|

काठमाडौं : कमल थापा नेतृत्वको राप्रपा नेपालले पुन: राजतन्त्र पुन: स्थापनालाई कार्यनीतिक एजेण्डा बनाएको छ। डेढ वर्षअघि भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि आफू पार्टीबाट अलग भएको घोषणा गरेका थिए। त्यो घोषणा गर्नुअघि थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेर आफूलाई हराएको आरोप लगाएका थिए। 

त्यसपछि उनी राप्रपा नेपाल पुन: गठन गरेर अध्यक्ष बने। राप्रपा नेपालको एक वर्षअघि बसेको कार्यसमिति बैठकले राजसंस्था नबोक्ने निर्णय गरेको थियो। तर, केही दिन अघि बसेको केन्द्रीय समिति बैठकबाट त्यो विषय उल्ट्याइएको छ। थापाले पुन राजसंस्था बोक्नुको कारण? वाध्यता के आइलाग्यो?  राप्रपासँग एकताको सम्भावना कति छ? यीनै विषयको सेरोफेरोमा थाहाखबरले कमल थापासँग कुराकानी गरेको छ। प्रस्तुत छ उनीसँग गरिएको संवादको सम्पादित अंश :

छाडिसकेको राजसंस्थाको मुद्दा पुन: बोक्नुपर्ने के वाध्यता आइलाग्यो? 

यसका मुख्य तीन वटा कारणहरू रहेका छन्। पहिलो देशको वर्तमान कहालीलाग्दो अवस्था। दोस्रो देशभरका पार्टीका कार्यकर्ताको भावना र सुझाव र तेस्रो भनेको म आफैंलाई पनि के रियलाइज भयो भने  नेपालमा राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र र राष्ट्रिय अखण्डताको एजेन्डा अगाडि बढाउने क्रममा विगतमा हामीले महत्वपूर्ण भूमिका खेलेका छौं। यो विचारको प्रतिपादक वा मुख्य संवाहक नै हामी थियौं। त्यसकारण त्यो राजनीतिक विरासतको निरन्तरता दिनु उपयुक्त हुने ठानेर हामीले राजा बोक्ने निर्णय गरेका हौं। 

आत्मालोचनाको कुरा गर्नुभयो नि, यो चुनावी नतिजाले दिएको हो की अन्य कुनै कारण छन्?

म बच्चैदेखि राजसंस्थामा आस्था राख्ने परिवारमा हुर्केको मान्छे हुँ। मेरो राजनीतिक चेतनाको विकास भएसँगै मैले जीवनभर नेपालको निमित्त राजासहितको प्रजातन्त्र उपयुक्त भन्ने मान्यता राखेँ अनि खासगरी ६३ सालको राजनीतिक व्यवस्थापछि जब सिंगो मुलुक गणतन्त्रमय भएको थियो। टाउकोमा कफन बाँधेर हामीले नेपालको भूराजनीतिक अवस्था, नेपालको राजनीतिक, धार्मिक सामाजिक तथा सांस्कृतिक परिवेशमा चुनावी राजनीति भन्ला माथि उठेको राजसंस्था आवश्यक पर्छ र नेपालमा राजासहितको प्रजातन्त्र आवश्यक हुन्छ भनेर राप्रपाको लिगेसी वा मेरो विरासत यही नै थियो।

अब मेरो जहिले पनि मान्यता के थियो भने विगतमा जस्तो राजसंस्था अब नेपालमा स्थापना हुन सक्दैन। परिवर्तनकारी शक्तिलाई पनि चित्त बुझ्ने सहमति र सम्झौताको राजसंस्था हुनुपर्छ। राजा राजनीतिभन्दा माथि उठेको हुनुपर्छ।

