै महिलातर्फ बान्टाम वेटको ५१ केजी तौल समूहमुनि सपना मल्लले कांस्य पदक जित्दा पुरुषतर्फ फिनवेटको ५० केजी तौल समूहमुनि किशोर श्रेष्ठले पनि कांस्य पदक देशका निम्ति दिलाए।

१३ औँ एशियाडमा कराँतेका समरबहादुर गोलेले कुमुतेको ६० केजी तौल समूहमुनि कांस्य पदक जितेका थिए। तेक्वान्दोबाट देशका निम्ति पदक ल्याएका सविता र किशोर पछि विवाह बन्धनमा बाँधिएका थिए। 

सन् २००२ मा दक्षिण कोरियाको बुसानमा सम्पन्न १४ औँ एशियाड र सन् २००६ को कतारको दोहामा सम्पन्न १५ औँ एशियाडमा नेपालले समान ३–३ कांस्य पदक जितेको छ। 

बुसान एशियाडमा तेक्वान्दोबाटै ३ कांस्य

सन् २००२ को १४ औँ एशियाड  दक्षिण कोरियाको बुसानमा सम्पन्न भयो। सो एशियाडमा ३९ वटा देशले पदक जित्दा नेपाल ३२ औँ स्थानमा रह्यो। नेपालका लागि ३ वटै  कांस्य पदक तेक्वान्दोबाट प्राप्त भयो।

पुरुषतर्फ फेदरवेट ६७ केजी तौल समूहमुनि दीपक विष्टले कांस्य पदक जिते भने महिलातर्फ बन्टामवेट ५५ केजी तौल समूहमुनि रेनुका मगर र लाइटवेटको ६३ केजी तौल समूह मुनि रितु जिमी राईले कांस्य पदक जितेका थिए। 

दोहा एशियाडमा फेरि पनि ३ वटै कांस्य तेक्वान्दोबाट 

सन् २००६ मा कतारको दोहामा १५ औँ एशियाली खेलकुद प्रतियोगिता सम्पन्न भयो। ४५ वटै राष्ट्र सहभागी प्रतियोगितामा ३८ राष्ट्रले पदक जित्दा नेपाल ३ कांस्यसहित ३५ औँ स्थानमा आयो। यो एशियाडमा पनि ३ वटै कांस्य पदक तेक्वान्दोबाटै प्राप्त भयो।

तेक्वान्दोको पुरुषतर्फ वेल्टरवेट ७८ केजी तौल समूहमुनि दीपक विष्टले कांस्य पदक जित्दा महिलातर्फ फेदरवेट ५९ केजी तौल समूहमुनि आयशा शाक्यले तथा लाइटवेट ६३ केजी तौल समूहमुनि मनिता साहीले कांस्य पदक जितिन्। 

१६ औँ एशियाडमा बक्सिङबाट एक मात्र कांस्य

सन् २०१० मा चीनको ग्वान्जाओमा १६ औँ एशियाली खेलकुद प्रतियोगिता सम्पन्न भयो। नेपालले यो एशियाडमा बक्सिङबाट एउटा कांस्य पदक जित्यो। बक्सिङ खेलाडी दिपक मर्हजनले लाईट हेभिवेट ८१ केजी तौल समूहमा कांस्य पदक जितेका हुन्। ४५ राष्ट्र सहभागी एशियाडमा नेपाल कांस्यसहित ३५ औँ स्थानमा रह्यो। 

इन्चोन एशियाडमा कराँतेले ल्यायो एक कांस्य

सन २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७ औँ एशियाली खेलकुदमा  नेपालले एक मात्र कांस्य पदक जित्यो। नेपालका लागि कराँतेले एक कांस्य दिलाएको हो। कराँते खेलाडी विमला तामाङले कातातर्फ कांस्य पदक जितेकी हुन्। यो एशियाडमा ३७ राष्ट्रले पदक जितेका थिए।  

१८ औँ एशियाडमा नेपाललाई प्याराग्लाइडिङबाट रजत पदक 

४ वर्षपछि सन् २०१८ मा इण्डोनेसियाको जाकर्ता र पालेम्वाङमा भएको १८ संस्करणमा आएर फेरि नेपालले रजत पदक जित्न सफल भयो। सन् १९९८ को बैंकक एशियाडपछि नेपालले दोस्रोपटक रजत पदक जितेको हो। नेपालले प्याराग्लाइडिङको टिम क्रस कन्ट्रितर्फ रजत पदक जितेको हो। विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापाको टोलीले पाराग्लाइडिङको टिम क्रसकन्ट्रीमा नेपाललाई रजत दिलायो।

