|

चितवन : चितवनको रत्ननगरस्थित मुसहर बस्तीमा एउटै कोठामा आमाबुबा, छोराछोरी, बुहारीहरु बस्नुपर्ने बाध्यता थियो। पानी जम्ने ठाउँ भएकाले वर्षामा कोही बाहिरको मान्छे जाँदैनथे। सामूहिक शौचालयले समस्या थियो। खानेपानी ढल व्यवस्थापन नहुँदा दुर्गन्ध थियो। तर, अब रत्ननगर- ८ का यी २२ घर मुसहरको अवस्था फेरिन थालेको छ।

कसैले दुई कोठे त कसैले तीन कोठे घर निर्माण गरेका छन्। पानी जम्ने ठाउँ पुरेर सडकसमेत व्यवस्था गरेका छन्। चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ८ चित्रसारीमा रहेको मुसहर बस्तीको मुहार फेरिन थालेको छ। घरमा सपरिवार एउटै कोठामा कष्ट सहेर बस्नुपर्ने बाध्यताका मुसहरहरुको अहिले धमाधम नयाँ घर बन्दै छन्। कतिपय नयाँ घरमा सरिसकेका छन् भने कतिपयको घर निर्माण तीव्र भइरहेको रत्ननगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख पुष्पराज आचार्य बताउँछन्।

मुख्यगरी रत्ननगर नगरपालिकाको रु ३० लाख र लुमन्ती आवासका लागि सहयोग समूहको ३० लाख गरी ६० लाखको लागतमा यहाँ सहरी गरिब सहयोग कोष निर्माण गरिएको छ। सोही कोषको रकमबाट ऋण अनुदानमा उनीहरुको घर बन्न थालेको आचार्य बताउनुहुन्छ। यहाँ रहेका मुसहर र माझीको २२ घरको निर्माणको काम चलिरहेको छ। ८ वटा घर सम्पन्न भैसकेको छ। अन्य घर निर्माणको अन्तिम चरणमा पुगेको छ।

 रु २ लाख ऋण लिएका मुसहरहरुले रु १२ लाख सम्मको लागतमा घर निर्माण गरेका छन्। कसैले दुई लाखकै पैसामा पुराना काठपात प्रयोग गरेर घर निर्माण गरेको लुमन्तीका कार्यक्षेत्र संयोजक सिंहबहादुर लामा  बताउँछन्। न्युनतम २ नभए तीन कोठाका पक्की घर बनेका छन्।

उनीहरुलाई लिएको ऋण मासिक किस्तामा तिर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। आआफ्नै तरिकाले ज्याला मजदुरी गरेर र माछा मारेर तथा डुंगा चलाएर मुसहरहरुले जिविका गर्दै आएका छन्। कोही गाडी चलाउने र कोही विदेश पनि गएको स्थानीय बास्मती मुसहरको भनाइ छ।

नगरपालिकाबाट सहयोग पाएर घर बनाउन पाउँदा खुसी भएको उनको भनाइ छ। स्थानीय चित्रसेन मध्यवर्ती सामुदायिक वनले उनीहरुका लागि शौचालय निर्माणमा केही रकम सहयोग गरेको छ। पहिले सामुहिक शौचालयमा जाने उनीहरुका हरेक घरमा शौचालयको व्यवस्था समेत भएको जनाइएको छ।

पहिले पानी जम्ने उनीहरुको बस्तीमा ग्राभेल हालेर सडक व्यवस्थापनको काम समेत भएकाले अब भने सहज हुने अर्का बलिराम मुसहर बताउँछन्। मासिक रु ५ हजारका दरे उनीहरुले ४ बर्षमा पैसा तिर्दा किस्ता सकिने छ।

अर्को बस्तीको पीडा भने उस्तै

नजिकै रहेको रत्ननगर वडा नम्बर ७ मालपुरको अर्को मुसहर बस्तीको पीडा भने उस्तै छ। एउटै कोठामा सबै परिवार बस्न बाध्य छन्।

छोरा बुहारी, सासू ससुरा, छोरी सबैका लागि एउटै कोठा छ। एउटै कोठामा सबै परिवारको जिन्दगी कति सकस होला अनुमान गर्नै गाह्रो छ। दशकौदेखि यसैगरी दिन बिताउँदै छन् उनीहरु।

‘समस्या छ यो टोलमा छोरा बुहारी, सासु ससुरा सबै एउटै कोठामा बस्नुपर्छ वडा सदस्य उम्‍मेदवार भगन्तियाले भनिन्, कम्तीमा २/ ३ कोठा भइदिए हुन्थ्यो।’ टोलमा जस्ता फुट्या छ। शौचालय राम्रो छैन। यो सबै बस्ती व्यवस्थापनमै आफ्नो ध्यान जाने उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.