चुनावी राजनीतिभन्दा माथि उठेको हुनुपर्छ भन्ने मेरो मान्यता थियो। तर, ७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा खासगरी पूर्वराजाको तर्फबाट चुनावमा हस्तक्षेप गर्ने काम भयो। त्यसले मलाई मेरो भावनामा नै मेरो सिद्धान्तमा नै आघात पुगेको हो कि! राजा चुनावभन्दा माथि उठ्न नसक्ने हो की ! भन्ने आशंका भयो। केही समयका लागि राजसंस्थाको पुन:स्थापना आफ्नो एजेन्डा बनाइन। तर, अहिले आएर मेरो व्यक्तिगत असन्तुष्टि होला, चित्त दुखाइ होला। तर, देशको आवश्यकता हो। देशको हितका लागि सोच्नुपर्छ भनेर फेरि राप्रपाको एजेण्डालाई अगाडि बढाएको हो। 

तर कतिपयले अहिले संकटोन्मुख राजनीति ब्यूँताउन कमल थापाले राजसंस्थाको एजेण्डा उठायो भन्ने आरोप लगाउँछन् नि !

आरोप त हरेक किसिमबाट भइ नै रहन्छ। मैले राजाको एजेण्डा छोड्दा पनि मलाई आरोप लगाउने, चरित्र हत्या गर्ने काम भइराखेको थियो। अहिले बोक्दा पनि आरोप लगाइएको छ। यो त ६३ सालमा राजा बोक्दा पनि अनेक आरोप खेप्नुपरेको थियो। यो आरोपबाट विचलित हुने कुरा होइन। मुख्य कुरा देशको परिस्थितिलाई हामीले इमान्दारीपूर्वक समीक्षा गर्नुपर्छ। 

६३ सालमा परिवर्तन गर्छु भनेर आउनेहरूले देशलाई कायापलट गर्छु। देशलाई सिंगापुर बनाउँछु भन्नुभयो। देशमा भएको दासताको अन्त्य गर्छु भन्नुभयो। तर आज देशको अवस्था थप नाजुक भएको छ। त्यसैले यी सबको समीक्षा गरेर वृहत्तर रुपमा के उपयुक्त हुन्छ। त्यसतर्फ अगाडि बढ्दा नै उपयुक्त हुन्छ भन्ने नै हाम्रो सोचाइ हो। यसमा कुनै न रणनीति छ न कुनै अवसरवाद नै। 

महाधिवशेनमा पराजित भएपछि पूर्वराजाप्रति तपाईंले लगाएका आरोपहरू अहिले पनि कायम छन् ? 

अब यसलाई चर्चाको विषय बनाउनुहुन्छ भन्ने मलाई लाग्दैन। इतिहासको कालखण्डबाट पाठ सिक्नुपर्दछ। मलाई के लाग्छ भने त्यस किसिमको प्रवृत्तिको पुनरावृत्ति हुन्छ भन्ने लागेको छैन भन्ने आत्मविश्वासका साथ म अगाडि बढ्न खोजिरहेको छु। सुन प्रकरणदेखि ललितानिवास प्रकरण हेर्नुस्। नक्कली शरणार्थी प्रकरणमा पनि उच्च पदस्थ नेताहरू संलग्न भएका छन्। यी काण्डमा प्रधानमन्त्रीदेखि मन्त्रीहरू संलग्न भएको देखिएको छ। जुन मुलुकमा स्वंय सरकार वा राज्य संयन्त्र नै संगठित रुपमा तस्करी गर्छ भ्रष्टाचार गर्छ भने हामीले सहज रुपमा लिन सक्दैनौँ। 

 पूर्वराजासँग तपाईंको भेटघाट र सम्बन्ध कस्तो छ अहिले ? 

यो कुरालाई धेरै चर्चा नगरौं। राजा र मेरो सम्बन्धको आधारमा मैले राजनीतिक नीति तथा विचार बोकेर हिँड्ने भन्दा पनि देश र जनतालाई केन्द्रविन्दुमा हिँड्नुपर्छ भन्ने लाग्छ। बीचको २० महिना मैले राजाको कार्यनीतिक योजना बनाइन। तर, राजाप्रतिको आस्था र विश्वास कायमै थियो। राप्रपा नेपाल पुन: जागृत गर्दा पनि राजाप्रति आस्था सम्मान व्यक्त गरेका थियौं। केवल पुन:स्थापित कार्ययोजना नबनाउने हाम्रो नीति थियो। यो बीचमा हामीले अभ्यास गर्‍यौं। अहिले देशको वृहत्तर हितका लागि राजसंस्थालाई बोक्ने निर्णय गरेका छौं।  केही समयमा म अलमलमा भए पनि पुन: ट्रयाकमा आएको छु। मलाई यसमा सन्तोष छ। 

राप्रपासँगको एकताको सम्भावना के छ? 

