|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणको समयमा दुई देशबीच नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताएका छन्।

मंगलवार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद उदय शमशेर जबराले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले चीन भ्रमणको समयमा दुई देशबीच नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताएका हुन्। उनले दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्चालन प्रभावकारी बनाउने विषयमा छलफल हुने पनि बताए।

दुई देशका बीचमा यसअघि सम्पन्न सम्झौता र समझदारीहरूलाई कार्यान्वयनमा जोड दिने पनि उनको दाबी छ। त्यसैगरी सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि, व्यापार र स्वास्थ्यको क्षेत्रमा रूपान्तरणकारी परियोजनामा चीनको सहयोग बिस्तार गर्ने विषय पनि भ्रमणको प्राथमिकतामा रहेको उल्लेख गरे। 

उनले भने,‘मित्रराष्ट्र चीनको भ्रमण दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउँदै नेपालको सामाजिक, आर्थिक विकासको लागि चीन–नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहनेछ। भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीको कार्यान्वयनमा जोड दिइनेछ। नेपाल र चीन बीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने, दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरू खोल्ने विषय पनि भ्रमणका क्रममा कार्यसूचीमा छन्।’

प्रधानमन्त्री दाहालले अर्थतन्त्र लयमा फर्किंदै गरेको उल्लेख गरे। उनले वैदेशिक लगानी प्रवर्धन गर्न नीतिगत र संस्थागत सुधार गर्दै वैदेशिक लगानीको स्वीकृति प्रक्रिया सहजीकरण गर्न थ्रेसहोल्ड घटाउने लगायतको कार्य अघि बढाइएको स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.