रजत पदकले एकल स्पर्धामा मात्र पदक ल्याएको नेपालले समूह इभेन्टमा पनि पदक ल्याएर कीर्तिमान बनायो। यो  स्पर्धामा जापानले स्वर्ण तथा इण्डोनेसियाले कास्य पदक जितेका थिए। यो संस्करणमा पनि प्याराग्लाइडिङबाहेक अन्य खेल केवल सहभागितामै सिमित बन्यो। 

अहिलेसम्म ल्याएका पदक

नेपालले अहिलेसम्म ७२ वर्षे एशियाली खेलकुदको इतिहासमा २ रजत र २२ कांस्य पदकसहित कुल २४ पदक जितेको छ। सन् १९८६ मा दक्षिण कोरियाको सियोलमा सम्पन्न १० औँ एशियाडबाट पदक जित्न थालेको नेपालले त्यसपछि भएका सबै एशियाडमा पदकविमुख हुनुपरेको छैन।

१६ औँ एशियाडदेखि १८ औँ एशियाडसम्म नेपालले लगातार एक–एक वटा पदक मात्र जितेको छ। इन्डोनेसियामा ४ वर्ष अघि भएको एशियाडमा एउटा रजत पदक जितेको थियो।

नेपालले अहिलेसम्म बक्सिङ, तेक्वान्दो , कराँते र पाराग्लाइडिङ गरी जम्मा ४ वटा खेलबाट मात्र पदक ल्याएको छ। सबैभन्दा धेरै तेक्वान्दोबाट १ रजत र १३ कांस्य जितेको नेपालले पाराग्लाइडिङमा १ रजत पदक जित्दा बक्सिङबाट मात्रै ७ वटा कांस्य पदक प्राप्त गरेको छ। थप २ कांस्य पदक कराँते खेलबाट नेपालले ल्याएको छ। 

कुन खेलले कुन एशियाडमा पदक 

तेक्वान्दोले १० औँ एशियाडमा ४ कांस्य, १२ औँ एशियाडमा १ कांस्य, १३ औँ एशियाडमा १ रजत र २ कांस्य, १४ औँ र १५ औँ एशियाडमा ३–३ कांस्य पदक प्राप्त गरेको छ।

यसैगरी पाराग्लाइडिङले १८ औँ एशियाडमा रजत पदक जित्दा बक्सिङले १० औँ एशियाडमा ४ कांस्य, ११ औँ एशियाडमा १ कांस्य, १२ औँ एशियाडमा १ कांस्य र १६ औँ एशियाडमा १ कांस्य जितेको छ। कराँतेबाट १३ औँ एशियाड र १७ औँ एशियाडमा १–१ गरी २ कांस्य पदक जितेको थियो। 

वर्तमान हाङझाउ एशियाड 

१९ औँ संस्करणको एशियाली खेलकुदमा नेपालले २९ वटा खेलमा सहभागिता जनाउँदैछ। प्राय हरेकजसो खेलका च्याम्पियन खेलाडी रहेको एशियामा नेपालका लागि पदक ल्याउनु पहिलेभन्दा निकै कठिन देखिएको छ। सहभागी भएका अधिकांश खेलमा नेपालले पदकभन्दा पनि आफ्नो प्रर्दशन सुधार्ने उदेश्य लिएको छ।

यसपाली पनि तेक्वान्दो, कराँते र बक्सिङबाट मात्र पदकको आशा गरिएको छ। नेपालले पहिलो पटक सहभागी हुन लागेको ई–स्र्पोट्सबाट पनि पदकको आशा राखेको छ।  यो खेल अरुका लागि पनि नौलो रहेको छ। यो एशियाडमा नेपालबाट २ सय ५३ जना खेलाडीले सहभागीता जनाउँदै छन्।  विभिन्न ४० खेलका ४ सय ८३ इभेन्ट्समा प्रतिस्पर्धा हुँदा नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्दैछ। 

सहभागी हुने खेल 

नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, साइक्लिङ, फुटबल, एथलेटिक्स, पौडी, गल्फ, जुडो, ट्रायथलन, उसु, कुस्ती, आर्चरी, बास्केटबल थ्री अन थ्री, भारोत्तोलन, ब्याडमिन्टन, फेन्सिङ, कबड्डी, टेबलटेनिस, भलिबल, ह्याण्डबल , क्रिकेट, सुटिङ, रग्बी , स्क्वास, टेनिस, इ–स्र्पोट्स, डान्स स्र्पोट्स र क्यानोइङमा सहभागीता जनाउँदै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.