सम्भावना छ। देशमा राजा र हिन्दु बोक्ने संघीयता खारेज हुनुपर्छ भन्ने शक्तिहरू संगठनात्मक रुपमा कमजोर रहेका छन्। विभिन्न ठाउँमा छरिएर बस्दाखेरी स्वभाविक रुपमा हामीले हाम्रो लक्ष्य भेट्टाउन सक्दैनौँ। सैद्धान्तिक र वैचारिक रुपमा  त हामी बीचमा भिन्नता छैन। खाली कार्यनीति र रणनीतिमा फरक हुन सक्छ। त्यस विषयमा हामी छलफल गरेर एक समझदारी गर्न सक्छौं। 

सत्ताको फोहोरी खेलमा नलाग्ने भए एकता हुन्छ भन्नुभयो। तर चुनावलगत्तै राप्रपा सरकारमा गयो। बीचमा प्रतिपक्ष जस्तो देखियो। अहिले पनि सरकारसँग नजिकिँदै गएको देखिन्छ। के भन्नुहुन्छ? 

यही त विडम्बना भयो। विगतमा यही आरोप मलाई लगाइयो। जसले मलाई सत्ताको भोको भनेर आरोप लगाए अहिले उहाँहरू नै अहिले पार्टीको नेतृत्वमा हुनुहुन्छ। र अब सत्तामा जानु गलत थियो भनेर प्रस्ताव राख्ने म नै थिए। 

राजेन्द्र लिङ्देनलाई नेता मान्न तयार हुनुहुन्छ? 

राजेन्द्र लिङ्देन विजयी भएपछि बधाई दिने नै म हुँ। भलै परिणाम विवादास्पद थियो। ४ सय ७२ भोट त मेरो नाममा लागेको छापलाई त्यो बेलाको निर्वाचन समितिले विभिन्न शक्तिकेन्द्रको दबाब र प्रभावमा परेर के के गर्यो। अब त्यता नजाऊँ। तर, उहाँलाई मैले धेरै पटक अध्यक्षका रुपमा हुँदा मबाट सहयोग हुन्छ भन्दै आएको छु। 

यही एजेन्डा बोकेर तेस्रो जनआन्दोलन हुन्छ भन्नुभएको छ। यो भन्या के हो? 

अहिले सत्ता पक्ष वा प्रतिपक्षले एक प्रकारको सिण्डिकेट खडा गरेका छन्। यो सिन्डिकेटले योजनाबद्ध र संगठित रुपमा भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको छ। यो सिन्डिकेटले राज्य संयन्त्रमा पूर्ण रुपले कब्जा जमाएको छ। यो आधारमा देशव्यापी नेटवर्क जोडेको छ। उनीहरूको विचार र बाटोभन्दा फरक वा उनीहरूको स्वार्थमा आघात पुर्‍याउन सक्ने कुनै पनि पार्टीले वैधानिक बाटोबाट चुनाव जितेर आउने सम्भावनालाई निषेध गरिएको अहिलेको अवस्था छ। यस्तो किसिमको चक्रव्यूहलाई रोक्न रुल्स अफ द गेमलाई परिवर्तन गर्न आन्दोलन गर्नुपर्छ। १७ वर्षको अनुभवलाई दृष्टिगत गर्दै  उहाँहरूले परिवर्तन गर्न चाहनुहुन्न भने देशमा जनता सडकमा आउँछन्। त्यसले तेस्रो जनआन्दोलनको रुप लिन्छ भनेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.