|

काठमाडौँ : नेपालमा १५ अर्ब १२ करोड १६ लाख ५० हजार रुपैयाँ बेरुजु रहेको छ।

सरकारको विभिन्न निकायको बेरुजु फर्स्योट तथा सरकारी बाँकी रकम असुल उपर गर्ने कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयले उक्त जानकारी दिएको हो।

कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयकी प्रमुख नमूना कार्की दाहालले कार्यालय सम्बन्धित व्यक्तिहरू आफूले कुनै रकम तिर्नुपर्ने नभएको भन्दै अदालतमा मुद्दा हाल्न जाने गरेको बताइन्। यसरी मुद्दामा जाँदा सम्बन्धित व्यक्तिले तत्काल काम, कारबाही प्रक्रिया अघि नबढाउनु भनी अन्तरिम आदेश लिएर आउने गरेकाले समस्या उत्पन्न हुने गरेको बताइन्। कतिपय व्यक्तिले राजनीतिक पहुँचको प्रयोग गरी त्रास देखाउने गरेको पनि उनले उल्लेख गरिन्।

यसैगरी उक्त कार्यालयले गत आव २०७९।८० मा १ करोड ९७ लाख रुपैयाँ असुल उपर गरेको छ।

त्यसैगरी वि.सं. २०१८ सालको महालेखाको प्रतिवेदनपछि २०५९।०६० सम्मको बेरुजुतर्फ १८ अर्बभन्दा बढी रहेको र अहिलेसम्म झन्डै ३ अर्ब असुल उपर र फर्स्योट भइसकेको उनले बताइन्।

२०७७।०७८ मा १ लाख ६३ हजार र २०७८।०७९ मा ५८ लाख ६५ हजार मात्रै असुल उपर भएको देखिन्छ।

प्रमुख दाहालले गत आवमा ५ वटा तेजारथ बापतको सरकारी बाँकी असुल गरिएको बताइन्। त्यस्तै घरेलुतर्फको २४ वटा लगत कट्टा गरेको र एउटा मात्रै सरकारी बाँकीसरह असुल उपर गर्नुपर्ने लगत कट्टा गरेको जानकारी दिइन्।

उनले भनिन्, ‘गत आर्थिक वर्षमा हामीले ५ वटा तेजारथ बापतको सरकारी बाँकी असुल गर्‍यौँ भनेदेखि घरेलुतर्फको लगभग २४ वटा लगत कट्टा गर्‍यौँ। त्यस्तै एउटा मात्रै सरकारी बाँकी सरह असुल उपर गर्नुपर्ने लगत कट्टा गरेका छौँ। त्यसबापत हाम्रो यस कार्यालयले १ करोड ९७ लाख रुपैयाँ असुल उपर गर्‍यौँ।’

कार्यालयमा लेखाको कर्मचारी मात्रै भएको उल्लेख गर्दै दाहालले कानून र अनुसन्धान हेर्ने कर्मचारीको व्यवस्था भएमा काम गर्न सहज हुने बताइन्। कतिपय विषयमा निर्णय गरे पनि कार्यान्वयन गर्न नसकेको उनको कथन छ। संघीयताको कार्यान्वयनपछि ठेगाना परिवर्तन हुँदा पनि कतिपय सम्बन्धित व्यक्ति तथा सम्बन्धित व्यक्तिको उत्तराधिकारी खोज्न समेत कठिनाइ भएको उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.