|

काठमाडौं : स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा उपलब्ध गराइरहेका देशभरका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ।

आव २०७९।८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बिमाको सेवा बन्द भएका र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरिएको बोर्डले जनाएको छ।

'स्वास्थ्य बिमा बोर्डसँग विभिन्न मितिमा स्वास्थ्य बिमा ऐन, २०७४ को दफा २ मा भएको परिभाषा अनुसारका अस्पतालले सोही ऐनको दफा ९ मा भएको व्यवस्था बमोजिम सम्झौता गरी सम्झौताको अवधि बाँकी छँदै आव २०७९।०८० को बजेट वक्तव्यपछि सूचना टाँस गरी सेवा स्थगन गरेका स्वास्थ्य संस्थाहरू, नेपाल सरकारको बजेट वक्तव्यले निर्दिष्ट गर्नुभन्दा अगावै स्वास्थ्य बिमा ऐनअनुसार सम्झौता भएका तर आव २०७९।०८० को बजेट वक्तव्यपछि अस्पतालहरूको सम्झौता अवधि समाप्त भई पुनः नवीकरण नभएका वा हुन नसकी स्वास्थ्य बिमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्थाहरू र लामो समयसम्म सम्झौता नवीकरण नगरेका स्वास्थ्य संस्थाहरूलाई सेवाप्रदायक संस्थाहरूको सूचीबाट हटाउने निर्णय गरिएको हो'‚ बिमा बोर्डले भनेको छ।

संघीय संसद्को १३ असारको बैठकबाट पास भएको आव २०८०।०८१ को बजेटको बुँदा नं. २३८ मा ‘सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिने’ उल्लेख छ। चालू आवको बजेट वक्तव्यमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बिमा कार्यक्रमलाई सामुदायिक र सरकारी अस्पतालबाट मात्र सञ्चालन गर्ने र दिगो बनाउन बिमा कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी गर्ने बताएका थिए। सोहीअनुसार बिमा बोर्डले नयाँ आव सुरु भएसँगै निजी स्वास्थ्य संस्थाबाट दिँदै आएको स्वास्थ्य बिमार्फतको सेवा बन्द गरेको छ।

बिमा बोर्डको तथ्यांकअनुसार स्वास्थ्य बिमाका लागि देशभर ४६४ वटा स्वास्थ्य संस्था सूचीकृत छन्, तीमध्ये ५२ निजी स्वास्थ्य संस्था थिए र बिमा कार्यक्रममा उनीहरूको योगदान ३० प्रतिशत हाराहारी थियो।

स्वास्थ्य बिमाको सेवालाई बन्द गरिएका निजी स्वास्थ्य संस्थाहरूमा बी एन्ड सी टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर (बिर्तामोड), लाइफ लाइन अस्पताल (झापा), मेची नेत्रालय (झापा), नोबेल मेडिकल कलेज (विराटनगर), विराट मेडिकल कलेज एन्ड रिसर्च सेन्टर (विराटनगर), चितवन मेडिकल कलेज (भरतपुर), नेशनल मेडिकल कलेज (वीरगञ्ज), शुभ स्वस्तिक अस्पताल (बर्दिवास) र नेपाल आँखा प्रतिष्ठान (भैरहवा) रहेका छन्।

​यसैगरी नेपालगन्ज मेडिकल कलेज (बाँके), राप्ती आँखा अस्पताल (दाङ), फत्तेवाल आँखा अस्पताल (बाँके), फूलकुमारी मेमोरियल हस्पिटल (सिरहा) र सगरमाथा चौधरी आँखा अस्पताल (सिरहा), लालरत्न अस्पताल (कैलाली), देवदह मेडिकल कलेज (रूपन्देही),जानकी मेडिकल कलेज (धनुषा), मिसन अस्पताल (पाल्पा) लगायतका स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको हो।

यीमध्ये अधिकांश निजी स्वास्थ्य संस्थाहरू उपत्यका बाहिर स्वास्थ्य सेवा लिन बिरामीको चाप लाग्ने सुविधा सम्पन्न अस्पतालहरू हुन्।

स्वास्थ्य बिमा ऐन–२०७४ अनुसार बिमाबापतको सेवा लिन पहिलो चरणमा अनिवार्य सरकारी अस्पताल वा स्वास्थ्य संस्था जानुपर्छ। त्यहाँ उपचार हुन नसकेमा रेफर गरेको विशिष्टीकृत सेवा भएको र बिमाको कार्यक्रम सञ्चालन गरेको निजी अस्पताल वा मेडिकल कलेजबाट पनि सेवा लिने व्यवस्था उल्लेख गरिएको छ।

यही स्वास्थ्य बिमा ऐनमार्फत बी एन्ड सी टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, विराट मेडिकल कलेज एन्ड रिसर्च सेन्टर र नेपालगन्ज मेडिकल कलेज जस्ता उपत्यका बाहिरका ठूला स्वास्थ्य संस्थाहरूले बिमामार्फत विशिष्टीकृत सेवा दिँदै आएका थिए तर भर्खरै सुरु भएको आवपछि भने उपत्यका बाहिरका सानादेखि ठूला संस्थामा नै बिमामार्फतको सेवा स्थगित भएको छ।

यसले गर्दा अबका दिनमा बिमामार्फतको सेवामा असहज हुने बताउँछन्‚ बिमा बोर्डका एक उच्च कर्मचारी। उनले भने‚ ‘सरकारी स्वास्थ्य संस्थाबाट मात्रै बिमा सेवा सञ्चालन गर्ने विषय नराम्रो नभए पनि सबै सरकारी स्वास्थ्य अब्बल नभइसकेको अवस्थामा यस्तो निर्णय गर्दा आगामी दिनमा बिमामार्फतको सेवा प्रभावित हुने देखिन्छ। अझै उपत्यका बाहिरको बिमामार्फतको सेवा प्रभावित हुने निश्चित जस्तै छ।’

के हो स्वास्थ्य बिमा?

सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत २०७२ चैत २५ बाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको थियो। कैलालीबाट सुरु गरिएको यो कार्यक्रम अहिले ७७ जिल्ला र ७४८ स्थानीय तहमा पुगिसकेको छ।

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी पाँचजना सदस्य भएका परिवारले वार्षिक रूपमा तीन हजार ५०० रुपैयाँ तिरेपछि वार्षिक एक लाख रुपैयाँसम्मको औषधोपचार सेवा पाउँछन्। त्यसैगरी प्रतिव्यक्ति ७०० रुपैयाँ तिरेर थप २० हजार रुपैयाँको सुविधा पनि पाउने बोर्डले जनाएको छ।

बिमामार्फत पाइने सेवामा बहिरंग सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् तर बिमाबाट कस्मेटिक सर्जरी, व्यक्तिगत झै-झगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा र गर्भपतनसम्बन्धी सेवा भने पाइँदैन।

स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार हाल देशभर ४४० स्वास्थ्य संस्थाले बिमा कार्यक्रम लागू गरेका छन्। तीमध्ये ३४६ वटा प्रथम सेवा बिन्दु र बाँकी ९४ ‘रिफरल’ संस्था छन्।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.